दक्षिण भारतीय फिल्म ‘बाहुबली’ फ्रेन्चाइजलाई लिएर फेरि एक पटक चर्चा चुलिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोपछि प्रशंसकहरूले ‘बाहुबली ३’ आउन सक्ने अनुमान गर्न थालेका छन्।
भाइरल भिडियोमा प्रभास, राणा दग्गुबाती र अनुष्का शेट्टी देखिन्छन्। भिडियोमा राणाले सायद अहिले संसार तयार छैन, तर ‘बाहुबली’ फेरि आउने संकेत गरेका छन्। त्यसपछि प्रभासले मुस्कुराउँदै तीन औँला देखाउँछन्, जसलाई धेरै फ्यानहरूले ‘बाहुबली ३’ को संकेत भनेर व्याख्या गरेका छन्।
भिडियोको अन्त्यमा 'यो विरासत अझै जारी छ' भन्ने सन्देश पनि देखिन्छ, जसले फ्यानहरूको उत्साह झन् बढाएको छ।
यद्यपि अहिलेसम्म ‘बाहुबली ३’ सम्बन्धी कुनै आधिकारिक घोषणा गरिएको छैन। निर्देशक वा निर्माताले फिल्म बन्ने, यसको कथा, छायांकन वा प्रदर्शन मिति सम्बन्धी कुनै पुष्टि गरेका छैनन्। त्यसैले आधिकारिक घोषणा नभएसम्म यसलाई अनुमान र चर्चा का रूपमा मात्रै लिन उपयुक्त हुन्छ।
प्रकाशित: १२ असार २०८३ ११:४८ शुक्रबार





