नेपाली चलचित्र उद्योगमा पछिल्लो समय चिन्ताजनक प्रवृत्ति देखा परेको छ। एकातिर नेपाल भित्रिने कैयौं विदेशी चलचित्रहरूले बक्स अफिसबाट करोडौंको व्यापार गरिरहेका छन् भने अर्कोतर्फ नेपाली मौलिक भनिएका चलचित्रहरू प्रदर्शनको केही दिन पनि नबित्दै सिनेमाघरबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ।
विशेषगरी ठूलो लगानी र नाम चलेका कलाकारहरूको अभिनय रहेका चलचित्रहरू समेत दर्शक तान्न असफल भएपछि निर्माण टोलीले बाह्य कारण देखाउँदै प्रदर्शन स्थगित गर्ने क्रम बढ्दो छ।
निर्माण पक्षले यस असफलतालाई चुनावी माहोलले गर्दा चलचित्र हेर्ने वातावरण नभएको र प्रचार–प्रसारको कमीजस्ता कारणहरूको आवरणमा लुकाउन खोजे पनि, यसको भित्री कारण भने नितान्त फरक देखिन्छ।
विश्लेषकहरूका अनुसार ठूलो लगानी र स्टार कलाकार हुँदाहुँदै पनि दर्शकलाई हलसम्म तान्न नसक्नुमा कथावस्तुमा नयाँपनको अभाव र कमजोर प्रस्तुति नै मुख्य जिम्मेवार रहेका छन्।
यही निराशाजनक शृङ्खलाको पछिल्लो उदाहरणका रूपमा माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘द ब्ल्यू लाइट’ लाई लिन सकिन्छ।
‘साइकोलोजिकल थ्रिलर’ जनरामा निर्माण भएको भनिएको यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका स्थापित र चर्चित अनुहारहरूको ठूलो जमात थियो।
चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीजस्ता कलाकारहरूको मुख्य भूमिका थियो।
यति विघ्न स्टार कलाकारहरूको उपस्थिति हुँदाहुँदै पनि चलचित्रले दर्शकको मन जित्न सकेन। बक्स अफिसको तथ्याङ्क हेर्दा यो चलचित्रले प्रदर्शनको चार दिनमा देशभरबाट जम्मा तीन लाख १९ हजार पाँच सय रुपैयाँको मात्र व्यापार गर्न सक्यो।
दर्शकको न्यून उपस्थिति र व्यावसायिक असफलताका कारण निर्माण टोलीले प्रदर्शनको एक साता पनि नबित्दै, अर्थात् माघ १९ गतेदेखि नै चलचित्रलाई देशभरका सिनेमा घरबाट उतार्ने निर्णय गर्नुपर्यो।
यसले पनि थप पुष्टि के गर्छ भने केवल कलाकारको अनुहारले मात्र अब दर्शकलाई हलसम्म डोर्याउन सम्भव छैन।
आज बुधबार मात्रै पनि एकैदिन थप तीनवटा नेपाली चलचित्रहरूले सिनेमाघरबाट आफ्नो प्रदर्शन स्थगित गरेका छन्। फागुन १ गतेदेखि प्रदर्शनमा आएको रमेश कोइराला निर्देशित चलचित्र ‘बिगुल’ ले पनि प्रदर्शन रोकेको छ।
विडम्बनापूर्ण कुरा त के छ भने यस चलचित्रको प्रचारप्रसारको मुख्य नारा नै ‘निर्वाचन भन्दा अगाडि हेर्नै पर्ने’ भन्ने थियो। तर, अन्त्यमा निर्माण पक्षले त्यही निर्वाचनको कारण देखाउँदै दर्शक हलसम्म नआएको निष्कर्षसहित प्रदर्शन स्थगित गरेको छ।
निर्वाचनलाई नै केन्द्रमा राखेर प्रचार गरिएको चलचित्र निर्वाचनकै कारण चल्न नसक्नुले निर्माण पक्षको रणनीति र दर्शकको मनोविज्ञानबीच तालमेल नमिलेको स्पष्ट हुन्छ।
त्यसैगरी, फागुन १ गतेदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘श्री बुकुरो’ को अवस्था पनि उस्तै रह्यो। यस चलचित्रको वितरण गर्ने जिम्मा लिएको नेसनल सिने ग्रुप नेपालले फागुन ६ गते (आज) देखि लागू हुने गरी प्रदर्शन स्थगित गरिएको घोषणा गरेको छ।
वितरण कम्पनीका अनुसार अब यो चलचित्र आगामी नयाँ वर्षको सुरुवाती महिना अर्थात् वैशाख १८ गतेदेखि पुनः प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।
यसका साथै, सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको चलचित्र ‘शिवांश: च्याप्टर १’ ले पनि बक्स अफिसमा अपेक्षित नतिजा नदिएपछि आजैदेखि प्रदर्शन रोकेको छ।
विकास जोशी, प्रदीप कुमार चौधरी, सबिन चुरोटे, प्रविन खतिवडा, तेज गिरी र बिमला लिम्बुजस्ता कलाकारहरूको अभिनय रहेको यस चलचित्रले पनि दर्शकलाई आकर्षित गर्न नसक्दा बीचमै हलबाट बाहिरिनुपर्ने अवस्था आएको हो।
केही दिनको अन्तरालमै यसरी एकपछि अर्को गर्दै तीन-चारवटा चलचित्र सिनेमाघरबाट उत्रिनुले नेपाली चलचित्र उद्योगमा गम्भीर प्रश्न खडा गरेको छ। निर्माण टोलीहरूले तत्कालका लागि चुनावी माहोल र प्रचारको कमी लाई दोष दिएर पन्छिन खोजे पनि वास्तविकता भनेको दर्शकले स्वीकार गर्न लायक सामग्री पस्कन नसक्नु नै हो।
कथा भन्ने शैलीमा परम्परागत ढर्रा, पटकथामा मेहनतको कमी र प्रस्तुतिमा देखिएको फितलोपनले गर्दा दर्शकहरू नेपाली चलचित्रबाट टाढिँदै विदेशी चलचित्रतर्फ आकर्षित भइरहेका छन्।
यद्यपि, स्थगित भएका यी सबै चलचित्रका निर्माण टोलीहरूले पछि अनुकूल समयमा पुनः प्रदर्शनमा आउने दाबी गरेका छन्। तर, एकपटक हलबाट उत्रिसकेको चलचित्रलाई फेरि दर्शकमाझ स्थापित गराउनु निकै चुनौतीपूर्ण हुने देखिन्छ।
प्रकाशित: ६ फाल्गुन २०८२ १९:०३ बुधबार





