२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

पाेखराका ‘छन्दमणि’ लाई युवा वर्ष मोती पुरस्कार

राष्ट्रिय युवा सेवा काेषले यस वर्षको युवा वर्ष मोती पुरस्कार पोखराका साहित्यकार शंकरमणि त्रिपाठी (छन्दमणि) लाई दिने निर्णय गरेकाे छ।

प्राडा माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्यांकन समितिले छन्दमणिलाई २०८२ सालको युवा वर्ष मोती पुरस्कारका लागि सिफारिस गरेको राष्ट्रिय युवा सेवा कोषका सदस्यसचिव डा. विष्णुबहादुर भण्डारीले जानकारी दिए।

पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा - २५ हेमजामा जन्मेका छन्दमणि हेमजा साहित्य प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष हुन्। उनी विभिन्न संघसंस्थामा आबद्ध छन्। उनी ज्ञानसागर एकेडेमीका प्राचार्य पनि हुन्।

अनुशासन (२०५३, आदर्श समाज) कविताबाट लेखनयात्रामा लागेका उनका नयाँ नेपाल (महाकाव्य), छन्द बहरका शब्दलहर (शास्त्रीय गजलसंग्रह), तरङ्गका अभिव्यक्ति (कवितासंग्रह) र देशको अनुसूची (कवितासंग्रह) प्रकाशित छन्। जीवनकाे यथार्थता, समकालीन चेतना र सामाजिक दायित्वबाेध उनकाे सिर्जनागत विशेषता हुन्।

शान्तिदूत त्रैमासिक पत्रिका (शान्तिदूत स्कूल, पोखरा), हिमशिखर अंक २२-२६ (हेमजा साहित्य प्रतिष्ठान नेपाल, पोखरा), माधव व्यथित अभिनन्दन ग्रन्थ (माधव व्यथित वाङ्मय प्रतिष्ठान नेपाल), छन्द सरोवर (माधव व्यथित वाङ्मय प्रतिष्ठान नेपाल) लगायत विभिन्न अभिनन्दन ग्रन्थ, स्मारिका र विशेषाङ्ककाे समेत उनले सम्पादन गरेका छन्।

राष्ट्रिय युवा सेवा काेष २०४२ मा स्थापना भएकाे हाे। यसले बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ।

प्रकाशित: ४ भाद्र २०८२ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App