मलेसियाकी २९ वर्षीया अभिनेत्री तथा पूर्वसुन्दरी एमी नुर टिनीले एउटा भीभीआईपीबाट आएको तेस्रो पत्नी बन्ने लोभलाग्दो प्रस्ताव अस्वीकार गरेको खुलासा गरेकी छन्।
एक पोडकास्टमा उनले प्रस्तावमा बंगला, कार, १० एकड जग्गा र मासिक ५० हजार रिंगिट (झण्डै १८ लाख नेपाली रुपैयाँ) भत्ता दिने वाचा समावेश रहेको दाबी गरेकी हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार यो प्रस्ताव राख्ने व्यक्ति उमेरमा उनीभन्दा निकै जेठा (लगभग बुबाको उमेरका) थिए।
यो घटना सन् २०१९ तिरको हो, जब उनी २३ वर्षकी थिइन्। उनी सो समयमा सौन्दर्य प्रतियोगितामा सक्रिय थिइन्। ती व्यक्तिले विदेशी प्रतियोगिताका लागि प्रायोजन दिने बहानामा तेस्रो पत्नी बन्न प्रस्ताव राखेका थिए।
एमी र उनकी आमाले यो प्रस्ताव तुरुन्त अस्वीकार गरे। ‘मेरी आमाको प्रतिक्रिया दृढ थियो: उहाँ मलाई बेच्न लाग्नुभएको थिएन,’ एमीले भनिन्।
पोडकास्टमा उनले पार्टनरमा धेरै सम्पत्ति नभई जिम्मेवारी र आर्थिक स्थिरता खोज्ने बताइन्। धनी हुनु बोनस मात्र हो, तर शारीरिक आकर्षण महत्त्वपूर्ण हुनुपर्ने तर्क उनको छ।
‘यदि उनी आइरन म्यान जस्तो देखिन्छन् भने, म ठीक छु, तर यदि उनी हजुरबुबा जस्तो देखिन्छन् भने, म ठीक छैन,’ उनले भनिन्।
प्रस्ताव स्वीकार गरेको भए सजिलो र विलासी जीवन हुन्थ्याे नि भन्ने जिज्ञासामा उनले भनिन्, ‘होइन, धन्यवाद, म आफैं काम गर्नेछु। म अहिलेको लागि अविवाहित रहन रोज्छु। म हलाल पैसाले मेरा आमाबाबुको सेवा गर्न चाहन्छु। म सही माध्यमबाट पैसा कमाउन चाहन्छु।’
प्रकाशित: २० पुस २०८२ १२:२० आइतबार





