बलिउड अभिनेता सलमान खानले निर्देशक वामशी पेडिपल्लीको आगामी फिल्मका लागि आफ्नो पारिश्रमिक घटाएको बताइएको छ।
रिपोर्टअनुसार सलमानले सामान्यतया एउटा फिल्मका लागि १२० करोड भारु वा सोभन्दा बढी पारिश्रमिक लिने गर्छन्। तर यसपटक उनले ७० करोड भारुमा काम गर्न सहमति जनाएको दाबी गरिएको छ, जुन उनको सामान्य पारिश्रमिकको करिब ६० प्रतिशत मात्र हो।
रिपोर्टका अनुसार सलमानका पुराना साथी रफी काजी यस परियोजनामा मध्यस्थकर्ताको भूमिकामा छन् र उनी फिल्मका निर्माता समूहमा पनि रहनेछन्। यही मित्रताको कारण सलमानले आफ्नो अग्रिम पारिश्रमिक घटाउन स्वीकार गरेको बताइएको छ।
यद्यपि, सलमानले फिल्मको नाफाबाट हिस्सा पाउने वा नपाउने विषयमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। पछिल्ला वर्षहरूमा उनले आफ्ना धेरै फिल्महरूमा नाफा बाँडफाँटको सम्झौता गर्दै आएको चर्चा सुनिदै आएको छ।
हाल सलमान SVC63 को छायांकनमा व्यस्त छन्। श्री वेंकटेश्वर क्रिएशन्सको ब्यानरमा दिल राजुले निर्माण गरिरहेको यो एक्सन फिल्ममा नयनतारा पहिलोपटक सलमानसँग मुख्य भूमिकामा देखिनेछिन्। फिल्म ईद २०२७ मा प्रदर्शन हुने तयारीमा छ।
रिपोर्टअनुसार सलमान खानले धेरै पटक आफ्ना साथीहरूको फिल्ममा क्यामियो वा विशेष भूमिका कुनै पारिश्रमिक नलिई निभाएका छन्। यसमा अजय देवगन र रितेश देशमुखको फिल्म राजा शिवाजी पनि समावेश छ।
प्रकाशित: १६ श्रावण २०८३ १८:१४ शनिबार





