थापागाउँस्थित ‘एक थिएटर नेपाल’ मा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ एकाएक मञ्चन रोकिएपछि यसले मानिसहरूको ध्यान केन्द्रित गरेको छ। निर्माण पक्षका अनुसार नाटक अनिश्चितकालका लागि रोकिनुको कारण राजनीतिक दबाब रहेको दाबी गरिएको छ।
मझुवा घगर नामक संस्थाको निर्माण तथा प्रस्तुति रहेको उक्त नाटकबारे आइतबार निर्माण टिमले एक सूचना निकालेको छ। त्यहाँ नाटक राजनीतिक कारणले रोकिएको बताइएको छ। सूचनाअनुसार – ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारणले नाटक ‘लुसिफर राइजिङ’ को शो रोक्न बाध्य भएका छौँ।’
उक्त सूचनामा भने कुनै राजनीतिक पार्टीको नाम उल्लेख गरिएको छैन। थप सूचनामा नाटक हेर्न आउने दर्शकप्रति क्षमा मागिएको छ – ‘यसका लागि नाटक हेर्न आउनुभएका दर्शकप्रति क्षमाप्रार्थी छौँ।’
नाटकबारे थिएटरकर्मी सौजन सेनेहाङका अनुसार – ‘२०८२ भदौ २३ गतेको जेन जी आन्दोलनको परिणामस्वरूप २४ गते देशभर भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा सुकुम्बासी बस्तीमा बस्ने एक नागरिकताविहीन केटीलाई मुख्य पात्र बनाएर ‘लुसिफर राइजिङ’ नाटकको कथावस्तु तयार गरिएको थियो। सुकुम्बासी बस्तीको एक सामान्य कोठामा बस्ने तथा एक घरमा भाँडा माझ्ने एलिसा नामकी युवती कसरी आन्दोलनका क्रममा समाजका फरक–फरक पात्रहरूबाट शोषणमा पर्छिन् भन्ने कुरा देखाउन खोजिएको थियो। शोषण गर्नेहरूमा उनकै प्रेमी, जेलबाट भागेको अपराधी लगायतका पात्रहरू थिए। भदौ २४ गते भएका सम्पूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष घटनालाई एलिसा र उनको कोठाबाट देखाउन खोजिएको छ।’
केही समयअघि जेन जी आन्दोलनका समयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उनका विरोधी पक्षले ‘लुसिफर’ भनेर गाली गर्न प्रयोग गर्थे। त्यसकारण पनि यो नाटक रोकिनुको पछाडि सरकारको आदेश रहेको भनेर धेरैले आकलन गर्न थाले। तर, जब सञ्चारकर्मीले नाटक निर्देशक सहलेससँग सोधपुछका लागि सम्पर्क गर्न खोजे, उनी सम्पर्कविहीन भएका छन्। केही समयदेखि ‘एक थिएटर नेपाल’ नामक संस्थामा नाटकको टिमले थिएटर भाडामा लिएर नाटक मञ्चन गरिरहेको थियो।
उक्त थिएटरका अध्यक्ष अनिल सुब्बाको तर्फबाट सोमबार एक सूचना निकालिएको छ।
सूचनाअनुसार – ‘पछिल्लो समय मझुवा घगरको निर्माण तथा प्रस्तुति रहेको नाटक ‘लुसिफर राइजिङ: ए जेन जी प्ले’ को नियमित मञ्चन थापागाउँस्थित एक थिएटर नेपालको हलमा भइरहेको र गत शनिबारदेखि उक्त नाटकको मञ्चन अनिश्चितकालका लागि स्थगित भएको विदितै छ। नाटक मञ्चनका क्रममा नाट्य समूहलाई ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारणले नाटक ‘लुसिफर राइजिङ’ को मञ्चन रोक्न बाध्य भएका छौँ’ भनी नाटक निर्माण संस्था मझुवा घगरले बताए पनि नाटकका निर्देशक सहलेसले पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘लुसिफर राइजिङ रोक्ने कुनै आधिकारिक सरकारी निकाय होइन, कुनै अमुक राजनीतिक दल पनि होइन’ भनी अज्ञात समूहलाई दोषी देखाउँदै आफ्नो धारणा व्यक्त गर्नुभएको छ।
तर, कस्तो दबाब आयो, किन त्यस्तो दबाब आयो, उक्त दबाब दिने समूह को हुन सक्छ वा उक्त दबाब कुन नम्बरबाट आएको हो भन्ने सन्दर्भमा नाटकघर उपलब्ध गराउने ‘एक थिएटर नेपाल’ का कुनै पनि सदस्यहरूलाई व्यक्तिगत वा संस्थागत जानकारी नभएको स्पष्ट पार्दछौँ।
आगामी दिनमा नाटकको मञ्चन नियमित हुने वा नहुनेबारे जानकारी गराउनेछौँ। आम दर्शकहरूमा पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौँ। साथै, समस्यालाई चासोका साथ हेरिदिनुभएका यस क्षेत्रका अग्रज व्यक्तित्वहरू, प्रशासनिक निकाय, सञ्चार समूहहरू र सञ्चारकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
अन्त्यमा, कलाप्रति सम्मान प्रकट गर्नुहुने तपाईं सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौँ।’
नाटकका निर्देशक सहलेससँग नागरिककर्मीले सम्पर्क गर्दा उनी आजको दिनसम्म पनि सम्पर्कविहीन छन्।
हालै सहलेसले एक सूचना सार्वजनिक गरेका छन्, जहाँ धम्की कसबाट आइरहेको भन्ने प्रश्नमा लेखिएको छ – ‘लुसिफर राइजिङको प्रदर्शन रोक्ने कुनै आधिकारिक सरकारी निकाय होइन, कुनै अमुक राजनीतिक दल पनि होइन, अँध्यारोभित्र बस्ने शैतान हो, जो सुरुमा मस्तिष्क र बिस्तारै शरीरमा प्रवेश गर्दछ।’
भीडको सामु लेखकले आत्मसमर्पण गरेको र नाटक सकिसकेको समेत उल्लेख गरिएको छ।
प्रकाशित: १२ जेष्ठ २०८३ १७:५१ मंगलबार





