२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पर्खनुहोस्, आउँदै छ ऋतु

निबन्ध

हामीले जे खोज्छौं, त्यही पाउँछौं; सुन खोजे सुन, लसुन खोजे लसुन। सबैले खोजेकै चिज पाउने हुन् तर पाउनका लागि खोजको समय, स्थान र कर्म भने उपयुक्त हुनैपर्छ। बिनाश्रम त थालको खिर पनि मुखमा जाँदैन।

सबैभन्दा बलवान् समय हुँदोरहेछ। एउटा सानो बच्चा जब म ठुलो हुनेछु, तब यो गर्नेछु, त्यो गर्नेछु र अन्ततः खुसीको संसारमा पुग्नेछु भन्ने सोच्छ। ऊ ठुलो हुन्छ, समयअनुसार आवश्यक सबै कर्म गर्छ तर पनि उसले सोचेजस्तो अनन्त सुख पाउँदैन। उसले पढाइ सकेपछि जागिर खान्छ। त्यसपछि बिहे गर्नेछु, बिहेपश्चात् झनै अलौकिक सुख प्राप्त हुनेछ भन्ने सोच्छ। उसले बिहे पनि गर्छ। बिहेपश्चात् छोराछोरी प्राप्त हुन्छन् अनि कति आनन्द हुने होला भन्ने सोच्छ। छोराछोरी जन्मेपछि उनीहरूको पढाइलेखाइमा उसको ध्यान जान्छ। उसले सोच्छ, साँच्चै सुख त जागिरबाट अवकाश पाएपछि पो प्राप्त हुने हो। मान्छे कर्मबाट कहिले पो निवृत्त हुन्छ र? जागिरबाट अवकाश पाएपछि पनि काममा अनेक झमेला आइ नै रहन्छन्। यसरी कर्म गर्दागर्दै उसले थाहा पाउँछ– जीवन त सुखको आसैआसमा बितिसकेछ। अब त जीवन अस्ताउन मात्र बाँकी छ। सायद यति बेला उसले सोच्छ– वास्तविक सुख त जीवनपछि प्राप्त हुन्छ, त्यसैले आनन्दले यो जीवनलाई विश्रान्ति दिन पाए हुन्थ्यो।

यही हो मानव जीवन। हामीले जीवनमा पाउनका लागि अनेक चिज खोज्छौं। खोजेका चिज पाउँछौं पनि तर सबै पाएका चिज सोचेअनुसार आउँदैनन्। सबै चिज आउँछन्, आकाङ्क्षा पूरा गर्न अर्को चिज पाउनुपर्नेगरी, सापेक्षित भएर। बाल्यकाल किशोरावस्थाको सापेक्षतामा, किशोरावस्था युवावस्थाको सापेक्षतामा, युवावस्था प्रौढावस्थाको सापेक्षतामा। यसरी नै सम्पूर्ण जीवन चल्दो रहेछ। हामीले खोज्ने सुख सधैं दुःखको सापेक्षतामा चलिरहँदो रहेछ। त्यसैले दुःखबिना सुख मात्र कहिल्यै कसैले प्राप्त गर्दो रहेनछ। जीवन मृत्युको सापेक्षतामा चल्दो रहेछ।

आजको मान्छे तत्काल सफलता, धन, प्रसिद्धि र सुख खोजिरहेको देखिन्छ। मान्छेले प्रकृतिको नियमलाई बेवास्ता गर्छ। प्रकृतिको नियम हतार होइन, क्रमिक विकास हो। बिउ रोपेको भोलिपल्ट फल लाग्दैन, कुर्नुपर्छ निश्चित महिना। नदीले एकै दिनमा पहाड काटेर बाटो बनाउँदैन। सयौं वर्ष लगाएर आफू हिँड्ने बाटो बनाउँछ अनि निर्धक्कसँग आफ्नो जीवन त्यही बाटोमा गुडाउँछ। सूर्य पनि आफ्नो निश्चित समयमा उदाउँछ, सौर्य–प्रदीप चाहियो भन्दैमा रात्रिकालमा ऊ उदाउँदैन। प्रकृतिमा सबै चिज छ, प्रकृतिले आफूसँग भएको सबै चिज बिनाभेदभाव दिन्छ तर पर्खनुपर्छ। पाउने प्राकृतिक समय सुन्दर हुन्छ। प्राकृतिक परिपक्वताबिना कुनै चिज पायौं भने पनि त्यो प्रकृतिपक्वजस्तो कहाँ मिठो हुन्छ र?

सफलता निरन्तर कर्मको सन्तान हो, हतारको सन्तान होइन। आज कैयौं मान्छे सफल छन्, उनीहरू मनैदेखि आनन्दित छन्, हृदयदेखि नै मस्त छन्। त्यो आनन्द, त्यो मस्तीपछाडि वर्षौंको सङ्घर्ष छ, कैयौं असफलताका दर्द छन् त्यहाँ। तिनै दर्द, त्याग र सङ्घर्षको उपज हो सफलता। आज सामाजिक सञ्जालमा तिनै सफलताका कथा देखाइन्छन्, तिनीहरूको सङ्घर्षको यात्रा देखाइँदैन। हेर्नेहरू भोलि नै त्यस्तै सफलता पाउन हतारिन्छन्। हतारका पाइने चिज हो र सफलताको सुख?

महाभारत महाकाव्य हतारमा लेख्न सम्भव थियो र ? एक लाख श्लोक, परिष्कृत छन्द, त्यो दर्शनको गहनता, चरित्रको महानता, ज्ञानको उज्ज्वलता। सानो धैर्य, लगाव तथा प्रतीक्षामार्फत यो कर्म सम्भव छैन। राम तत्काल अयोध्याको सिंहासनमा बसेको भए उनी राजा त हुन्थे तर मर्यादा पुरुषोत्तम हुने थिएनन्। चौध वर्षको वनवास, समयले लिएको परीक्षा हो, धैर्य, दीर्घसाधना अनि संयमको परीक्षा।

राजकुमार सिद्धार्थले एकै दिनमा बुद्धत्व प्राप्त गरेका थिएनन्। उनले वर्षौंसम्म खोज, तपस्या, असफलता र आत्मचिन्तन गरे। बोधिवृक्षमुनि लामो साधनापछि मात्र ज्ञान प्राप्त भयो। पाण्डवहरूले वनवास, अपमान र अनेक दुःख सहेर उचित समयको प्रतीक्षा गरे। उनीहरूले कुनै पनि निर्णय आवेशमा गरेनन्। धैर्य र सही समयको प्रतीक्षाले अन्ततः न्यायको मार्ग खोल्यो।

संस्कृत दर्शन पढाउने श्रीकृष्ण गुरुको अद्भुत क्षमता यतिबेला सम्झिरहेको छु। लाग्छ– उहाँले हजारौं श्लोक कसरी कण्ठस्थ बनाउनुभयो होला? रघुवंशदेखि कुमारसम्भवसम्म, अग्निस्थापनादेखि श्राद्धपद्धतिसम्म। लघुसिद्धान्त कौमुदी, रुद्री, चण्डीलगायत कृतिका हजारौं श्लोक गुरुले कण्ठस्थ सुनाउनुहुन्थ्यो। हामीलाई दुईचार संस्कृतका मन्त्र कण्ठ गर्न पनि धौ धौ हुन्छ। आज बुझ्दै छु, गुरुको निरन्तरको धैर्यपूर्ण साधनाबाट यो सम्भव भएको हो।

विडम्बना आज हामी त्यस्तो समयमा बाँचिरहेका छौं, जहाँ १० सेकेन्डभन्दा लामो भिडियो हेर्ने धैर्य छैन। हामी अधिकांश समय डिजिटल स्क्रिनमा रहन्छौं तर त्यही स्क्रिनमा पूरा समाचार पढ्ने धैर्य राख्दैनौं। एउटा पुस्तक पढ्ने धैर्य छैन आज। हामी सम्बन्धको चुली लगाउन चाहन्छौं तर धैर्यपूर्वक वास्तविक प्रेम गर्ने समय हुँदैन। हामीमा अर्थहीन हतारो छ। आज प्रेम पनि तुरुन्तै चाहिन्छ, सफलता पनि तुरुन्तै चाहिन्छ, प्रसिद्धि पनि चुरुन्तै चाहिन्छ, धन पनि तुरुन्तै चाहिन्छ। हामीलाई सम्बन्धको महल बनाउने फुर्सद कहिल्यै भएन। हामीलाई सम्बन्धले होइन, क्षीण सामाजिक त्यान्द्रोले जोडेको छ। थाहा छैन, सम्बन्धको त्यो कमजोर त्यान्द्रो कतिबेला चुडिँने हो।

जन्मथलो स्याङ्जाको गाउँमा बुबाले रोप्नुभएको कागतीको बेर्नो सम्झनामा आउँछ। कोरोनाकालको कुरा हो, जुठेल्नोनजिकै बुबाले एक जोडी कागती रोप्नुभएको थियो। म पनि सहभागी थिएँ त्यो मामुली कर्ममा। चार महिनापश्चात् म काठमाडौं फर्कें। मलाई लागेको थियो, अर्को वर्ष दसैंमा घर जाँदा त्यो बोटमा लटरम्म कागती फल्नेछन्, दसैंभर कागतीले दाल मजासँग अमिल्याइनेछ। दसैं पनि आयो, घर पनि गइयो तर उक्त कागतीको बोट बल्ल बल्ल भुइँ छोड्दै रहेछ।

‘एक वर्षसम्म पनि कागती किन माथि जान सकेन बुबा? यसले स्याहार पाएन कि?’ मैले बुबालाई सोधें। बुबाले भन्नुभयो– यसलाई तरकारीले ओझेलमा पार्‍यो, त्यसैले यो फस्टाउन पाएन। अर्को साल थोरै बढेको रहेछ। झन्डै झन्डै अस्ताउन लागेको त्यो कागतीमा पोहोरदेखि बल्ल बतिला लाग्न थाल्यो।

यस पालि भने राम्रो फलेको रहेछ। मैले यसपालि घरमा जाँदा बोटमा लटरम्म कागती फलेको देखेँ तर ती बोटलाई मलजल गरेको, कागतीका लागि त्यहाँ उम्रिएका अन्य तरकारीका बेर्ना उखेलिएको अनि मर्नै लागेका कागतीका बेर्नामा जीवन भरेर वर्षौं कुरेका पल देखिनँ। यस्तै हुन्छ जहाँतहीं, देखिँदैनन् सङ्घर्षका मैदान, मात्र देखिन्छन् फुलेका–फलेका जीवनहरू। धैर्यपूर्वक गरिएको साधनाको फल ढिलो देखिए पनि स्वादिलो हुन्छ।

समयको मौन नियम छ– जुन फल चाँडै पाक्छ, त्यो चाँडै झर्छ; जुन फल ऋतु पर्खेर पाक्छ, त्यसको स्वाद वास्तवमै मिठो हुन्छ। खेत नजोती, बिउ नरोपी र सिँचाइ नगरी फलको प्रतीक्षा गर्नु मूर्खता हो। काँचो फललाई जबर्जस्ती पकाउन सकिए पनि त्यसको स्वाद प्राकृतिक रूपमा पाकेको फलजस्तो हुँदैन।

हिमालयका शिखरहरूलाई हेर्दा एउटा प्रश्न मनमा उब्जन्छ– यी पर्वतहरू यति अग्ला कसरी भए? कुनै विस्फोटले होइन, कुनै चमत्कारले पनि होइन। लाखौं वर्षको मौन प्रतीक्षाको परिणाम हुन् ती। नदीहरूलाई हेर्दा पनि त्यस्तै प्रश्न मनमा उब्जन्छ। एउटा खहरेले पहाड काट्न सक्दैन तर निरन्तर बगिरहने पानीको बहावले चट्टानलाई पनि बाटो दिन बाध्य बनाउँछ, ढुङ्गालाई पनि कुँदेर शालिग्राम बनाउँछ। त्यसैले प्रकृतिको सबैभन्दा ठुलो गुरु समय हो र समयको सबैभन्दा प्रिय शिष्य धैर्य।

हाम्रो घरमा हजुरबुबाले रोप्नुभएको नास्पतिको रुख छ। हरेक वर्ष गाउँलेलाई समेत पुग्नेगरी मिठो फल दिन्छ। उक्त नास्पतिले फल नदिँदै हजुरबुबा कीर्तिशेष हुनुभयो, उहाँले त्यो नास्पतिको फल खान पाउनुभएन। आज हामीले भने सोही नास्पति हरेक वर्ष प्रशस्त खान पाएका छौं। हरेक वर्ष नास्पति पाकेपछि सर्वप्रथम हजुरबुबालाई चढाएर मात्र हामीले खान्छौं। हजुरबुबाले रोप्नुभएको थियो, आज हामीले त्यसको स्वाद लिँदै छौं। मान्छेले बुझ्नुपर्छ, आज उसले जुन फल पाइरहेको छ, त्यो हिजो रोपिएको बिउको परिणाम हो।

आज हामीले मिठो फल दिने रुख रोप्यौं भने उक्त रुखको फल हामीले मात्र खाने होइन, हाम्रो भावी पुस्ताले पनि खान पाउँछ। त्यसैले फलदायी रुख रोप्नु वास्तवमै पवित्र कर्म हो, महानतम धर्म हो। हामीले प्रकृतिको नियम उल्लङ्घन गरेनौं भने हामीमाथि प्रकृति सधैं दयालु बनिरहन्छ, प्रकृतिले हामीलाई निरन्तर मिठासपूर्ण फल दिइरहन्छ।

आजको मानवप्रवृत्ति भने यसको ठिक विपरीत छ। ऊ फूल फुल्नुअघि नै सुगन्ध खोज्छ, बिहान नहुँदै उज्यालो खोज्छ, कर्म गर्नुअघि नै परिणाम खोज्छ। यही अधैर्यले उसलाई निरन्तर अशान्त बनाइरहेको छ।  

प्रकाशित: २३ श्रावण २०८३ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App