१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यास बजारमा

उपन्यासकार गणेश पुमा चिन्तनकाे योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ। उपन्यासकार चिन्तनकाे उक्त उपन्यास पुमा-नेपाली भाषाको पहिलो उपन्यास हाे।

उपन्यासमा पुमा राईहरूले वर्षभरि मान्‍ने संस्कार र संस्कृतिहरूबारे व्याख्या गरिएको छ। भूमिपूजा, अन्नपूजा, उँधौलीउँभौली सेवा, सुम्निमा पूजा, ठूलोसानो पितृपूजा, खोलानाला, चराचुरुङ्‌गी, मुन्दुमी शब्द उच्चारण लगायतका संस्कारहरूका विषय उपन्यासमा उठान भएका छन्।

त्यसैगरी पुमा राईहरूले जन्मिनुपूर्वदेखि मृत्युपछिसम्म गर्ने रीतिरिवाजबारे पनि उल्लेख गरिएको छ। बच्चा आमाको पेटमा रहँदादेखि जन्मिँदासम्म र जन्मेपछिको केही महिनामा गरिने संस्कारदेखि लिएर छेवर, विवाह, मृत्यु र मृत्युपछि केके विधिविधान गरिन्छ भन्ने तथ्य उपन्यासमा समेटिएका छन्।

उपन्यास योङ्‌युप्‌चिदो (पाइलाहरूमा) को प्रथम संस्करण २०६८ मा प्रकाशित भएको थियो। पुस्तकको मूल्य ३५५ रूपैयाँ तोकिएको छ।

खोटाङका जन्तेढुङ्गा गाउँपालिका –६, का उपन्यासकार चिन्तन निजामती सेवामा संलग्न छन्। उनी उपन्यास, कविता, गीत, गजल, कथा, निबन्ध जस्ता साहित्यका विविध विधामा कलम चलाउँछन्। योङ्युप्चिदो (पाइलाहरूमा) (उपन्यास),  बाङ्मासिवा (बोलचाल), आधारभूत पुमा शब्दकोश उनका प्रकाशित कृति हुन्।

त्यस्तै पुमा शब्दकोश तथा व्याकरण, आधारभूत पुमा व्याकरण, पुमा भाषाको पाठ्यक्रम (कक्षा १ देखि ५) र पुमा भाषाको पाठ्यपुस्तक (कक्षा १ देखि ४) उनका सहलेखन तथा सम्पादन प्रकाशित कृति हुन्।

प्रकाशित: १३ चैत्र २०८२ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App