स्कूलबाट फर्किदै गरेको आठ वर्षको छोरो मन्दिपले काँधको झोला बिसाउँदै बाउलाई सोध्यो, “बाबा !! बाबा !! मलाई अचेल सबैले ओई झोलेको छोरा! भन्छन् किन ! बाबा !!”
नानीको जिज्ञासा शान्त पार्न, मानबहादुरले सम्झायो, “म दिनरात आफ्नो कामधन्दा मेलापात छोडेर पार्टीको झोला बोकेर हिंड्छु, त्यसैले मलाई झोले नाम दिएका होलान् नानी!”
“बाबा!! अब यस्तो झोला नबोक्ता हुँदैन।”
“म झोले भएको छु, तिमीहरूकै मुखमा तातो खोले जुटाउन झाेले भएको छु।”
बाबुछोराको संवाद सुनिरहेकी आमा मन्दिराले फलाम तातेकै बेला घन बजार्न उचित ठानिन्।
उनले चर्को स्वरमा गर्जना गरिन्, “ देख्नुभो। तपाईको झोलाले नानीको पनि शिर निहुरिने बनाइसक्यो। मैले उहिलेदेखि भनेकी होइन, सानो पसल थापूँ, च्याउ खेती गरौँ, बाँझो बारीमा सब्जी लगाऔँ। एउटा जर्सी गाई पालेर दूध बेचौँ। रातदिन पार्टी पार्टी भनेर नकुद्नुस् न। यसले हामी श्रमजीवीलाई केही दिँदैन। फलिफाप हुन्छ त ठूला नेतालाई नै हुन्छ! भनेको लागे पो। अहिले त थाहा पाउनुभो नि।”
भोलिपल्ट बिहान आमाछोरा ओछ्यानबाट बिउँझिंदा बाउ कोठामा थिएन। सधैं अबेलासम्म सुत्ने मानिस, घरमा चालचुल थिएन। तल बाँझोबारीको पाटाबाट कोदाली चलेको आवाज एकनासले आइरहेको थियो। मन्दिप र मन्दिराले झ्यालबाट चियाएर हेरे - मानबहादुरले एकहलको मेलो बारी खनिसकेको थियो। पत्नी चकित बनिन्।
बारीबाटै कोदालो आकाशतिर ठड्याएर मानबहादुर गर्जियाे, “ मन्दिरा! म ब्यूँझे! मैले झोला खोलामा सेलाइसकेँ। आऊ अब तिमी पनि डल्ला फोर्न। अब मलाई हलो जोत्ने हले भन्नू। कोदालो खन्ने कोदाले भन्नू। मलाई झोले नभन्नू!! म त अब माटोमा पौरखका पसिनाहरू उमार्न जुटिसकेँ।” आमा–छोरा कुद्दै बारीमा पुगे र मानबहादुरलाई करप्प अँगालोमा कसे।
प्रकाशित: ७ चैत्र २०८२ ११:१७ शनिबार





