१) मुक्तक
युद्ध हुँदा हातमा दही जमाएर हुन्न
खोला तर्दा तिघ्रा शरीर कमाएर हुन्न
केही हुन सङ्घर्ष त गर्नैपर्छ सबले
सधैं डरले आमाको हात समाएर हुन्न।
२) मुक्तक
पेटको पूजा छोडीछोडी मूर्ति पूजा गरिँदैन
भजनकिर्तन ध्यानले मात्रै रित्तो पेट भरिँदैन
कर्म हुन्छ अनिवार्य धर्म ऐच्छिक मात्रै हुन्छ
गाईको पुच्छर समात्दैमा बैतरणी तरिँदैन।
३) मुक्तक
नयाँ वर्ष के गर्दै छौं हेर्न आएको होइन होला
जसले जेजे गर्न लायो टेर्न आएको होइन होला
सुख शान्ति समृद्धिको अपेक्षामा आयो सायद
नयाँ वर्ष पात्रो मात्रै फेर्न आएको होइन होला।
४) मुक्तक
चाडपर्व र उत्सवतिर नछुटाई डाकेँ मैले
घरमा आए सकेसम्म इज्जत सम्मान राखेँ मैले
दाजुभाइ इष्टमित्र दोषै दिन्छन् सधैं किन
खुशी पार्न नसकेर नराम्ररी थाकेँ ऐले।
५) मुक्तक
झिसमिसेमा मलाई छोडी एक्लै कता हिन्थ्यौ आमा
आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा
स्वार्थ केही थियो कि वा तिम्रो सेवा निस्वार्थ हो
सबैसामु छोप्ने बुबु मलाई खुला दिन्थ्यौ आमा।
प्रकाशित: ५ वैशाख २०८३ ०८:०६ शनिबार





