मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कार र जगदम्बा–श्री सम्मानको घोषणा गरेको छ।
गुठीको भदौ ६ गते बसेको साधारण सभाले लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
सोही सभाले २०८१ सालमा प्रकाशित २९९ पुस्तकहरूमध्येबाट छुदेन काविमोद्वारा लिखित पुस्तक ‘उरमाल’ लाई २०८१ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारका लागि सात पुस्तकहरू अन्तिम छनोटमा परेका थिए।
मदन पुरस्कार गुठीको स्थापना २०१२ सालमा भएको थियो। पहिलो पुरस्कार २०१३ मा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ लाई प्रदान गरिएको थियो।
त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको सम्झनामा जगदम्बा–श्री सम्मान स्थापना भएको हो, जुन पहिलोपटक नारायण गोपाललाई दिइएको थियो।
नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिका लागि योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री र नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिन्छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले यो सम्मानले नेपाली साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन।

प्रकाशित: ६ भाद्र २०८२ १८:२५ शुक्रबार





