२४ मंसिर २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘गाउँले कवि’ जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान’

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले ‘गाउँले कवि’ का रूपमा परिचित कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली कविताको क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै प्रतिष्ठानले किरातीलाई नगद एक लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने भएको हो।

प्रतिष्ठानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्वारा जारी विज्ञप्तिअनुसार यो सम्मान विशेष परिस्थितिमा मात्र प्रदान गरिन्छ।

यसअघि यो प्रतिष्ठित सम्मान नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति एवं महाकवि वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई प्रदान गरिएको थियो।

यसैगरी, प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा पुरस्कार–२०२५’ युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ।

सन् २००८ मा बेलायतमा स्थापना भएको नेपाली प्रतिभा प्रतिष्ठानले भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई निरन्तर सम्मान गर्दै आएको छ।

प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, गोपाल पराजुली, डा. कृष्णहरि बराल, गणेश रसिक जस्ता वरिष्ठ स्रष्टाहरू सम्मानित भइसकेका छन्।

त्यसैगरी, ‘प्रतिभा पुरस्कार’ बाट श्रवण मुकारुङ, उपेन्द्र सुब्बा, मोमिला जोशी, फुलमान बल लगायतका युवा प्रतिभाहरू पुरस्कृत भइसकेका छन्।

प्रतिष्ठानको वर्तमान कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे र देवेन्द्र खेरेस, सचिव अञ्जु अञ्जली र कोषाध्यक्ष निर्मला परिवेश राई रहेका छन्।

प्रकाशित: १ कार्तिक २०८२ २१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App