गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किएका छन्। गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किएका हुन्।
लामो समयपछि पुनः सङ्गीतमा फर्किएका उनले भने,“पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ। मेरा लागि गीतसङ्गीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ।”
विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसङ्गीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले बताए। अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उनको प्रतिबद्धता छ।
‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गरेका छन् भने सङ्गीत संयोजन राजु खड्काले गरेका छन्। यस गीतको छायाङ्कन मनाङका विभिन्न रमणीयस्थलमा गरिएको छ। गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।
गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ। उनको गीत, सङ्गीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्यता समावेश भएको पाइन्छ।
प्रकाशित: १७ वैशाख २०८३ ०६:२५ बिहीबार





