१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अभाग

लघुकथा

‘मलाई माफ गर्दिनोस।’ रुपेशको पाउ नै छोएर रुपाले सासूससुराप्रति गरिएको दुर्व्यवहार दोहोरिन्न भनी।

रुपेशले रुपालाई स्पष्ट जवाफ दियो, ‘भोभो, साखुल्ले बन्नु पर्दैन। आमाबुबाको मन दुःखिहाल्यो। मैले दिने माफ हो र? आमाबुबासँगै माग्नु माफ। उहाँहरू खुशी रहनुपर्‍यो।’ 

रुपा अलि मुखाले छे। सानातिना घरायसी कुरामा इगो लिइरहन्छे। मौका पर्नेबित्तिकै शब्द बाण हान्ने गर्छे। आफू सासू हुनु पर्ने कुरामा मतलबै राख्दिनँ। आफूलाई पनि बुहारीले दुर्व्यवहार गर्छे होला भन्ने सोच उसको दिमागमा छैन। सहनशील भए मे बिग्रन्छ? आफूभन्दा ठूलाले भनेको दुईचार कुरा खप्नु पनि पर्छ। सँगसैगै बाझिहाल्नुपर्छ र? दुर्मुखा र चोथाले बानी राम्रो हैन।

रुपेश कमबोल्छ। ऊ अन्तरमुखी स्वभावको मान्छे हो। ऊ चित्त दुख्ने गरी नबोल्नु भन्छ। ऊ श्रोता हो। वाचक हैन।

लघुकथाकार प्रकाशचन्द्र खतिवडा

रुपेश र रुपाको विवाह भएको तीस वर्ष नाघिसक्यो। एकले अर्काको मनोभावना बुझेको खै? रुपा रुपेशको मनोभावना विपरीत गतिविधि गर्छे।

रुपेश ठान्छ, पढालेखा महिला हो रुपा। रुपाले आफै अनुशासित भै नैतिकता देखाउन सक्नुपर्छ। ऊ बुहारी मात्र हैन। आमा पनि त हो। दया, माया र करुणा नभएकी आमा हुनुको कुनै तुक रहन्छ र!

रुपा शान्त बनेकी छैन। वर्षौसम्म छेडखान गरिरहन्छे। रुपाको अशान्ति शान्त गर्न नसकेकोमा रुपेश आफूलाई अभागीको पगरी गुथाएर रुपाको आदतप्रति खेद प्रकट गर्नुबाहेक ऊ अरू गर्न नै के सक्छ र!

प्रकाशित: १२ पुस २०८२ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App