१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

बिना अनुमति नाम र तस्बिर प्रयोग गरेको भन्दै उर्वशीले एआई कम्पनीसँग ७० अर्ब मागिन्

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो नाम, तस्बिर र भिडियो बिना अनुमति प्रयोग गरेको भन्दै लस एन्जलसस्थित एक एआई कम्पनीविरुद्ध कानुनी कदम चालेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उर्वशीको टोलीले कम्पनीसँग ७० अर्ब भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। टोलीले कम्पनीले उर्वशीको पहिचानसँग जोडिएका सामग्री प्रयोग गरेर व्यावसायिक लाभ लिएको आरोप लगाएको छ।

उर्वशीको टोलीले एआई कम्पनी स्थापना गरेर आफ्नै ब्रान्ड विकास गर्ने अधिकार सबैलाई भए पनि अरूको नाम, तस्बिर र पहिचानलाई अनुमति बिना व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नहुने बताएको छ। यद्यपि सार्वजनिक गरिएको बयानमा कम्पनीको नाम भने खुलाइएको छैन।

यसैबिच, कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिराज हसनले उर्वशीको दाबीलाई लिएर प्रतिक्रिया दिएका छन्। उनले एआई प्रविधिले मनोरञ्जन क्षेत्रमा ल्याउन सक्ने परिवर्तनबारे चर्चा गर्दै उर्वशीलाई एआईबारे थप बुझ्न सुझाव दिएका हुन्।

हसनले एआईको प्रयोगबाट फिल्म, डिजिटल कार्यक्रम तथा विभिन्न भाषामा बोल्न सक्ने डिजिटल पात्र निर्माण गर्न सकिने बताए। उनले एआईको सम्भावना र यसको प्रयोगबारे बुझ्न आवश्यक रहेको बताएका छन्।

एआईको प्रयोग सामग्री निर्माणदेखि मनोरञ्जन क्षेत्रसम्म तीव्र रूपमा बढिरहेका बेला सेलिब्रेटीको नाम, तस्बिर, आवाज र भिडियो बिना अनुमति प्रयोग गर्ने विषयमा प्रश्न उठ्दै आएको छ।

यसअघि अभिनेता सलमान खानले पनि ‘बिग बोस २०’ को एक एपिसोडमा एआईको गलत प्रयोगबारे चर्चा गरेका थिए। उनले एआईमार्फत आफ्नो आवाज प्रयोग गरेर कसैलाई गाली गर्न सकिने र मानिसको नक्कली एआई भिडियोसमेत बनाउन सकिने विषयमा चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: १४ आश्विन २०८३ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App