धेरैपछि नेपाली चलचित्रले दर्शकलाई आफ्नै संसारमा लगेको छ। सधैं मलाई लाग्थ्यो -चलचित्रमा जीवन -आवरणको कथा होइन, जीवन-आत्माको खोजी हुनुपर्छ। चलचित्रको आख्यानले जीवनप्रेम र आत्मसन्तुष्टिको भित्री कथा अभिव्यक्त गर्नुपर्छ।
यही मंगलबार नेपाली चलचित्र ‘परान’ हेर्ने मौका पाएँ। ‘परान’ हेर्दै गर्दा लाग्यो – समाजको सपनाभित्र डर अनि भविष्यको त्रासभित्र चाहना छ, अपराध र पश्चातापको गहिरो संयुक्त यात्रा हुँदै छ।
चलचित्र उद्योग पछिल्लो समय नयाँ प्रयोग, नयाँ विचार र नयाँ पुस्ताको कथा खोज्ने यात्रामा बढिरहेको छ। यही प्रयोगको उदाहरण बनेर ‘परान’ आएको छ। ‘परान’ ले युवापुस्ताको मनोविज्ञान, प्रेम, सङ्घर्ष र जीवनको गहिरो स्थान प्रस्तुत गरेको छ। निर्देशकले यस चलचित्रमार्फत समाजको बदलिँदो मूल्य–मान्यता, युवा तथा परिपक्व व्यक्तिको आत्मपहिचानको खोजीलाई कलात्मक ढङ्गमा चित्रण गरेका छन्।
‘परान’मा तीन पात्र वरिपरि घुमेका देखिन्छन् - मित्रता, प्रेम र जिम्मेवारी। जुन आजको समाजको यथार्थ हो। यो यथार्थ प्रस्तुतीकरण आत्मस्पर्शी बनेको छ। चलचित्रभित्र केही मर्मस्पर्शी भाष्य छन् - ‘जीवन बाँच्नका लागि सास होइन, साथ चाहिन्छ’, ‘सासले होइन, साथले चल्ने हो जीवन’, ‘पहिला पहिला बाआमा मरेपछि छोराछोरी असहाय टुहुरा हुन्थे। अहिले छोराछोरी बढेपछि बाआमा असहाय टुहुरा हुन्छन्’, ‘जंगलको शेर सहरमा रमाउँदैन’। यस्ता अभिव्यक्ति पात्रबाट प्रस्फुटन हुँदा मन भित्रैदेखि द्रवित हुन्छ।
पुस्तौं पुस्ताबाट आइरहेको घरको जिम्मेवारी आजको दिनसम्म सम्हाल्दै छोराछोरीसम्म हस्तान्तरण गर्ने एउटा बुबाको सोचले यथार्थ प्राप्त गर्न नसकेको सन्दर्भ चलचित्रमा आएको छ। यहाँ बुबाको सोच सोचमै सीमित भएको मात्र देखाइएको छैन, उहाँको अन्तर्द्वन्द्व साँच्चिकै मर्मस्पर्शी तवरले देखाइएको छ।

नेपाली समाजको पारिवारिक कथा ‘परान’ले बुढेसकालमा आफ्नो सन्तानको सामीप्य खोजी गरिरहेको एक बुबाको पीडा देखाएको छ। अहिले नेपालका गाउँघर रित्तै छन्। गाउँ खुम्चिँदै छन्, सहर मौलाउँदै छन्। बुबाआमाले मायाको भुटुनमा पकाएको भातको स्वाद, अगेनाको छेउमा बसेर गरिने पारिवारिक गफ अहिले लोप हुने क्रममा छन्। समाजले आफ्नो नाभीमा रहेको कस्तुरी बिर्सेको छ। वृद्धाश्रम जस्तै बनेका छन् गाउँघर। आफ्नो भविष्य खोज्न बुढाबुढीलाई एक्लै छोडेर नयाँ पुस्ता परदेश लागेको छ। यही प्रतिस्पर्धामा पारिवारिक प्रेमबाट टाढिएको हाम्रो समाजको यथार्थ ‘परान’मा देखाइएको छ।
कसैले आफ्नो योग्यताबमोजिम काम नपाएका, कोही बाध्यतामा बिदेसिएका, कोही सङ्घर्ष तथा समाजका नचाहिने प्रतिस्पर्धामा लागेका देखिन्छन्। सिनेमाले बुढेसकालमा बाबुआमाले सन्तानको साथ चाहने र सन्तानले आफ्नै बाटो रोज्दा आउने परिस्थिति देखाएको छ। एउटा बुबाले जुन सन्तान आफ्नै भूमिमा बसोस् भनेर भरमग्दुर प्रयाससाथ आफ्ना छोराबुहारीको सपना यहीं पूरा गर्ने, परिवारअगाडि बढाउन नातिको कल्पनामा कोक्रो अनि पेटीभोटो बनाएको सन्दर्भ मर्म बोकेर चलचित्रमा आएको छ।

जिम्मेवारी, आस्था, निष्ठा अनि आफ्नो परिवार अगाडि बढाउने सपना। नेपालको परिवेशमा गाउँघरमा अग्रभूमिका खेलिरहेका व्यक्तिले पाउने सम्मान, समाजबाट उमेर पुगेसकेपछि छरछिमेकीले दिएको सच्चा साथ। ‘परान’ चलचित्रले आखिर समाज, परिवार सासले होइन, साथले चल्छ भन्ने प्रमाणित गरेको छ।
यस चलचित्रको छायाङ्कनमा पनि उत्तिकै मिहिनेत गरिएको महसुस हुन्छ। निर्देशकको भूमिका, उत्तिकै जीवन्त पात्रहरू पूजा चन्द, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, अञ्जना बराइलीको कलाकारिता लोभलाग्दो छ। आर्यदीपको भूमिकामा नीर शाहको प्रस्ट कलाकारिता प्रशंसायोग्य छ। शाहले निर्वाह गरेको बुबा धर्मनाथजीको भूमिका सराहनीय छ। हाँसो–पीडा दुवै अवस्थामा निर्वाह गरेको भूमिका, सुखदुःखमा प्रदान गरेको अभिभावकत्व, कर्मप्रति आत्मविश्वास, देशप्रेम तथ समाज जोड्ने प्रतिबद्धता, शाहको अभिनयमा यी भाव उज्यालिएको पाइन्छ।

यस चलचित्रमा शाहले प्रस्तुत गर्नुभएको अभिनय क्षमताले उहाँमा कलाकारिताको अभिभावकीय ओज छ भन्ने स्पष्ट हुन्छ। जसरी भारतीय चलचित्र उद्योगमा अभिताभ बच्चनको नाम सम्मानसाथ लिइन्छ, त्यही उचाइमा रहेका नेपाली कलाकार नीर शाह हुन् भन्ने प्रमाण उनको ‘परान’को अभिभावकीय भूमिकाले प्रदान गर्छ। मेरो मूल्याङ्कनमा यस चलचित्रलाई ‘ग्रेड ए’ दिन्छु भने नीर शाह र कथालेखकलाई ‘ग्रेड ए प्लस अर्थात् शत प्रतिशत’ दिन्छु।
समग्रमा आधुनिक समाजमा छटपटिएका परिवारका पीडा र द्वन्द्वले भरिपूर्ण चलचित्र ‘परान’ हेरिरहँदा हल पूरै रोएको आवाज आइरहेको थियो। लाग्थ्यो, कतै ठुलो घटना घटिरहेको छ। के बच्चा, के युवा, के वृद्ध, ‘परान’ हेरिरहँदा सबैले आफ्नो परिवारमा घटेको यथार्थ घटना सम्झिरहेका थिए।

यसरी भन्नुपर्दा कुनै सामान्य प्रेमकथा होइन यो, आत्माको खोज हो। यसले जीवनप्रेम र आत्मसन्तुष्टिको अर्थ बुझ्न प्रेरित गर्छ। पर्दा बन्द भए पनि कथा सकिँदैन, बरु दर्शकको मनभित्र नयाँ प्रश्न सुरु हुन्छ - के मेरो परान मभित्रै छ? त्यही प्रश्न, मौनता र अनुभव परानको सबैभन्दा ठुलो सफलता हो। परान साच्चिकै परान!
प्रकाशित: २२ कार्तिक २०८२ ०६:१९ शनिबार





