एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ।
प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो। सार्वजनिक फस्टलुकमा चलचित्रका मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ।
सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल, रामकाजी घिमिरे, रविन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढा, रामजी लम्साल र प्रज्ञान खड्का लगायत कलाकारहरूको अभिनय छ।
चलचित्रमा बालकलाकारहरू आराध्या राज्यलक्ष्मी बीसी, विनायक सुनुवार र सुरित पूढासैनीको अभिनय छ। म्यूजिक भिडियोमा निरन्तर काम गर्दै आएका कलाकार सेडो रियल यो चलचित्रबाट डेब्यू गर्दैछन्।
चलचित्रको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने रामकाजी घिमिरेले चलचित्रको पटकथा र संवाद तयार पारेका छन्।
यो चलचित्रमा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्लेको छ भने चलचित्रका सम्पादक टेकेन्द्र शाह हुन्।
चलचित्रको पोस्टर राकेश दाहालले तयार पारेका हुन्। चलचित्रका निर्माण नियन्त्रक अर्जुनप्रसाद पोखरेल हुन् भने चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन छ।
यो चलचित्रले दाजुभाइको मित्रता, एक अर्काप्रतिको जिम्मेवारी, त्याग र विवाहपछि श्रीमान र श्रीमतीबीच विकसित हुने प्रेम बताउनेछ। पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको यो चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ।
प्रकाशित: ५ मंसिर २०८२ ०९:३२ शुक्रबार





