त्यस बखत उसले
प्रेमपत्र लेख्नै जानेन
मनका कुरा मुटुमै गाँठो पार्यो
अरूको प्रेमपत्र मात्र पढ्यो।
प्रेम फरकफरक
देवता र देवीको प्रेम
ऋषि र ऋषि–पत्नीको प्रेम
राक्षस र राक्षसनीको प्रेम
ती कस्ता थिए
त्यो थाहा भएन,
तर उसको जमानाको प्रेम भने
मौन थियो।
कुनै प्रेमपत्रले आँसु बगाउँछ
कुनैले हाँसो ल्याउँछ
कुनैले संघर्ष सिकाउँछ
कुनैले त रोमान्स ल्याउँछ
उसले धेरै यस्ता पे्रमपत्र पढ्यो
तर बेलामा आफ्नै प्रेमपत्र पढेन।
प्रेमले मुटुमा छुन्छ
जंगलीलाई संस्कारी बनाउँछ
प्रेम त नदी हो, समुद्र हो
यो त झर्ना हो
जसमा निरन्तरता हुन्छ
प्रेम आकाश हो
जुन जहाँतहीं व्याप्त छ।
एक दिन पुराना पुस्तक पल्टाउँदै गर्दा
उसले एउटा बन्द खाम फेला पार्यो।
त्यो खाम खोलेर हेर्दा त
आफ्नै सहपाठीले उसलाई लेखेको
धेरै वर्षअघिको
प्रेमपत्र पो रहेछ।
त्यो त्यही बखत नथन्क्याई
खोलेर हेरेको भए
उसको जीवन अर्कै हुन्थ्यो
माया गर्नेको मुखले
‘म तिमीलाई माया गर्छु’
भन्न जानिनँ
उसले पनि त माया गर्नेको
आँखाको भाका बुझ्न सकेन।
वर्षौं बित्यो
सम्झिन्छ अहिले उनको मुहार
धपक्क बलेको पूर्णको चन्द्रझैं
अहिले तिनी कहाँ छिन्
त्यो पनि थाहा भएन उसलाई।
यी हरफ उनले पढिन् भने
ठेगाना बदलिएको छैन रे पुरानै हो
सम्पर्कका लागि हार्दिक अपिल गर्दै छ ऊ।
उसलाई ग्लानि र पीडा दिँदै छ अहिले
बेलामा नखोलिएको प्रेमपत्रले।
प्रकाशित: २० मंसिर २०८२ १०:१९ शनिबार





