राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले स्रष्टा शरद गौतमकाे मुक्तकसङ्ग्रह ‘भावनाका लहर’ लाेकार्पण गरेको छ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल उपस्थित रहेका थिए।
पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित कार्यक्रममा
डा. हिमलाल पन्थीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। मुक्तकहरूले समसामयिक समाजको यथार्थ ऐना प्रस्तुत गरेको उनले बताए।
मुक्तकहरूमा सामाजिक विकृति र विसङ्गतिमाथि तीव्र प्रहार र पारिवारिक विखण्डन र आध्यात्मिक चेतनाको कमीले मानिसहरू कसरी मानसिक तनावमा परेका छन् भन्ने कुरा कृतिले बडो मार्मिक ढङ्गबाट उजागर गरेको छ। लेखकले जीवन भोगाइ र अनुभूतिलाई सरल तर गम्भीर रूपमा प्रस्तुत गरेका छन्।
संस्थाका सचिव घनश्याम केसीले सञ्चालन गरेकाे कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले कृतिको सफलता र स्रष्टाको साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए।
पत्रकारहरूको तर्फबाट राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक शरद अधिकारीले साहित्यकारहरूको तर्फबाट लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
त्यस्तै राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा तथा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका प्रमुख डा. टीकाराम उदासीले कृतिको साहित्यिक मूल्य र समाजमा यसले दिने सकारात्मक सन्देशबारे चर्चा गरेका थिए।
संस्थाको तर्फबाट राप्ती साहित्य परिषद्का उपाध्यक्ष सुरेश कुमार पाण्डेले पनि स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए।
अध्यक्ष यम रेग्मीले दाङको साहित्यिक श्रीवृद्धिमा शरद गौतमको यो कृतिले महत्त्वपूर्ण इँटा थपेको उल्लेख गरे।
कार्यक्रममा परिवारका तर्फबाट उमङ्ग अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
प्रकाशित: ११ जेष्ठ २०८३ ०६:४४ सोमबार





