१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘च्यातिएको जुत्ता’ लोकार्पण

कथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’ लोकार्पण भएकाे छ।

सिक्किमको राजधानी गान्तोकस्थित नेपाली साहित्य परिषद् भवनमा सिक्किम अकादमीका अध्यक्ष एस.आर. सुब्बाकाे प्रमुख आतिथ्य र विधायक सान्डुप छिरिङ भोटियाको सभाध्यक्षतामा कृतिकाे लाेकार्पण भएकाे हाे।

उक्त अवसरमा गान्तोक जिल्ला अध्यक्ष बलराम अधिकारी, वरिष्ठ साहित्यकार  के.एन. प्रधान, प्रधुम्न श्रेष्ठ, त्रिपुरा खरेल, क्यामुना प्रधान, नीलम न्यौपाने, स्रष्टाकी आमा देउकुमारी अधिकारी, प्राडा टेकबहादुर क्षेत्री, ‘हिमाली बेला दैनिकी’ का प्रधानसम्पादक राजेन्द्र प्रधान लगायतकाे उपस्थिति रहेको थियो।

मनिका शर्माकाे सञ्चालन र अनु राईकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा त्रिपुरा खरेल र क्यामुना प्रधानले कृतिका केही लघुकथा वाचेका थिए।

त्यस्तै प्राडा टेकबहादुर क्षेत्रीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। ‘च्यातिएको जुत्ता’ ले ग्रामीण यथार्थ र मानवीय संवेदनाको गहिरो दस्तावेज प्रस्तुत गरेको उनले टिप्पणी गरे।

समालोचकहरूको भनाइमा ‘च्यातिएको जुत्ता’ ग्रामीण जीवनका संघर्ष, गरिबी, श्रम र स्वाभिमानको जीवित चित्र हो। स्रष्टाले आफ्नै अनुभव र समाजको भोगाइ कलात्मक ढङ्गमा प्रस्तुत गर्दै साहित्यमा नयाँ चेतना भरेका छन्। शहरको चमकपछाडि हराउँदै गएको गाउँको अस्तित्व र मान्छेको आत्मसम्मानको संघर्ष यस कृतिको केन्द्रविन्दु बनेको छ।

प्रमुख अतिथि एस.आर.सुब्बाले च्यातिएको जुत्ता नेपाली साहित्यमा कोशेढुङ्गा सावित हुन सक्ने बताए। यसले गाउँको माटो, पसिनाको गन्ध र आम मानिसको कथा बोकेको भन्दै सर्जक अधिकारीलाई बधाई ज्ञापन गरेका थिए।

सभाध्यक्ष सान्डुप छिरिङ भोटियाले पनि लेखकको सिर्जनात्मक यात्राकाे प्रशंसा गर्दै साहित्यिक कर्मलाई समाज परिवर्तनको सबल माध्यमका रूपमा चित्रित गरे।

सञ्चारकर्मी विष्णु न्यौपानेले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

प्रकाशित: २९ आश्विन २०८२ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App