२० असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पर्खमान दाइ!

कविता

मनभरि पीडा बोकेर

दुखस् दर्दका घाउहरूले पिरोलिएर

सुख शान्ति र समृद्धिको आशामा दौडिरहे

पिजडाको सुगाले आकास हेरेझैँ

दरिद्रताको आँखीझ्यालबाट 

ऋण, दुखस्  र पीडाबाट मुक्ति खोजिरहे।

पुस्तौँ पुस्ता अघिदेखिको सिम्ले खेत

एकहलको मेलो पाखोबारी बन्दगी राखेर

चन्चली भाउजुका थोरबहुत गहना बेचेर

आफ्नो सारा श्री सम्पत्ति धरौटी राखेर

मनभरि आशा र उमङ्ग बोकेर 

एकदिन पर्खमान दाइ  

गाउँकै एकहाच तन्नेरीहरूसँग ठूलो जहाज चढे।

 

हृदयभरि उब्जेका दुखका काँडाहरू

थाप्लाभरि बसेका ऋणका खटिराहरू

यी सबै घाउहरू निको पार्न

आफ्नो मोतीतुल्य पसिना सिन्चिन 

पर्खमान दाइ मरुभूमी पुगेछ्न।

पहाडमा तुसारो पर्दै गर्दा हिडेका पर्खमान दाइ

रानीवनमा चरीले काफल पाक्यो पनि भन्न नपाउदै

आलीमा धान झुल्दै गर्दा हिँडेका पर्खमान दाइ

बेसीमा फेरि असारे गीत घन्कन नपाउदै 

फर्केछन उनी त फेरि देशै पो फर्केछन।

चन्चली भाउजुका सिन्दुर र पोते पोको पारेछन  

निरीह बालबच्चाका भबिष्य र सपना झोलाभित्र कसेछन  

अनि आफू पनि सानो काठको बाकसमा अट्ने भएछन  

यसरी पो पर्खमान दाइ देश फर्केछन।

झुप्रो घर धर्मपत्नी र बालबच्चाको मुहार फेर्न  

ऋण, दुख र पीडाबाट मुक्ति खोज्दै

मरुभूमी पुगेका पर्खमान दाइ

ऋण, दुख र पीडाबाट मात्र होइन

यो संसारबाटै पो मुक्त भएछन।

पर्खमान दाइ।

कविता

 ओमप्रकाश घिमिरे

प्रकाशित: २० असार २०८३ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App