८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

पुरुषबाटै अकालमा नारीहरू मर्छन् किन?

मुक्तक

१) मुक्तक

नरको आश गरीगरी नारीले घर भर्छन् किन

नारीबाटै जन्मिनेले नारी हेला गर्छन् किन

माता देवी शक्तिरूपा असल नाम पाए पनि

पुरुषबाटै अकालमा नारीहरू मर्छन् किन?

२) मुक्तक

नाता पर्छु भन्दा पनि घृणा गर्छन् किन अचेल

माया गर्छु भन्दा पनि पर सर्छन् किन अचेल

हिंड्दाखेरि सडकको दायाँबायाँ परे पनि

छक्क पर्छु टाढैबाट आँखा तर्छन् किन अचेल?

३) मुक्तक

कोट सर्ट पेन्ट टाइ लाएर पार्दै छाती व्यवस्थित

फेसनबाट मिलिन् प्यारी पुरुष नारी दुवैसित

भिन्नता लिङ्गमा छैन भन्न खै सकियो यहाँ

सारी चोलो लगाएर पुरुष हुन्न र निन्दित।

४) मुक्तक

जो हेर्छु त्यै राम्री देख्छु कुनकुन होला लाने

धेरै लाने इच्छा तर के हो लाउनेखाने

पाको मनले सोच्छु तर यौटी मिल्न चर्को

बेउलो बन्नै नपाएर भयो जीवन जाने।

५) मुक्तक

बालिका हुँ जान्दाजान्दै तानिदिन्छौ मेरो छाला

बाटातिर भेट्दा पनि थपथपाउँछौ मेरा गाला

माया हो कि कामुकता छुट्याउन सक्दिनँ म

हे मान्यवर, हिजोआज किन यस्तो तिम्रो चाला!

प्रकाशित: ७ चैत्र २०८२ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App