२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

तिहार: मानव र प्रकृतिको आत्मीय सम्बन्ध

संस्मरण

म बाल्यवस्थामा नै घर छोडेर पढ्नका लागि कोशौं टाढा गएँ। चार दिदी र तीन भाइले एकैसाथ भाइ टिका लगाउने अवसर कहिल्यै जुरेन। अब त झन् कुरै भएन। जेठी देवी दिदी र जेठा दाजु गुणराजको स्वर्गारोहण भइसकेको छ। माइली भगवती हर्कपुर, साइँली इन्दिरा धरान र कान्छी गीता गाइघाट बस्नुहुन्छ अहिले। भाइ पर्शुराम र म पनि आआफ्नै धुन र कर्ममा व्यस्त छौ।

आशा गरौं-भोलिका दिनमा हामी जुट्न सक्छौं छरिएर बसेका चेली र माइती। दिदीहरू र हाम्रो उमेर पचास काटिसक्यो, छिप्पिंदै छ अझै तर आशावादी त हुनु नै छ- जसरी “अँध्यारो रातपछि उज्यालो आउँछ” भन्ने विश्वास छ त्यसैगरी हाम्रो सम्बन्ध र भेटघाट पनि वर्षौंपछि हुँदा अझ भावनात्मक र खुशीयालीपूर्ण हुनेछ।

सानोमा गाउँघरमा साथीहरूसँग देउसेभैलो खेल्दा, सेलरोटी बाँडेर खाँदा माया साट्दै उठेका हाँसो र खुसीका ती पलहरू आज पनि आँखामा फनफनी नाचिरहेका छन्। तिहारमा सेलरोटी, अर्सा र अनर्सा खान पाउँदा मन फुरुङ्ङ हुन्थ्यो।

आमाले पकाएर दिएको सेलरोटी, अर्सा र अनर्सा धेरै मिठो लाग्थ्यो। मखमली र सयपत्री फूलको रंगीन वातावरणले आँगन र टोल नै उज्यालो बनाउँथ्यो। सानै छँदा आठ- दश जना मिलेर ढुंगे पर्शुराम (बुढो प्रधान) को घरमा देउसी खेल्दा राम्रो भट्याएको भन्दै पाँच रूपैयाँ बक्सिस पाएका थियौं। गोपाल आचार्य, रमेश आचार्य, नेत्र ढकाल, राम कोइराला, भालु विश्वकर्मा, ज्ञानबहादुर विश्वकर्मा, मेघराज भट्टराई, पर्शुराम राई, रत्नबहादुर प्रधान र म मिलेर खेल्थ्यौं प्रायः देउसी।

मन मिल्ने साथीहरूसँगको समूह थियो हाम्रो। देउसी भट्याउने सधैं गोपाल दाइ र म। दुई दिन खेल्दा तेह्रतेह्र रूपैयाँ जस्तो पर्थ्यो भागमा। द्यौसीमा पाएको सेलरोटी र अनर्सा खान्थ्यौं खुशी हुँदै। दान पाएको चामल र करेला पनि बाँडीबाँडी घर लैजान्थ्यौं। “झिलिमिली झिलिमिली द्यौसिरे, केको झिलिमिली द्यौसिरे, फूलको झिलिमिली…” रातोमाटो - द्यौसिरे, चिप्लोबाटो ...” दश भाइ जम्मा - द्यौसिरे, केराको थम्वा...! आदि यस्तै द्यौसी भाका भट्याएर गाउँभर रमाउँथ्यौं।

राई दाजुभाइले मादल र मुरलीको सुरिलो भाकामा लोकनृत्य देखाउँदा झन् रमाइलो लाग्थ्यो। घरमास्तिरका सेते काकाले मादल बजाउँदा जुरुक्क उठेर नाचौंनाचौं लाग्थ्यो। मेरो जेठो दाजु त मुरली र मादलको भाकामा खुबै नाच्नुहुन्थ्यो। आहा! ती जमानाका कुरा आज पनि हृदयकाे गल्छेडामा ताजै छन्।

यति रमाइलाे तिहारको ऐतिहासिक र सांस्कृतिक महत्त्व छ। सनातन धर्ममा इन्द्र र यमदेवको पूजा तथा किरात परम्परामा प्रकृतिप्रतिको पुकारले सामाजिक, कृषि र प्राकृतिक सन्तुलन कायम राख्ने विश्वास पाइन्छ।

वर्षौंपछि जब मैले आफ्नै बाल्यकाल सम्झिएँ, दिदीभाइ र दाजुबहिनीको भेट, गाउँको रीतिरिवाज र प्राकृतिक मनोरमसँगको तालमेलले जीवनमा गहिरो अर्थ राख्दछ भन्ने अनुभूति भयो। तिहार कात्तिकको कृष्णपक्षबाट आरम्भ हुन्छ। यसले अन्धकारमाथि प्रकाशको विजय, धर्म, कर्म र सामाजिक मेलमिलापको सन्देश दिन्छ।

‘जहाँ प्रकृतिसँग मेल खान सकिंदैन, त्यहाँ जीवन अधुरो हुन्छ’ किरात दर्शनले तिहारलाई यस्तै दृष्टिले अर्थ्याउँछ। तिहारका प्रत्येक दिनको आफ्नै महत्त्व छ। पहिलो दिन काग पूजा - शुभ समाचार ल्याउने पक्षी। म बाल्यकालमा कागको आवाज सुन्दा मौसमको संकेत बुझ्ने गर्थें। हजुरआमाले भन्नुहुन्थ्यो, “काग करायो भने केही नौलो समाचार आउँछ।”

दोस्रो दिन कुकुर पूजा - इमानदारीता, निष्ठा र सुरक्षाको प्रतीक। तेस्रो दिन विहान गाईको पूजा, साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना। गाईलाई आमा सरह सम्मान गर्ने चलन छ। गाईको दूध पोसिलो, घ्यू स्वास्थ्यवर्द्धक र गोबरले घर पवित्र हुन्छ भन्ने विश्वास छ।

चौथो दिन गोवर्द्धनस्वरूप गोरुको पूजा गरिन्छ भने गाेरुलाई “अन्नदाता” मानिन्छ। बुवाले भन्नुहुन्थ्यो, “गाई छ भने जीवन छ, गोरु छ भने खेत छ।”

यसरी कागदेखि गोरुसम्म पूजा गर्नु नेपाली संस्कृतिमा जीवजन्तु, प्रकृति र मानवको गहिरो सम्बन्धको प्रतीक हो। कागले सूचना ल्याउँछ, कुकुरले सुरक्षा गर्छ, गाई-गोरुले जीवन चलाउँछन्। यस्ता व्यवहारिक शिक्षाहरू हाम्रो मौलिक संस्कृतिको मेरुदण्ड हुन्।

तिहारको अन्तिम दिन दिदीभाइको मिलनको दिन हो। दिदीको हातबाट भाइटिका लगाउँदा अतीतका सम्झनाहरू जीवन्त हुन्छन्। चेलीले “सधैं उज्यालो रहोस् तिम्रो जीवन” भन्दै ओखर फुटाउनुहुन्छ। पानीले माइती छेक्दै निधारमा टिका र केशमा तोरीको तेल लगाइदिनुहुन्छ। त्यो प्रेम र आशीर्वादको अमूल्य सत् प्रेम हो। अपनत्व र भावनात्मक सम्बन्ध चीरस्थायी बनाइरहने संस्कृति हो।

विमिरो, दुबो, सयपत्री जस्ता बोटबिरुवा पूज्ने परम्परा प्रकृतिको सम्मानको प्रतीक हो। सायद यस्तो संस्कृति संसारमै दुर्लभ छ। सांस्कृतिक दृष्टिले तिहार मानव, प्रकृति र ईश्वरको सम्बन्ध उजागर गर्ने पर्व हो। सेतो -रातो माटो र गोबरले लिप्ने चलन सजावट मात्र होइन, घरमतानको शुद्धता र संरक्षणको प्रतीक पनि हो। दुवो, फूल र माटोको दियोले “प्रकृतिसँग मेल राख नत्र जीवन अधुरो हुन्छ” भन्ने भाव उजागर गर्ने मौलिक संस्कृति पनि हो।

बाल्यकालमा तोरीको तेलले माटोको दियो बालेर आँगन, गाईगोरुको गोठ, कुकुरको खोर आदि उज्यालो बनाउनु भनेको सबैको ध्यान नराखे व्यवहारिक जीवन चल्दैन भन्ने शिक्षा हो। प्रकृति र संस्कृतिको समिश्रण पनि हो तर आजभोलि प्लास्टिकका बत्ती, आयातित फूल र भड्किलो पटाकाले प्राकृतिक सुन्दरतामा खलल पारेका छन्। चराचुरूंगी र जीवजन्तु त्रसित बनेका छन्। यस्ता गतिविधिले वातावरणीय क्षति बढ्दैछ।

भविष्यमा “हामीले प्रकृति बुझेनौं भने हाम्रा पर्वहरू हराउँदै जाने छन्।”

हामीले नै प्राकृतिक सम्पदा थिलथिलो बनाउने छौं। माटोको दियो, प्राकृतिक फूल र तोरीको तेलको उज्यालो हराउँदै गएको छ। यसले हाम्रो मौलिकता र वातावरणीय चेतना मेटाउँदैछ। दिदीभाइको भेट, करुणा र प्रेमले मात्र नभई तिहारको आत्मा जोगिएको छ। जहाँ प्रेम र सद्भाव छ, त्यहाँको चाड सधैं खुशीयाली पूर्ण र उज्यालो हुनेछन्।

तिहार चाड मात्र होइन, हाम्रो सांस्कृतिक धरोहर पनि हो। प्रकृतिप्रतिको सम्मान र पारिवारिक सम्बन्धको प्रतीक पनि हो। कागदेखि गाईसम्मको पूजा, माटोको दियो, फूल र भाइटिकाले जीवनलाई बहुआयामिक अर्थ दिन्छ।

तिहारले सिकाउँछ - जीवनका मूल्य, जिम्मेवारी, प्रकृतिप्रतिको आदर र सामाजिक चेतनाको अभिवृद्धि। पचास काटेको यो उमेरमा मैले बाल्यकाल सम्झिंदै तिहारको माध्ययमबाट मानव र प्रकृतिको सम्बन्ध अझ नजिकबाट नियाल्ने प्रयास गरेको छु। आउनुस्, हातेमालो गरौं संस्कृति, सभ्यता र वातावरण जोगाउन। सुधार अरूबाट होइन आफैंबाट शुरू गरौं। उपदेश होइन व्यवहारमा लागु गरौं। यो वर्ष आमाको स्वर्गारोहण भएकाले आफूले तिहार नमनाए पनि विगतको तिहार सम्झिएर संस्मरण लेख्दै आनन्दको अनुभूति गर्दै छु।

(स्रष्टा भट्टराई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।)

प्रकाशित: ४ कार्तिक २०८२ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App