१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

हाम्राहरूले पालैपालो कुर्सी साट्नुहुन्छ!

मुक्तक

१) मुक्तक

बोलीपिच्छे जनताहरूलाई ढाँट्नुहुन्छ

कति सहने हौ नहुने कुरा छाँट्नुहुन्छ

महँगो शक्ति प्रदर्शन गर्दै र झुक्याउँदै

हाम्राहरूले पालैपालो कुर्सी साट्नुहुन्छ।

२) मुक्तक

पिपल हुनु र वर हुनु

मन बिसाउने घर हुनु  

भन्नेहरूले जेसुकै भनून् 

शत्रुहरू देखि पर हुनु।

३) मुक्तक

विश्वास भ्रमको डुङ्गा भएपछि

बिनासुगन्धको थुङ्गा भएपछि

हिंड्ने बाटो नै अलग हुँदोरहेछ  

प्रेमिकाको मन ढुङ्गा भएपछि।

४) मुक्तक

असजिला पलहरूमा हराभराहरू भुल्नु हुन्न  

आफ्नो पहिचान मलिलो गराहरू भुल्नु हुन्न  

भाषा, साहित्य, संस्कृति सम्पदा श्रमलाई र​

समाज, आफन्त​, आफ्ना जराहरू भुल्नु हुन्न।

६) मुक्तक

अतालिन्छु निसासिन्छु पिर हुन्छ  

मुटुमा श्वास रोक्ने जन्जीर हुन्छ  

तिम्रो यादमा साँझ ढल्दै जाँदा

मन ढुङ्गे बगर हुन्छ भिर हुन्छ।

७) मुक्तक

लास बिसाउने त बाटैमा हो

हामीलाई पुर्ने त माटैमा हो

साथी घमन्ड केका लागि र  

जलाउन लाने त घाटैमा हो।

८) मुक्तक

आफन्तहरु भर अभरका लागि न हो  

विश्वास निर्भर निरन्तरका लागि न हो  

अचम्म छ लानु के छ जानु कहाँ हो  

दुनियाँ संसार पलभरका लागि न हो।

९) मुक्तक

नशानशामा देश दुख्दा तिमी सँगै रुन पाउँ

शिर झुकाएर नेपाल आमा तिम्रै पाउ छुन पाउँ

जंगल पहाड नदीसँगै उमंग र उल्लास बोकी

मातृभूमि तन मन बचनले सधैं तिम्रो हुन पाउँ।

१०) मुक्तक

जे जति छोड्यौ अनुपम अनुराग छोड्यौ  

प्रारम्भमा बिलो लगायौ थोरै भाग छोड्यौ

मस्तिष्कको धारणालाई पुनः सोच्न विवश

नमिठो गरी दुखिरने प्रेमको दाग छोड्यौ।

प्रकाशित: १९ चैत्र २०८२ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App