२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

साहित्यकार भौकाजीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८२’

लघुकथा समाज नेपालले साहित्यकार विमल भौकाजीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८२’ अर्पिने निर्णय गरेकाे छ।

लेखन, सम्पादन र समालाेचना (समीक्षा) मा सक्रिय साहित्यकार भौकाजीलाई लघुकथाकाे विधागत उन्नयनमा पुर्‍याएकाे याेगदानबापत उक्त सम्मान अर्पिने भएकाे हाे।

लघुकथा समाज नेपालकाे हालै बसेको बैठकले उक्त सम्मानको घोषणा गरेको हो। लघुकथा समाजले उक्त सम्मान आउँदो भदौ ५ गते लघुकथा दिवसमा अर्पिने भएको छ।

रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मिएका साहित्यकार भौकाजीका प्रकाशित  कृतिहरूमा तीन आँखाका मान्छे (छोटा कविता, संयुक्त सङ्ग्रह, २०४५), जिन्दावाद मुर्दावाद (संयुक्त कवितासङ्ग्रह, २०४७), यात्रापछि यात्रा (संयुक्त लघुकथासङ्ग्रह, २०४९), असिना भूत (बालकथासङ्ग्रह,२०६२, २०६४, साझा प्रकाशन), जसको जोत उसको पोत (व्यङ्ग्यसङ्ग्रह, २०६४, २०६६, २०६९, रत्न पुस्तक भण्डार), श्रीपेच नलगाएका राजा (व्यङ्ग्यसङ्ग्रह, २०६८, साझा प्रकाशन), द्रौपदी देश (व्यङ्ग्यसङ्ग्रह, २०७५, साङ्ग्रिला बुक्स) र आऊ हल्ला गरौँ (व्यङ्ग्यसङ्ग्रह, २०७५, डिकुरा पब्लिकेसन) रहेका छन्।

साहित्यकार भौकाजीले ऐतिहासिक ‘शारदा’ मासिकलाई १३६ अंकदेखि निरन्तर सम्पादन गर्दै छन्। १५० भन्दा धेरै कृतिको सम्पादन गरेका उनले ‘शारदा’ काे तिन अंक (२०७१ कत्तिक, २०७५ असोज र २०७५ फागुन) लाई लघुकथा विशेषांक रूपमा सम्पादन/ प्रकाशन गरेका छन्।

त्यस्तै उनले ‘छचल्का’ सामुहिक लघुकथासंग्रह सम्पादन गरेका छन्। उनकै सम्पादनमा ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह प्रकाशनकाे तयारीमा रहेकाे छ।

राष्ट्रिय कविता महोत्सव २०५२ मा स्वर्णपदक पाएका भौकाजी युवावर्ष मोती पुरस्कार, भैरव अर्याल पुरस्कार, नातिकाजी योगदान पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत छन्।

यसअघि उक्त सम्मान सर्वनाम (२०७८), अनिता तुलाधर (२०७९), लता केसी (२०८०) र  आर. आर. चौलागाई (२०८१) लाई अर्पिएकाे थियाे।

पूर्णप्रसाद ब्राम्हण पहिलो लघुकथाकार हुन्। नेपाली लघुकथाकाे क्षेत्रमा विसं २००७ सालमा प्रकाशित ब्राम्हणको लघुकथासंग्रह ‘झिल्का’ लाई पहिलो लघुकथासंग्रह मानिएको छ।

लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अक्षय कोष राखेपछि सुरू भएको पूर्णप्रसाद ब्राम्हण लघुकथा सम्मानका लागि ब्राम्हणको सन्तानले पनि थप सहयाेग गरेका छन्। उक्त सम्मान बर्सेनि भदौ ५ गते प्रदान गरिँदै आएको लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाले बताए।

लघुकथा समाज नेपालकाे स्थापना २०६५ सालमा हो। लघुकथा समाज, नेपालको नयाँ कार्यसमितिमा अध्यक्ष तुलसीहरि कोइराला, उपाध्यक्ष शुष्मा चित्रकार, महासचिव सुमन सौरभ, सचिव श्रीबाबु कार्की र कोषाध्यक्षमा छविरमण सिलवाल र सदस्यहरूमा राजेश खनाल, सिन्धु गौतम, तारा केसी र मधु पाठक छन्।

प्रकाशित: २१ श्रावण २०८२ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App