१) मुक्तक
कर्म गर्नेलाई थाहा हुन्छ परिश्रमको फल के हो,
पीडितलाई हेरेर मनन गर आँसुको भल के हो।
सम्पत्तिमा डुक्रनेलाई के थाहा सम्बन्धको शक्ति,
संयुक्त परिवारलाई सोध समृद्धिको बल के हो।
२) मुक्तक
समयको लगाम समातेर अघि बढ्नुपर्छ मान्छे,
ज्ञान र चेतनाको खोजीमा सधैँ गढ्नुपर्छ मान्छे।
हिजोआज मान्छे आफ्नै स्वार्थमा निर्लिप्त हुँदैछ,
पशुत्व प्रवृत्ति त्यागेर अब शिखर चढ्नुपर्छ मान्छे।
३) मुक्तक
प्रकृतिको शालीन रूपले आशाको मुना पलाउँछ,
रौद्र रूप धारणा गरे प्रकृतिले मान्छेलाई जलाउँछ।
आफ्नै गतिमा चल्न दिनुपर्छ प्रकृतिलाई मान्छेले,
मुढे बलले जित्न नखोज मान्छे हो उसैले गलाउँछ।
४) मुक्तक
अर्काको परिश्रम खोसेर कर्मठ बन्न नखोज,
आफू निष्क्रिय भएर पहाडै फोडेँ भन्न नखोज।
विध्वंस मात्रै भएको छ चारैतिर छैन प्रगति,
उन्नति गर्नेलाई रोक्न खाडल खन्न नखोज।
५) मुक्तक
ज्यादै दया लागेर आउँछ बाध्यताले देश छोड्नेदेखि,
कन्सिरी तातेर आउँछ आदर्शको खोल ओड्नेदेखि।
फोहोरी चिप्लेकिराको जमात छ चारैतिर देशमा,
जोगाउन सकिएन देश चिप्ल्याएर कुरा मोड्नेदेखि।
६) मुक्तक
ललाटमा भाग्य खोज्ने होइन हत्केलामा खोज्ने गर,
श्रम पोख्ने असल साथी गाउँको मेलामा खोज्ने गर।
भाग्यलाई सरापेर पुर्पुरामा हात लगाउनुभन्दा बरु,
पौरखको उचित मूल्य सही बेलामा खोज्ने गर।
७) मुक्तक
दुस्ख सुखको पर्याय हो जीवन खुसी फुलाउनुपर्छ,
कर्मअनुसारको फल मिल्छ भनी मन भुलाउनुपर्छ।
अन्याय, अत्याचारले सधैँ पिरोलिरहन्छ जीवनभरि,
सुकर्मले भाग्य हराभरा बनाइ लहलह झुलाउनुपर्छ।
८) मुक्तक
दूरदराजको शिक्षाप्रति कसैको छैन हृदय उदार,
विकटको शिक्षा सुधारमा केही बोल्दैन सरकार।
भत्किएको विद्यालयमा केको गुणस्तरीय शिक्षा,
विश्व प्रतिस्पर्धामा विद्यार्थीको आउँदैन सही विचार।
९) मुक्तक
भीर,पखेरा छ भन्न पाउँदैनन् दुस्खी काम गर्नुपर्छ,
मीठोमसिनो खान टन्न पाउँदैनन् काम गर्नुपर्छ।
सुख, सन्तोष भोगिरहेकालाई के थाहा कष्ट के हो,
जोखिम मोल्नेले पैसा गन्न पाउँदैनन् काम गर्नुपर्छ।
१०) मुक्तक
हृदयभित्रै ज्ञान भण्डार गर्ने उत्तम सोच गरे राम्रो,
पुरानै लुगा लगाएर नयाँ पुस्तक किन्न सरे राम्रो।
पुस्तकको महल ठड्याएर ज्ञानी बन्दैन कोही,
अध्ययन गरी ज्ञानकुञ्ज बनाउन लागि परे राम्रो।
प्रकाशित: २८ माघ २०८१ १२:५९ सोमबार