सन् २०२५ बुधबारसँगै समाप्त हुने चरणमा पुगेको छ। यो वर्ष बलिउडका कैयौँ चलचित्र भारतसहित विभिन्न मुलुकमा प्रदर्शनमा आए। केही चलचित्रले कथावस्तु र प्रस्तुतिका कारण दर्शकको मन जिते भने केही उत्कृष्ट कथा हुँदाहुँदै पनि दर्शकलाई हलसम्म तान्न सकेनन्।
यस वर्ष २०२५ मा प्रदर्शन भएका चलचित्रहरूमध्ये केहीले भने व्यापारिक रूपमा उल्लेखनीय सफलता हासिल गर्दै भारत मात्र नभई विश्वव्यापी रूपमा प्रशंसा कमाए। आज हामी २०२५ मा सबैभन्दा बढी व्यापार गर्ने पाँच बलिउड चलचित्रबारे चर्चा गर्दैछौँ। यीमध्ये एउटा चलचित्र अनेकौँ विवाद पार गर्दै पनि वर्षकै सर्वाधिक कमाउने चलचित्र बन्न सफल भयो।
धुरन्धर
रणवीर सिंह र अक्षय खन्नाको मुख्य भूमिका रहेको एक्सन चलचित्र ‘धुरन्धर’ २०२५ को सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको छ। आदित्य धरको निर्देशनमा बनेको यस चलचित्रले अभिनेत्री कलाकार उमेर विवाद तथा कन्नड समुदायको देवीमाथि ठट्टा गरिएको आरोपलगायतका विवादहरू बेहोर्नुपरेको थियो।
विवादका बाबजुद चलचित्रले विश्वव्यापी रूपमा एक हजार एक सय करोड भारतीय रुपैयाँको व्यापार गर्यो। सिनेपा बक्स अफिसका अनुसार ‘धुरन्धर’ले नेपालमा मात्र ८ करोड ९९ लाख ९३ हजार २८८ रुपैयाँको व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको छ।
कान्तारा: च्याप्टर १
कन्नड भाषाको चलचित्र ‘कान्तारा: च्याप्टर १’ दैविक शक्तिमा आधारित कथावस्तुका कारण दर्शकको रोजाइमा पर्न सफल भयो। ऋषभ शेट्टीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा उनको अभिनयले पनि व्यापक चर्चा कमायो। सशक्त संवाद र प्रस्तुति शैलीकै कारण चलचित्र २०२५ को सर्वाधिक कमाउने सूचीमा दोस्रो स्थानमा रहन सफल भयो।
चलचित्र विकास बोर्डका अनुसार ‘कान्तारा: च्याप्टर १’ले नेपालमा मात्र १२ करोड ३६ लाख ६१ हजार रुपैयाँको व्यापार गर्यो। अक्टोबर २ मा विश्वव्यापी प्रदर्शनमा आएको चलचित्रले विश्वभर ८ सय ५० करोड भारतीय रुपैयाँको कमाइ गरेको छ।
छावा
विक्की कौशल र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको चलचित्र ‘छावा’ फेब्रुअरी १४ मा वर्षको सुरुवातमै प्रदर्शनमा आएको थियो। सांभाजी महाराजको जीवनमा आधारित यस चलचित्रले भावनात्मक कथावस्तुका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पायो।
भारतसँगै विभिन्न मुलुकमा प्रदर्शन गरिएको ‘छावा’ले विश्वव्यापी रूपमा ७ सय ९७ करोड भारतीय रुपैयाँको व्यापार गर्न सफल भयो।
सैयारा
आहान पाण्डे र अनीत पाण्डेको मुख्य भूमिकामा रहेको प्रेमकथामा आधारित चलचित्र ‘सैयारा’ यशराज फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। युवा पुस्तालाई लक्षित गरेर बनाइएको चलचित्रले सामाजिक सञ्जालमार्फत बलियो फ्यान फलोइङ निर्माण गर्न सफल भयो।
चलचित्र विकास बोर्डका अनुसार ‘सैयारा’ले नेपालमा मात्र १० करोड २० लाख २८ हजार रुपैयाँको व्यापार गर्यो। मोहित सुरीको निर्देशनमा बनेको यस चलचित्रले भारतसहित अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो नाम र दाम कमाउँदै विश्वव्यापी रूपमा ५ सय ७९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
कुली
सर्वाधिक व्यापार गर्ने सूचीको पाँचौँ स्थानमा दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र ‘कुली’ रहेको छ। साउन ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र लोकेश कंगनराजको निर्देशनमा बनेको हो। यो चलचित्र आयान मुखर्जी निर्देशित ‘वार २’ सँगै एकै समयमा प्रदर्शनमा आएको थियो।
ग्याङ्गस्टर एक्सन ड्रामा विधामा बनेको ‘कुली’मा रजनीकान्तसँगै नागार्जुन अक्किनेनी, सौबिन शाहिर, उपेन्द्र, श्रुति हासन, सत्यराज, रचिता राम, आमिर खान र पूजा हेगडे विशेष भूमिकामा देखिएका छन्। चलचित्रले विश्वव्यापी रूपमा ५ सय १८ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
प्रकाशित: १६ पुस २०८२ १९:४५ बुधबार





