२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान अर्पिने

वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान अर्पिने भएकाे छ। वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार वसन्त चाैधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’, साहित्यकार जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार-२०८२’ र साहित्यकार हरि मञ्जुश्रीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२’ अर्पिने निर्णय गरेको छ।

उक्त पुरस्कारको राशि रूपैयाँ २५ हजार र स्रष्टा पुरस्कार रूपैयाँ २१ हजार रहेको छ।

परिषद्का अध्यक्ष कालीप्रसाद रिजालकाे अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।

उक्त पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९० औं जन्मजयन्तीको अवसरमा आउँदाे चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।

चार दशकदेखि सक्रिय साहित्यकार चाैधरीकाे कविता, उपन्यास र निबन्धसहित डेढ दर्जन बढी साहित्यिक पुस्तक प्रकाशित छन्। चौधरीको राष्ट्रियता नदुखोस् र संवाद (निबन्धसङ्ग्रह), मेरा डायरीका पानाहरू, मेघा र मेरा कविताहरू र तिमीविनाको म (कवितासङ्ग्रह), जीवन–मन्त्र (जीवन अनुभूति–भाग १), वसन्त (नौ भाषामा कवितासङ्ग्रह), आँसुओं की सियाही से, अनेक पल और मैं, वक्त रुकता नही र चाहतों के साये में (हिन्दी कवितासङ्ग्रह), आहना (नेपाली/अंग्रेजी बालकवितासङ्ग्रह), जीवन –मन्त्र–२ (जीवन अनुभूति भाग २), म्यानेजमेन्ट ३६० डिग्री (अंग्रेजी निबन्धसङ्ग्रह) र मेरा गीत (नेपाली/हिन्दी गीतसङ्ग्रह), बसन्त चौधरीका काव्य जीवनका बहुरंगी कोलाज र देवयानी (उपन्यास) लगायतका कृति प्रकाशित छन्।

चार दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील साहित्यकार भट्टराईकाे जीवनी, अनुसन्धान, सम्पादन गरी डेढ दर्जन कृति प्रकाशित छन्। भट्टराईका व्यक्तित्व र शब्दचित्र, साहित्यकार परिचय र अभिव्यक्ति, सन्दर्भ र खोजी, छाडेर जानेहरू, सय वर्षको कविता, गोपको इतिहास, 'नमन' र स्मृतिमा छाडेर जानेहरू व्यक्तिपरक निबन्धसङ्ग्रह लगायतका कृति प्रकाशित छन् भने भट्टराईले मधुपर्क र आरब्धको सम्पादनसमेत गरेका छन्।

यसैगरी चार दशकदेखि सक्रिय साहित्यकार मञ्जुश्रीको कथा, कविता, उपन्यास, निबन्ध, जीवनी, अनुसन्धान, सम्पादनसहित तीन दर्जन कृति प्रकाशित छन्।

मञ्जुश्रीका अनाहक उदगारहरू (मुक्तकृति), रहरहरूको लहर (कविताकृति), फेरिएको पर्खाल, हरिमञ्जुश्रीका कथा, नानीबाबु र हामी केही बोल्न सकेनौँ (कथाकृति), चालीसौं शताब्दी र माधुरी आचार्य (उपन्यास), आजको नेपाल कता लागिरहेछ?, मेरा अनुभूतिहरूमा चौबाटोको चारैतिर, अमर्त्य भोजपुरे : हिरण्य भोजपुरे, शशि भण्डारी - आयाम र आलोक (निबन्धकृति)लगायतका कृति प्रकाशित छन् भने एक सय बढी कृति सम्पादनसमेत गरेका छन्।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभू घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, माेमिला, श्यामल, प्रतिसरा सायमि र विमल वैद्य पुरस्कृत भइसकेका छन्।

यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन्।

प्रकाशित: ७ फाल्गुन २०८२ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App