२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

कविता वाचनमा गुञ्जिए श्रमिकका कथाहरू

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा काठमाडौँको कलङ्कीस्थित जागरण एकेडेमीको सभाहलमा ‘श्रम-श्रमिक विशेष कविता वाचन कार्यक्रम–२०८३’ भव्य रूपमा भएको छ।

श्रमिक दिवस नेपालमा विभिन्न कार्यक्रममार्फत श्रमिकको योगदान र अधिकारको स्मरण गर्दै मनाइने गरिन्छ। यही अवसरमा ‘वर्तमान कविता समूह’ र ‘रातो घर फाउन्डेसन’ को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दुई दर्जनभन्दा बढी कविले श्रम, शोषण, स्वाभिमान र जीवन संघर्षका विविध आयाम कवितामार्फत उजागर गरे।

कार्यक्रमको सुरुवात वरिष्ठ कवि श्यामलले ‘फरकफरक लोकतन्त्र’ र अनुवाद कविता ‘पित्तलको पिकदानी’ मार्फत गर्दै श्रमिकको राजनीतिक उपयोग र शोषणमाथि तीखा प्रश्न उठाए। त्यसपछि अमर आकाशले ‘स्वाद’ कवितामा श्रमिक आमाको प्रतीक्षामा रहेका बालबालिकाको भोकको संवेदना चित्रित गरे भने चाचुले ‘गुजुल्टिएको नाम्लो’ मार्फत श्रमिकको काँधमा थपिँदो आर्थिक बोझ उजागर गरे।

रामगोपाल आशुतोषको ‘भोकको रामायण’ ले पुस्तौंदेखिको अभावको कथा बोकेको थियो भने कञ्चन गजमेरको ‘पसिनाको मूल्य’ ले श्रमको वास्तविक अर्थ उजागर गर्‍याे। मिथोचको ‘पसिनाको गीत’ मा श्रमिककै पसिनाले पृथ्वी हरियो बनेको भाव अभिव्यक्त भयो।

किसन पौडेलको ‘घटेरो’ ले गरिबीको चक्रमा फसेको श्रमिक जीवन देखायो भने अभय श्रेष्ठको ‘श्रम’ ले स्वाभिमान र अठोटको गीत गाए। लुमन्ती चित्रकारको ‘नथाकेका हातहरू’ ले समृद्धि निर्माण गर्ने श्रमिक हातहरूको महिमा गाइन् भने प्रमोद स्नेहीको ‘श्रमिक, बुद्ध र सिटामोल’ ले स्वास्थ्य अभावसँग जुधिरहेका श्रमिकको कारुणिक यथार्थ प्रस्तुत गरेकाे छ। जयन्ती स्पन्दनको ‘मौन नायक र जीवन सौन्दर्य’ ले श्रमिकलाई नै वास्तविक नायकका रूपमा उभ्यायो भने डा. शेखरकुमार श्रेष्ठको ‘विगत बिर्सेपछि’ ले शिल्पी समुदायको पहिचान र उपेक्षा जोड्यो।

बाबु त्रिपाठीको ‘यो देश कसको हो?’ ले राज्यमा श्रमिकको स्वामित्वमाथि प्रश्न उठायो भने नमुना शर्माको ‘श्रमिकको श्रम’ ले श्रमको गरिमा उजागर गर्‍याे। प्रेमिला राईको ‘यान्छाप्पा’ ले वैदेशिक रोजगारीको पीडा बोकेको पारिवारिक संवेदना प्रस्तुत गर्‍याे भने प्रशान्त खरेलको ‘को हो आलु माइला?’ ले परिचयविहीन श्रमिकको खोजी गर्‍याे। सोमनाथ दाहालको ‘बत्ती’ ले श्रमलाई न्यायको उज्यालोका रूपमा चित्रित गर्‍याे  भने गोपालकुमार मैनालीको ‘ऊ मजदुर हो’ ले निर्माण गर्ने तर बाहिरै रहने श्रमिकको विडम्बना देखायो।

शकुन्तला जोशीको ‘भोकको जुलुस’ विद्रोहको संकेत थियो भने अनिता लामाको ‘सन्नाटा’ ले श्रमिकविहीन सहरको शून्यता देखायो। लक्ष्मी मालीको ‘हली र मैसाबको वार्ता’ ले श्रमपछिको मिठास प्रस्तुत गर्‍याे भने राजबाबु पहाडीको ‘बालश्रमिक’ ले बालश्रमको राजनीतिक दुरुपयोग उजागर गरेकाे छ। राजाराम राउतको ‘मजदुर दिवस’ व्यङ्ग्यात्मक थियो भने स्नेह सायमीको ‘सुचीकार’ ले आफ्नै सपना उध्रिएको श्रमिकको कथा सुनायो। धीरकुमार श्रेष्ठको ‘भरिया दाइ’ ले श्रमिकप्रतिको सम्मान व्यक्त गर्‍याे भने रिता बलामीले घरभित्रको आमाको श्रमलाई पनि बराबर मूल्य दिनुपर्ने सन्देश दिइन्। वासुदेव अधिकारीको ‘अक्टोबर र श्रमिक’ ले ऐतिहासिक चेतना जोड्यो भने चन्द्रबहादुर लामाको ‘श्रम दिवसमा’ ले दैनिक सङ्घर्षको चित्र कोर्‍याे।

कार्यक्रमकी सहजकर्ता रमी प्रियाको ‘मानिस र पर्खाल’ ले सहकार्यभन्दा विभेद निर्माण गर्ने समाजमाथि तीक्ष्ण टिप्पणी गर्‍याे। कार्यक्रमको समापन गर्दै कवि विश्व सिग्देलले ‘जुस पसलमा’ कविता वाचन गरे, जसले श्रमिकको श्रम र जीवन कसरी व्यवस्थाले निचोरेर रित्तो बनाउँछ भन्ने मार्मिक यथार्थ प्रस्तुत गर्‍याे। यस्ता कविता वाचनहरूले श्रमिक जीवनका कथा उजागर गर्ने प्रभावकारी माध्यमका रूपमा आफूलाई स्थापित गरिरहेका छन्।

कार्यक्रमको समापनमा बोल्दै सिग्देलले यस्ता साहित्यिक पहलले समाजमा चेतना र संवेदनशीलता जगाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। श्रम र श्रमिकको योगदान सम्झिदै अब तय हुनुपर्ने बाटोको खाका समेत कोरिएका कविता वाचनले श्रमको सम्मान, श्रमिकको अधिकार र सामाजिक न्यायका पक्षमा सशक्त साहित्यिक ऐक्यबद्धता प्रस्तुत गरेको थियाे।

प्रकाशित: १९ वैशाख २०८३ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App