१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जिन्दावाद

लघुकथा

१) जिन्दावाद' 

"हाम्रो वस्तीमा ज्यानमारा छिर्‍याे है! अब हामी एकजुट भएनौ भने सकिन्छौं !" सबैले सुन्ने गरी परेवाले भन्यो।

उसका कुरामा कसैले चासो दिएन। भोलिपल्ट जुरेलीले सबैका सामु भन्यो, "हिजो परेवा दाइले भनेको कुरा साँच्चै पो रहेछ। हाम्रो दुस्मनले यहाँ डेरा जमाइसकेको रहेछ, अब के गर्ने?" उसको कुरा पनि सुन्ने कोही भएनन्। सबै आआफ्नै तालमा लागे।

सुन्दर बगैँचाको कपुरको अग्लो रूखमा बाजले अतिक्रमण गरिसकेको थियो।

पोथी बाज ओथारो बसिसकेकी थिई। केही दिनपछि चल्ला पनि कोरली। उ बच्चा रूँगेर बस्थी भाले बाज परिवारको भोक मेटाउन बगैँचाका अबोध पन्छीहरूको शिकार गरेर गुँडमा पुर्‍याउँथ्यो। कहिले परेवा, कहिले भँगेरा कहिले, काग त कहिले जुरेली छाकैपिच्छे फरक स्वादमा उनीहरूका आहारा बन्थे। बिस्तारै बगैँचा सुनसान बन्यो।

हिजोसम्म रङ्गीचङ्गी फूलहरूले सिङ्गारिएको बगैँचामा चराचुरूङ्गीको चिरबिर आवाजले मिठो सङ्गीत छर्थ्यो।बगैँचामा सानो लोखर्केको फार्फार-फुर्फुर हेरिरहूँ जस्तो लाग्थ्यो। आज उनीहरूको अस्तित्व समाप्त हुन लागेको थियो। स्वतन्त्रता गुमेको थियो।

पीडित सबैले बैठक गरे। "हामीले समयमै बुद्धि नपुर्‍याउँदा सन्तान गुमायौँ। अब सबै मिलेर वैरीविरूद्ध जाइलाग्नुपर्छ। तपाईहरू सबैले हामीलाई साथ दिनुहोस्!"  कागले सुझायो। सहमति जुट्यो।

भोलिपल्ट सबै एकजुटभए। एकैपटक शक्ति प्रदर्शन गरे। कसैले शत्रुको गुँड भत्काए। कसैले समूहमा दुस्मनलाई लखेटे। दुस्मनको प्रतिकार कमजोर भयो। उनीहरूको केही सिप लागेन र जङ्गलतिरै भागे।

बगैँचामा खुशियाली फर्कियो। संयुक्त आवाज घन्कियो, "हाम्रो एकता जिन्दावाद।"

२) धर्म

रगतको खोलो बगेको थियो। लास यत्रतत्र लडेका थिए। कोही टाउको छुट्टिएका शरीरका गिँड सकिनसकी घिच्याउँदै थिए। कोही हातमा छिनालिएको टाउको लिएर यताउति गर्दै थिए।

पैतालले टेकेको ठाउँमा रगतका डाम बसेका थिए। मानिसको भिड पन्छाई नसक्नुको थियो। धेरै मानिस लाइनबद्ध थिए भने कोही यताउति चोरबाटो खोज्दै थिए।

"आज शनिवारको दिन भएर होला कस्तो भिड रहेछ। हाम्रो पालो कहिले आउने होला, कि बाहिर बाहिर घुरेर फर्कौं कि कसो?" विनोदले अत्यासिंदै आफ्नो श्रीमतीसँग भने।

श्रीमतीले जवाफ दिइन्, "अब आइसकेपछि हतारिएर हुन्छ त, लाइन विस्तारै सर्दैछ पालो त कुर्नै पर्‍याे नि। मन्दिर आउँदैमा त्यत्तिकै हुन्छ धर्म?"

यति नै बेला मन्दिरमा बोका सेरिएको दृष्य देखियो, चीत्कार सुनियो।

सायद यस्तो काटमारको भयावह दृष्य पहिलो पटक देखेको भएर होला एकजना विदेशी पर्यटकले विनोदलाई नेपाली लवजमै जिज्ञासा राखे, "ओ माई गाड! खै गरेको एस्ठो? खिन ठेसरी गोटलाई काटेको होला?

"मन्दिरमा यसरी वली दिएपछि राम्रो हुन्छ, धर्म गरेको धर्म!" विनोदले उसलाई बुझाउन खोज्यो।

पर्यटक अचम्मा पयो, "ओ माई गाड! नेपालीले ढर्म गर्डा त यस्ठो, पाप गार्‍याे भने कास्ठो होला?"

३) भुसप्रसाद'

"स्रष्टा महोदय तपाईहरूले कुनै सम्बोधन नगरी सिधै आफ्नो रचना वाचन गर्नुहोला। हामी यसो भन्न विवश छौँ। यहाँ आफ्नो रचना सुनाउन झण्डै एक सय स्रष्टाको नाम आइसकेको छ !" उद्घोषक पटकपटक घोक्रो सुक्ने गरी चिच्याउँदै थिए।

साहित्यिक सम्मेलनमा सहभागीहरू आफ्नो रचना सुनाउन पाइने हो कि नपाइने हो भन्ने चिन्तामा थिए।

विडम्बना, स्रष्टा आफ्नो पालो आएपछि मन्चमा पुग्नेबित्तिकै यो कुरा भुलिहाल्थे र पट्यारलाग्दो लामो सम्बोधनपछि रचना वाचन गर्थे।

फेरि उद्घोषक चिच्याउँथे, "आदरणीय साहित्यकार महोदय सम्बोधन बिना नै आफ्नो रचना सुनाउनु होला। अन्यथा हामीले समय अभावका कारण अन्य स्रष्टाको नाम कटाउनुपर्ने हुन्छ, कृपया हाम्रो बाध्यतालाई बुझिदिनुहोला!"

मेरो छेवैमा बसेका स्रष्टाको पालो आयो। उनी मन्चमा पुगेर सम्बोधनमा नै झण्डै पाँच/सात मिनेट समय खर्चिए पछि आफ्नो रचना वाचन गर्न थाले।

अघि उनी मसँग भन्दै थिए, उद्घोषकको अनुरोध नटेर्ने कस्ता वाहियात स्रष्टा होलान्!

४) ट्राफिक

"तेरो ड्याडी बिजनेस म्यान भनेर खुब धक्कु लाउँथिस् त, हैन पो रहेछ।"  कक्षा दशमा सँगै पढ्ने हरिसले रियानलाई होच्यायो। उनीहरू स्कुल बस कुरेर बसेका थिए।

रियानले जवाफ फर्कायो, "तँ बौलाइस् कि के हो? हाम्रो न्युरोडमा आफ्नै पसल छ। कसले भन्यो तँलाई यस्तो कुरा?"  

हरिसले निर्धक्क भन्यो, "कसले भन्नु नि मेरो आफ्नै अँखाले देखेको! हिजो शनिवार म मम्मीसँग बजार गएको बेलामा देखेको। तेरो ड्याडी ट्राफिक हो कि होइन? ल नढाँटी भन् त!"

यसैबिच सँगै हिंडेकी परिनाले हरिसलाई भनिन्, "रियानको चाहिँ होइन बरू तिम्रो बाबाचाहिँ ट्राफिक प्रहरीको जागीर गर्नुहुँदो रहेछ। म पनि हिजो बाबासँग घुम्न निस्केको थिएँ तिम्रो बाबा ट्राफिक प्रहरीको पहेँलो ज्याकेट लगाएर गाडीलाई यताबाट उता जान निर्देशन दिँदै हुनुहुन्थ्यो, म स्वयंले देखेको!"

हरिसले प्रतिकार गर्यो, "हावा कुरा मेरो बाबा डाक्टर हो भनेर मैले अस्ति नै सबैलाई भनेको होइन बिर्स्यौ कि क्या हो ?"

रियानले यथार्थ पहिल्यायो, "एss ल मैले बल्ल कुरो बुझेँ हो उस्को बाबा र मेरो ङ्याडीले हिजो एकदिनका लागि ट्राफिकको जागीर खानुभएको रहेछ!"

हरिस र परिना दुवैले आश्चर्य मान्दै सोधे, "कसरी?"

रियानले जवाफ फर्कायो, "पक्कै उहाँहरू मापसे कारबाहीमा पर्नुभएछ!"

५) सोच

गौलोचनले एउटा चिटिक्क परेको आश्रम बनाए। उनले आफ्नै विद्वान बाआमाको नाममा आफ्नै जमिन र लगानीमा आश्रम तयार पारेका थिए।

आज आश्रमको उद्घाटनको दिन हो। कार्यक्रम सकिनेबित्तिकै केही जोगी, साधुसन्त र वृद्धवृद्धाहरू आश्रममा प्रवेश गरे।

गौलोचनले सोधे, "तपाईहरू यहाँ किन के कामका लागि आउनुभयो?"  

उनीहरूमध्ये एक वृद्धले भने, "यहाँ आश्रम खोलेको थाहा पाएर यहाँ  बस्न पाइन्छ कि भनेर आएको!"

लगत्तै अर्का एक साधुले पनि आफ्ना कुरा राखे, "साधुका लागि आश्रम बनेको होला भनेर हामी पनि यहीं बस्न आएका!"

गौलोचनले दुई हात जोड्दै उनीहरूलाई सम्झाए, "माफ गर्नुहोस्। यो त्यस्तो आश्रम हो जहाँ साहित्यको अध्ययनअनुसन्धान गर्ने, विचार विमर्श  गर्ने थलो हो!"

प्रकाशित: १८ चैत्र २०८२ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App