ऊ त्यही हो - अम्बानीको घर।
गाइडले चोर औंलाले आकाशतिर चिर्दै उभिएको गगनचुम्बी भवन देखाइन्। बसको सिसाभित्रबाट हामीले घाँटी उचालेर हेर्यौं–मुम्बईको भिड, ट्राफिक, धुलो र हर्नको कोलाहलबिच अल्टामाउन्ट रोडमा उभिएको छ, विलासिताको टापु ‘एन्टिलिया’।
त्यत्तिकैमा टोलीका एक सदस्यले हल्का खिल्ली उडाउने स्वरमा भनिहाले– ‘कस्तो ठाउँमा बसेको? यस्तो बाटो त...!’
उनको स्वरमा अपेक्षा र यथार्थबिचको ठक्कर थियो। सायद हामी सबैको मनमा कतै न कतै बसेको त्यो कल्पना–विश्वका धनी व्यक्तिको घरतिर जाने बाटो पनि हिराजस्तै चम्किलो होला, सडकहरू सपाट र शान्त होला भन्ने। तर मुम्बई त मुम्बई नै हो– आफ्नो अस्तव्यस्त सुन्दरता बोकेर बाँचिरहेको सहर।
‘एन्टिलिया’ रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको घर हो। २७ तले यो भवन संसारकै सबैभन्दा महँगा निजी आवासहरूमध्ये एक मानिन्छ। करिब १५ हजार करोड रुपैयाँभन्दा बढी मूल्य आँकलन गरिएको यो संरचना चार लाख वर्गफुटभन्दा बढी क्षेत्रमा फैलिएको छ। यो संरचना केवल घर मात्र होइन, शक्ति, पुँजी र महत्त्वाकांक्षाको प्रतीकजस्तै लाग्छ।
मुकेश अम्बानी भारत र एसियाका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। सन् २०२५ सम्म आइपुग्दा उनको कुल सम्पत्ति करिब ११२–११४ अर्ब डलरसम्म पुगेको आँकलन गरिन्छ। विश्वका शीर्ष १५–२० धनी व्यक्तिको सूचीमा उनको नाम निरन्तर घुमिरहन्छ।
तर त्यो क्षणमा, बसभित्र उभिएर ‘एन्टिलिया’तिर हेर्दा मलाई सम्पत्तिको अंकगणितभन्दा सहरको विडम्बना धेरै बलियो लाग्यो। एकातिर अर्बौं डलरको घर, अर्कोतिर त्यही घरतिर जाने बाटोमा भिड, धुलो र साना पसलहरू। विलासिता र संघर्ष एउटै फ्रेममा अटाएका थिए।
सायद यही मुम्बईको चरित्र हो। जहाँ सपनाहरू अति ठुलो आकार लिन्छन् तर जमिन भने यथार्थमै अडिएको हुन्छ।
गाइडले बस अघि बढाइन्। एन्टिलिया बिस्तारै पछाडि छुट्यो।
मुम्बई भ्रमणको दोस्रो दिन। घडीले बिहान साढे नौ बजाएको थियो। बान्द्राको भिडभाड छिचोल्दै हाम्रो बस बिस्तारै प्रभादेवीतिर अघि बढ्दै थियो। ट्राफिकको लामो सर्पजस्तो लाइन, सवारीसाधनका हर्न, सडक किनारका चिया पसल र हतारिँदै दौडिरहेका मानिसहरू। मुम्बई आफ्नै गतिमा बाँचिरहेको थियो। तर हाम्रो दिनको सुरुवात भने केही फरक हुँदै थियो। त्यो दिनको भ्रमणको श्रीगणेश साक्षात् गणेशको दरबारबाट गर्ने योजना थियो।
श्री सिद्धिविनायक मन्दिरको परिसरमा पाइला टेक्नासाथ सहरको कोलाहल केही क्षणका लागि ओझेल परेजस्तो लाग्यो। भक्तजनको लामो लाइन, हातमा प्रसाद, निधारमा टीका, आँखामा विश्वास।
प्रभादेवीस्थित सन् १८०१ मा लक्ष्मण विट्ठु र देउबाई पाटिलले स्थापना गरेको यो मन्दिर आज भारतकै सबैभन्दा पूजनीय गणेश मन्दिरहरूमध्ये एक बनेको छ। समयसँगै भक्तहरूको संख्या बढ्दै जाँदा मन्दिरलाई पुनस्र्थापना गरी अझ भव्य र व्यवस्थित बनाइएको छ। आज यहाँ दिनहुँ २५ हजारभन्दा बढी भक्तजन आफ्नो मनोकामना बोकेर आइपुग्छन्।
‘सिद्धिविनायक’ अर्थात् मनोकामना पूरा गर्ने विनायक। यही नाममा विश्वासको गहिराइ लुकेको छ। मन्दिरको संरचना आधुनिकता र परम्पराको सुन्दर संगमजस्तै देखिन्छ। भित्र प्रवेश गर्दा धूपको सुवास, मन्त्रको मधुर ध्वनि र घन्टीको कम्पनले मनलाई स्वतः शान्त बनाइदिन्छ।
मुख्य गर्भगृहमा विराजमान भगवान् गणेशको मूर्ति कालो पत्थरबाट बनेको छ। मूर्तिको सुँड दाहिनेतिर झुन्डिएको छ, जुन विशेष र शक्तिशाली स्वरूप मानिन्छ। चार हातले आशीर्वाद, संरक्षण, समृद्धि र ज्ञानको प्रतीक बोकेका छन्। मूर्तिको अनुहारमा एक प्रकारको आत्मीय मुस्कान छ, जसले भक्तको मनको डर र द्विविधा पखालिदिन्छ।
तालिकाअनुसार सिद्धिविनायकको दर्शनपछि हाम्रो गन्तव्य भुलाभाई देसाई मार्गस्थित महालक्ष्मी मन्दिर थियो। नाममै लक्ष्मी–समृद्धिकी देवी। यात्राको क्रम पनि त्यस्तै सुहाउँदो थियो, गणेशबाट सुरुवात र लक्ष्मीसम्मको पुगाइ।
तर बसभित्रको माहोल भने फरक मोडमा पुगेको थियो। नेपाल मन्दिरै–मन्दिरको देशबाट आएका हामीलाई त्यस बिहान अर्को मन्दिरको आकर्षण खासै तानिरहेको थिएन। कसैले हाँस्दै भन्यो, ‘महालक्ष्मी त घरघरमै छन्, आज त लक्ष्मीको सबैभन्दा ठुलो कृपा पाएका मान्छेको घर हेर्नुपर्छ।’
बसभित्र हल्का हाँसो फैलियो। निर्णय चाँडै भयो। मन्दिरलाई बाटैबाट हात जोडेर दर्शन गरियो र गाडीले मोड लियो - अम्बानी निवासतिर।
हाम्री पथप्रदर्शक थिइन् विन्दिया–राजस्थानकी तर मुम्बईका गल्ली–गल्लीसँग परिचित। उनको आवाजमा व्यावसायिक सन्तुलन थियो। तर त्यो दिन उनी पनि केही क्षण चकित भइन्। ‘नेपालबाट आउनुभएका पर्यटकहरू मन्दिर छाडेर उद्योगपतिको घर हेर्न चाहनुहुन्छ?’ उनले मुस्कुराउँदै सोधिन्।
गाडी सहरको मुटु हुँदै अघि बढिरह्यो। अगाडिको बाटो मात्र होइन, मुम्बईका मुख्य सडकहरू नै अपेक्षाजस्तो चिल्ला र व्यवस्थित देखिएनन्। कतै खाल्डाखुल्डी, कतै ट्राफिकको लामो जाम, कतै भिडको आफ्नै लय। महानगरको चमक टेलिभिजन र पत्रिकामा जति सजिलै देखिन्छ, सडकमा उत्रिँदा त्यति सजिलै भेटिँदैन रहेछ।
विन्दियाले सहरको इतिहास सुनाउँदै थिइन्, तर बसभित्रको कौतूहल भने एउटै विन्दुतिर केन्द्रित थियो - एन्टिलिया। धन, वैभव र महत्त्वाकांक्षाको प्रतीकजस्तो उभिएको त्यो घर।
मलाई लाग्यो, यो केवल मन्दिर छाडेर घर हेर्न गएको घटना थिएन। यो समयको संकेत थियो, जहाँ आस्था र आकांक्षा सँगसँगै हिँडिरहेका छन्। एकातिर देवीको प्रतिमा, अर्कातिर पुँजीको साम्राज्य। दुवैमा विश्वास गर्ने मानव मनको दोहोरो यात्रा।
मुकेश अम्बानीको निवास हेरेर अगाडि बढ्दा बसभित्र केही समयसम्म चर्चा उही घरकै वरिपरि घुमिरह्यो। कसैले मूल्य दोहोर्यायो, कसैले तला गन्यो, कसैले फोटो मिलायो। त्यसपछि बिस्तारै सहरले हाम्रो ध्यान फेरि आफ्नोतिर तान्न थाल्यो। बस हुँकियो–कोलाबातिर।
समुद्री हावाले सिसामा हल्का नुनिलो छाप छोड्दै थियो। नेताजी सुभाषचन्द्र बोस मार्ग हुँदै अघि बढ्दा एकातिर अरब सागरको फैलिएको नीलिमा, अर्कोतिर औपनिवेशिक शैलीका पुराना भवनहरू। मुम्बई यहाँ आएर अलि फरक देखिन्थ्यो– थोरै शान्त, थोरै ऐतिहासिक, थोरै सिनेमाजस्तो।
गेटवे अफ इन्डियाको नजिकै एउटा रेस्टुरेन्टमा बस रोकियो। भोक पनि अब यात्राको अनिवार्य अध्याय बनेको थियो। टेबुलमा जब तात्तातो मटन बिरयानी आयो, बसभित्रको सबै चर्चा एकाएक थामियो। अब कुरा केवल स्वादको थियो।
‘बिरयानी’ दक्षिण एसियाली परिकारहरूको बादशाहभन्दा अतिशयोक्ति नहोला। तह–तहमा राखिएको बासमती चामल, मसलामा माखिएका मासुका नरम टुक्रा र माथिबाट छर्किएको केसर। भाँडो खुल्नेबित्तिकै फैलिने सुगन्धले वातावरणलाई उत्सवजस्तै बनाइदियो।
कुनै समय यो परिकार राजदरबारका भान्सामा मात्र पकाइन्थ्यो। मुगलकालमा पाककला केवल आवश्यकता थिएन, कला थियो। १५औंदेखि १९औं शताब्दीसम्मको मुगल प्रभावले बिरयानीलाई परिष्कृत गर्यो। ‘बिरयानी’ शब्द फारसी ‘बिरियान’बाट आएको अर्थात् पकाउनुअघि भुट्नु भन्ने हुन्छ। मसला, चामल र मासुको संयोजन केवल स्वाद होइन, विधि र धैर्यको परिणाम थियो।
प्लेटमा परेको बिरयानी, सँगै रायता र सलाद। पहिलो चम्चा मुखमा जाँदा मसलाको तह–तह खुल्दै गयो -अलैंची, लौंग, तेजपत्ता, मासुको रस र चामलको नाजुक मिठास।
बाहिर समुद्र थियो, अगाडि गेटवे अफ इन्डिया - औपनिवेशिक इतिहासको प्रतीक। भित्र हाम्रो टेबलमा बिरयानी - मुगलकालीन स्वादको जीवित स्मृति। यात्राले त्यस दिन केवल स्थानहरू मात्र देखाएको थिएन, स्वाद र सभ्यताहरूको संगम पनि चखाएको थियो।
गेटवे अफ इन्डियाको ठिक सामुन्ने, समुद्रको निलो विस्तारसँग आँखा जुधाउँदै उभिएको देखिन्छ - ताज महल प्यालेस होटल। मुम्बईको गौरव, इतिहास र वैभवको जीवित प्रतीक। सन् १९०३ देखि पाहुनालाई आतिथ्य दिँदै आएको यो पाँचतारे लक्जरी होटल केवल बस्ने ठाउँ होइन, समयको साक्षी हो।
अरब सागरको किनारमा अवस्थित यो भव्य भवन एक समय रगत र धुवाँले ढाकिएको थियो।
२६ नोभेम्बर २००८, मुम्बईले कहिल्यै सम्झन नचाहेको मिति हो। त्यो रात सहर एकाएक गोलीको आवाजले हल्लियो। लस्कर–ए–तोइबासँग सम्बन्धित १० जना सशस्त्र आक्रमणकारीले मुम्बईका प्रमुख स्थानहरूमा समन्वित हमला गरे।
लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनसबाट सुरु भएको हिंसाको ताण्डव ताज महल होटल, ओबेरोय ट्राइडेन्ट, एक अस्पताल र यहुदी केन्द्रसम्म फैलियो। चार दिनसम्म सहर भय र अनिश्चिततामा बाँधियो।
ताज होटलमा त्यस रात डिनरको व्यस्त समय थियो। पर्यटक, व्यापारी, परिवार– सबै आफ्नै क्षणमा मग्न थिए। अचानक अन्धाधुन्ध गोली चले, विस्फोट भए। धुवाँले आकाश ढाक्यो र टेलिभिजनका पर्दामा मुम्बईको सान जलिरहेको दृश्य संसारभर फैलियो।
सरकारी तथ्यांकअनुसार उक्त हमलामा १६० भन्दा बढीले ज्यान गुमाए। ताज होटलभित्र मात्र ३० भन्दा बढीको मृत्यु भयो। त्यो घाउ आज पनि स्मृतिमा जीवित छ।
आज ताज फेरि उज्यालोमा चम्किन्छ। पुनर्निर्माणपछि अझ दृढ, अझ गौरवपूर्ण। आगोले त्यसको पर्खाल पोल्यो तर आत्मा पोल्न सकेन।
त्यहीबिच हाम्रो टोली जम्मा हुनुपर्ने ठाउँमा केही साथीहरू अझै देखिएनन्। समय बित्दै गयो। आधा घण्टासम्म कुर्नुपर्यो। जब ढिलो गर्दै उनीहरू आइपुगे, सबैले ताली बजाएर स्वागत गरे– अलिक चेतावनी, अलिक मजाक, अलिक अपनत्व।
मरिन ड्राइभ (नेताजी सुभाषचन्द्र बोस रोड) दक्षिण मुम्बईको ३.६ किलोमिटर लामो ‘सी’ आकारको तटबन्ध हो। नरिमन पोइन्टदेखि मालाबार हिलसम्म फैलिएको यो समुद्री किनार सहरको धड्कनजस्तै लाग्छ। दिनमा अरब सागरको नीलिमा र साँझमा सुनौलो आकाश, राति भने सडकबत्तीहरू मोतीको हारझैं चम्किँदा यसले पाउँछ अर्को नाम–‘क्विन्स नेकलेस’। माथिबाट हेर्दा घुमाउरा बत्तीहरू साँच्चै रानीको गहनाजस्तै देखिन्छन्, समुद्रको कालो आँचलमा टाँसिएका उज्याला मोतीहरू।
सडक किनारका आर्ट डेका भवनहरू पुराना तर आकर्षक–मुम्बईको वास्तुकलाको एक अलग पहिचान बोकेर उभिएका छन्। यो स्थान स्थानीय र पर्यटक दुवैका लागि व्यस्त जीवनशैलीबिच शान्ति खोज्ने एउटा खुला आँगन हो।
यात्रामा समय सधैं उदार हुँदैन। ताज होटल आसपास धेरै समय बितेकाले मरिन ड्राइभमा धेरै बेर उभिन पाइएन। केही तस्बिर, केही सास र फेरि बस अघि बढ्यो, जुहूतिर।
अब यात्रा समुद्रसँगै मात्र होइन, समुद्रभित्रबाट पनि हुँदै थियो। मुम्बईको कोस्टल रोड परियोजना अन्तर्गत निर्माण गरिएको भारतकै पहिलो समुद्री टनेल–गिरगाउँ (प्रियदर्शिनी पार्क) देखि वर्लीसम्म जोड्ने २.०७ किलोमिटर लामो सुरुङ। करिब १७–२० मिटर समुद्रमुनि बनेको यो टनेल २९.२ किलोमिटर लामो समग्र कोस्टल रोडको महत्त्वपूर्ण अंश हो। ‘मावला’ नामक टनेल बोरिङ मेसिनले बनाएको यो सुरुङबाट गुड्दा सहरको भविष्यभित्र प्रवेश गरेझैं लाग्छ।
पहिले मरिन ड्राइभबाट वर्ली पुग्न ४०–५० मिनेट लाग्थ्यो रे। अहिले १० मिनेटभन्दा कमै पुग्यौं। आठ लेनको एक्सप्रेसवेमा अधिकतम गति ८० किलोमिटर प्रतिघण्टाका दर गाडी हुइकिन्छन्। टनेलबाट निस्कँदा साफसुथ्रा लेन, चिल्ला सडक, योजनाबद्ध विस्तारको आधुनिक मुम्बई देखिन्छ। तर त्यसै सहरका अरू कुनाकाप्चामा अझै खाल्डाखुल्डी, मक्किएका घर, भिड र असमानता पनि छन्। विकास र विडम्बना सँगसँगै हिँडिरहेका छन्।
प्रियदर्शिनी पार्कदेखि हाजी अली हुँदै वर्लीसम्मको यो मार्ग केवल इन्जिनियरिङको उपलब्धि मात्र होइन, समुद्रसँग जुध्दै सहरले आफूलाई विस्तार गर्ने आकांक्षाको प्रतीक पनि हो।
‘सपनाको सहर मुम्बई’, यहाँ बस्नका लागि वान्द्रे, जुहू, अन्धेरीजस्ता क्षेत्र उत्कृष्ट मानिन्छन्। विलासी बंगलादेखि साधारण अपार्टमेन्टसम्म, सम्भावनाका अनेक रूप। कसैले यहाँ अवसर देख्छ, कसैले संघर्ष। कसैका लागि यो सफलता हो, कसैका लागि परीक्षा।
मरिन ड्राइभका उज्याला मोतीहरू र समुद्रमुनिको टनेल पार गर्दै जाँदा लाग्यो–मुम्बई एकैचोटि दुई दिशामा दौडिरहेको सहर हो। एकातिर इतिहास र आस्था, अर्कोतिर प्रविधि र प्रगति। र हामी यात्रुहरू, ती सबै दृश्यहरूलाई आँखामा भरेर अघि बढिरहेका थियौं - समुद्रको गन्ध, सडकको रफ्तार र सहरको अनन्त आकांक्षासहित।
मुम्बई पुगेर बलिउडलाई नछुने? त्यो त सम्भव नै छैन। यो सहर केवल व्यापार र समुद्रको मात्र होइन, सपनाको पनि राजधानी हो। र ती सपनाको अनुहार प्रायः पर्दामा देखिने कलाकारहरू हुन्।
बस बान्द्रा ब्यान्डस्ट्यान्डतिर मोडियो। समुद्र किनारसँगै अगाडि बढ्दा एकाएक गाडी टक्क रोकियो। गाइड विन्दियाले केही भन्न नपाउँदै बसभित्रबाट आवाज आयो– ‘यो त मन्नत हो!’
साँच्चै, समुद्रतर्फ फर्किएको भव्य बंगला, गेटअगाडि उभिएका प्रशंसक, फोटो खिच्नेहरूको भिड थियो। यो नै बलिउडका बादशाह शाहरुख खानको घर ‘मन्नत’ थियो।
शाहरुखको नाम आउँदा अर्को नाम आफैं आउँछ– सलमान खान। एकै गल्लीमा, एकै समुद्री हावामा बस्ने दुई सुपरस्टार। ग्यालेक्सी अपार्टमेन्ट, बान्द्रा वेस्टको ब्यान्डस्ट्यान्डस्थित सी–फेसिङ भवन। त्यहींको ग्राउन्ड फ्लोरको एक बिएचके फ्ल्याटमा दशकौंदेखि बस्दै आएका छन् सलमान। पनवेलमा उनको ठुलो फार्महाउस भए पनि ग्यालेक्सी अपार्टमेन्ट नै उनको पहिचान बनेको छ।
बस फेरि अघि बढ्यो। अब गन्तव्य–अमिताभ बच्चनको इलाका, जुहु।
‘एंग्री योङ म्यान’, ‘शहंशाह’, ‘शताब्दीका महानायक’ अनेक उपनामले चिनिने अमिताभ बच्चन। गाइडका अनुसार मुम्बईमा उनका पाँच वटा बंगला छन्–जालसा, जनक, प्रतीक्षा, वत्सलगायत। परिवारसँग बस्ने घर भने जुहुस्थित ‘जलसा’ हो।
गेटबाहिर उभिएर हामीले त्यो घर हेर्यौं– करिब १२० करोड भारु मूल्य आँकलन गरिने भव्य बंगला। भनिन्छ, निर्देशक रमेश सिप्पीले ‘सत्ते पे सत्ता’ सफल भएपछि यो बंगला पारिश्रमिकस्वरूप दिएका थिए। कति सत्य, कति कथा, तर किंवदन्तीले घरलाई अझ रोचक बनाएको छ।
त्यस दिन हामीले केवल घरहरू हेरेनौं, हामीले सपनाका ठेगाना देख्यौं। समुद्रतर्फ फर्किएका झ्यालहरू, अग्ला गेट, चम्किला नेमप्लेट– यी सबैभित्र हजारौं कथा लुकेका छन्– संघर्ष, असफलता, पुनरागमन, सफलता।
मुम्बईको सडकमा गुडिरहँदा लाग्यो– यहाँ हरेक गल्लीमा एउटा कथा छ। कसैले समुद्रसँग संवाद गर्छ, कसैले भिडसँग। कसैले सानो फ्ल्याटमा बसेर ठुलो पर्दा जित्छ, कसैले हेरिटेज बंगला किनेर आफ्नै ‘मन्नत’ बनाउँछ। र हामी, ती कथाका दर्शक, केही क्षणका लागि उनीहरूको घरअगाडि उभिएर आफ्नो–आफ्नै सपनालाई पनि सानो सलाम गरिरहेका थियौं।
दिन ढल्दै थियो, आकाश सुनौलो हुँदै बिस्तारै राततिर झुक्दै थियो। त्यही बेला हाम्रो बस जुहूबिचको किनारमा रोकियो।
अरब सागरको किनारमा फैलिएको करिब ६ किलोमिटर लामो बालुवामय तट– जुहू। मुम्बईको सबैभन्दा लोकप्रिय र जीवन्त समुद्री किनारमध्ये एक हो। कतिपयले यसलाई ‘बलिउडको बेभर्ली हिल्स’ पनि भन्छन्, किनकि आसपासका बंगलाहरूमा धेरै चलचित्र कलाकार बसोबास गर्छन् तर त्यो क्षणमा हामीलाई कलाकारभन्दा बढी आकर्षित गरिरहेको थियो– समुद्र र सूर्यास्त।
क्षितिजमा डुब्दै गरेको सूर्यले आकाशलाई सुन्तलामय बनाइदिएको थियो। लहरहरू किनारमा आएर हल्का फेन छोड्दै फर्किन्थे। बालुवामा खुट्टा गाडेर उभिँदा सारा दिनको थकान बिस्तारै समुद्रले बगाइदिए जस्तो लाग्थ्यो।
जुहू केवल दृश्यको सौन्दर्य होइन, स्वादको उत्सव पनि हो। किनारभरि फैलिएका स्टलहरू– पाव भाजीको तातो भाप, भेलपुरीको चटपटे सुवास, पानीपुरीको चर्को स्वाद। भेलपुरी हातमा लिएर समुद्र हेर्नुको आफ्नै मजा छ– नुनिलो हावा र अमिलो–पिरो स्वाद एकैचोटि जिब्रोमा मिसिन्छन्।
यहाँ सेलिब्रिटी देखिने सम्भावना सधैं चर्चा हुन्छ। अक्षय कुमार, ऋतिक रोशन, अनिल कपुरजस्ता कलाकारहरूको घर आसपासै रहेको बताइन्छ। कसैले टाढाबाट कुनै परिचित अनुहार देखेको दाबी गर्छ, कसैले केवल कल्पनामा रमाउँछ तर जुहूमा सबैभन्दा ठुलो ‘स्टार’ भने सधैं समुद्र नै हो।
हामी केही बेर बालुवामा बस्यौं, केही साथीहरू पानीतिर दौडिए, कसैले सेल्फी खिचे, कसैले चुपचाप लहरहरू गने। सूर्य पूर्णतः अस्ताएपछि आकाशमा बाँकी रह्यो हल्का बैजनी उज्यालो र समुद्र अझ गहिरो निलो भयो।
पाँच दिनको बसाइमा हामीले मुम्बईलाई विभिन्न कोणबाट देख्यौं– स्थानीय रेलको भिड, मेट्रोको तीव्र गति, सपिङ मलहरूको चमक, ऐतिहासिक भवन, गगनचुम्बी टावर, साँघुरा गल्ली, चम्किला सडक।
नेपाल फर्किनु अघिल्लो साँझ, मुम्बईको वानखेडे रंगशालामा एउटा कथा अधुरै रोकियो।
स्कोरबोर्डले ४ रनको अन्तर देखाइरहेको थियो, तर नेपाली समर्थकहरूको मनमा त्यो अन्तर केवल अंकको थिएन– त्यो सपना र यथार्थबिचको दुरी थियो।
१७ हजार दर्शकमध्ये अधिकांश नेपाली थिए। निलो जर्सी, झन्डा र हुटिङले वानखेडे केही क्षणका लागि कीर्तिपुरझैं लाग्थ्यो। इंग्ल्यान्डले टस जितेर ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। लक्ष्य १ सय ८५– ठुलो, तर असम्भव होइन।
जवाफमा नेपालले निर्भीक सुरुआत गर्यो। अन्तिम ओभर १० रन आवश्यक थियो। बलिङमा साम करन थिए।
दबाब, धड्कन, प्रार्थना।
ओभर सकिँदा नेपालले ५ रन मात्र जोड्न सक्यो। अन्तिम दुई बलमा ६ रन चाहिएको थियो। पाँचौं बलमा लोकेशले प्रहार गर्दा एक रनको सम्भावना देखियो तर करण केसी भर्खर क्रिजमा आएकाले उनलाई फर्काइयो। अन्तिम बलमा छक्का अनिवार्य भयो। बल आकाशतिर उडेन–सपना पनि त्यहीं कतै रोकियो।
खेल सकियो तर कथा सकिएन।
टेस्ट राष्ट्रविरुद्ध फेरि पनि नेपाल जितको संघारमा पुगेर रोकियो तर त्यो ४ रनको हारले एउटा कुरा प्रमाणित गर्यो– नेपाल अब केवल सहभागी होइन, प्रतिस्पर्धी हो।
वानखेडेको आकाशमुनि नेपाली झन्डा फहराइरहँदा, पराजयको पीडाभन्दा ठुलो थियो सम्भावनाको अनुभूति। सपना अधुरो रह्यो, तर अपूरो होइन। किनकि कहिलेकाहीं हार पनि भविष्यको जितको प्रस्तावना हुन्छ।
हामी, ती पाँच दिनका यात्रुहरू, त्यस विशालताको सानो अंश अनुभव गरेर फर्किंदै थियौं। मनमा समुद्री हावा, आँखामा सूर्यास्त र सम्झनामा मुम्बई थियो।
मुम्बईको जुहूबिचमा देखिएको सुनौलो सूर्यास्त र वानखेडे रंगशालामा अनुभव गरिएको चार रनको पीडा– यी दुवै दृश्य नेपाल फर्किनुअघि मनमा गहिरो छाप बनेर बसे। एकातिर अरब सागरका लहरहरू, नुनिलो हावा र चटपटे भेलपुरीको स्वाद, अर्कातिर विश्वकपको रंगमञ्चमा इंग्ल्यान्डजस्तो टेस्ट राष्ट्रसँग अन्तिम बलसम्म लडेको नेपाली टोली।
पाँच दिनको बसाइमा मुम्बई केवल सहर रहेन -अनुभव बन्यो। स्थानीय रेलको भिड, मेट्रोको वेग, सपिङ मलको चमक, समुद्रको शान्त लय र वानखेडेमा गुन्जिएको ‘नेपाल! नेपाल!’ को हुंकार– यी सबैले एउटै कथालाई फरकफरक रङ दिए।
अन्ततः मुम्बईको यात्रा समुद्र र क्रिकेट दुवैको पाठ बन्यो।
प्रकाशित: २ फाल्गुन २०८२ ११:१२ शनिबार





