चलचित्र क्षेत्रमा लेनदेनलाई लिएर यस्ता कैयौँ घटना सुन्न हामी पाएकै हुन्छौँ। कहिले कलाकारको आरोप निर्माताले पारिश्रमिक नदिएको भने कहिले निर्देशकको आरोप निर्मातामाथि तर हालको घटना भने यी पछिल्ला घटनाहरू भन्दा फरक रहेको छ।
साल २०८१ मा प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’ का दुई निर्माता रौनकविक्रम कँडेल र निर्माता विनय श्रेष्ठबिच लेनदेनको विषयलाई लिएर मुद्दा अदालतसम्म पुगेको छ। निर्माता रौनकविक्रम कँडेलले अभिनेता समेत रहेका अर्का निर्माता विनय श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा लेनदेनको मुद्दा दायर गरेका छन्।
निर्माता रौनकविक्रमको अनुसार–‘‘फेरि रेशम फिलिली’ को निर्माणका लागि म र विनय श्रेष्ठ फिफ्टी फिफ्टीको चलचित्रमा लगानी लगाउने सम्झौता गरेका थियौँ। चलचित्र निर्माणमा चार करोड भन्दा बढी खर्च बेहोर्नु पर्यो। चलचित्र प्रदर्शन भएपछि चलचित्रले अपेक्षित व्यापार गर्न सकेन।’
चलचित्रले भने एक करोडको व्यापार समेत गर्न सकेन । उनी थप्छन्–‘चलचित्रले लगानी समेत उठाउन नसकेको अवस्था आयो। जब कलाकार, टेक्निसियन, वितरकलगायतका व्यक्तिहरूको पारिश्रमिक आफ्नै खल्तीबाट तिर्नु पर्ने अवस्था आयो, विनयले पैसा तिर्छु तिर्छु भनिराखे तर उनले आफ्नो दायित्व पुरा गरेनन्।’ बारम्बार फोन गर्दा पैसा तिर्छु भन्दाभन्दै धेरै समय बितिसक्दा पनि आफ्नो बोलीलाई पुरा नगरेको रौनकविक्रमको आरोप छ ।
रौनकविक्रमको अनुसार–‘आफूले एक्लै कलाकार तथा इलेक्ट्रिसियनको पैसा तिरेको विनयले कुनै आर्थिक घाटा बेहोरेनन्’। जस कारण रौनकविक्रमले अदालतमा मुद्दा गर्छु भन्ने चेतावनी दिँदा समेत मुद्दा परे पनि आफूलाई कुनै फरक नपरेको विनयले सुनाए उक्त घटना अगाडि पनि कैयौँ व्यक्तिहरूको पारिश्रमिक नदिएको उनको आरोप छ।
साथीभाइले उनी विनयमाथि विश्वास नगर र उनी विश्वास योग्य व्यक्ति नरहेको सल्लाह दिएका थिए तापनि आफूले उनी माथि विश्वास गरेको उनको पछुतो छ।
वितरक कम्पनीले बारम्बार फोन गर्दा पैसा तिर्छु भन्ने आश्वासन दिएर पैसा दिने समय उनी आफ्नो वाचा पुरा नगरेको रौनकविक्रमको आरोप छ। सबै कलाकार तथा अन्यको पारिश्रमिक चुक्ता गरिसकेको र वितरकको मात्र तिर्न बाँकी रहेको रौनकविक्रम सुनाउँछन्।
मुद्दा भने २० दिन अगाडि हालिएता पछि सुनुवाइ अझै १५ दिन अर्थात् असारको अन्तिममा हुने रौनकविक्रमको भनाइ छ।
प्रकाशित: १९ असार २०८३ १८:५९ शुक्रबार





