८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

ठूलोबाको कन्तुर

कथा

आज ठूलोबाको घरमा के भएछ हो कुन्नि, ल्याण्डलाइन टेलिफोन मात्रै नभएर सबैका मोवाइल पनि अफ छन्? भोलि तराई जानु छ, आज त सम्पर्क गर्नैपर्छ जसरी पनि। अब घरैमा गएर भेट्नु पर्यो भन्दै विहानै मण्डिखाटारस्थित ठूलोबाको घरको गेट ढकढक्याउन पुगेथेँ।

निकैबेर घण्टी बजाएपछि एउटा टाउकोले कौसीबाट थोरै मात्र मुखाकृति देखाएर मलाई चिहायो। त्यो टाउको कसको हो भन्ने ठम्याउन सकिनँ मैले। जसले भए पनि देखेपछि गेट खुल्नेमा चाहिँ ढुक्क थिएँ।

ठूलोबा ‘ए तँ पो आएको! पख है त, म साँचो खोल्छु’ भन्दै दायाँबायाँ आँखा चनाखो पार्दै गेट खोल्न आउनु भयो।

म भित्र छिर्नासाथै हत्तपत्त गेटमा साँचो लगाइहाल्नुभो। मैले भने– ‘आ, ठूलोबा अब त छक्काल भइसक्यो, किन साँचो लगाउनु पर्यो र। फेरि म पनि धेरैबेर कहाँ बस्छु र । गइहाल्ने हो नि।’

ठूलोबाको अनुहारमा हेरेँ -ओठ कल्याँटी परेका थिए। आँखा राता र चिम्रा थिए। शरीर थरथर काँपिरहेको थियो। उहाँको त्रासद शरीरको अवस्थाले गर्दा मैले अनुमान लगाएँ कि आज राति पक्कै पनि चोरी–डकैती लागेको हुनुपर्छ। तर फेरि आफैंले आफ्नो अनुमानलाई तत्कालै काटेँ– त्यसो भए त झन् हल्लीखल्ली भइहाल्थ्यो नि। पुलिस हुन्थे, समाचारमा आउँथ्यो अथवा यस्तो भयो भनेर खबर पनि त हुनुपर्ने हो नि आफन्तहरुलाई।

ठूलोबा केही बोलिरहनुभएको थिएन। अघिपछि उति हिँड्न नसक्ने ठूलोबा ‘ल छिटो माथि आइहाल’ भनेर तीन तल्लाको भर्याङमा हस्याङफस्याङ गर्दै चढ्नुभयो।

ठूलोबाको घरमा पक्कै पनि ठूलै विपत्तिले प्रवेश गरेको छ भन्ने अनुमान त भयो तर यकिन हुनलाई त माथि पुगेर हेरेपछि अथवा उहाँले भनेपछि नै थाहा हुने हो। बूढोमान्छे त्यसरी स्याँस्याँ गर्दै भर्‍याङमा कुदेपछि मैले विस्तारै हिँड्नुको अर्थ उहाँको साथमा साथ नदिएको लाग्न सक्थ्यो। सँगसँगै दौडिएँ म पनि बैठक कोठातिर। तीन तल्ला माथिको बैठक कोठामा प्रवेश गरेपछि ठूलोबा थ्याच्च सोफामा बस्नुभयो। ठूलीआमा, दाइ, भाउजू, भतिजाभतिजी कसैको पनि अनुहार उज्यालो थिएन। परिवारका सबै सदस्य घरमै छन्। कोही विरामी पनि होइन। कोही, केही बोल्न सक्ने अवस्थामा पनि छैनन्। केटाकेटी त आफ्नै तालमा भइहाले। भर्खर ओछ्यानबाट उठेर हाई काढ्दै थिए तर ठूला जतिको चाहिँ लगभग एकैखालको हविगत थियो। आँखामा अनिद्रा, मनमा त्रास र शरीरमा नैराश्यपूर्णभाव।

म परिस्थितिको आकलन गर्दै थिएँ। अवश्य पनि ठूलै विपद्ले यस घरमा प्रवेश पाएको छ। एकाविहानैको घरको अवस्था यस्तो हुनु भनेको केही न केही नराम्रो भएकै हुनु हो। सोच्दै थिएँ -कुरा कताबाट शुरु गरेर यथार्थ जानकारी लिउँ?

कसैले तलको गेटमा अघि मैले जसरी नै सङ्केत गर्यो। ‘उ आयो, लौ अबचाहिँ उही आएको हो!’ ठूलोबा रातोपिरो देखिनुभयो। दाइको अनुहार पनि सोहोरिएर कुचुक्क पर्यो। ठूलीआमा र भाउजू त झन् नारी मनका न परे– रुन पो थालिहाले।

आफ्नो घरको गेटमा कोही आएको सङ्केत गर्दा पनि हतियार लिएर डाँकाहरू आएजस्तो आतङ्कित हुनुले मलाई पनि नआएकै भए पो हुन्थ्यो कि? यो विहानै आएर विपत्तिमै फेला पर्न लेखेको रहेछ कि के हो जस्तो हुनथाल्यो।

बरण्डामा गएर गेटमा हेर्न साहस कसैको भइरहेको थिएन। ठूलोबाले ‘नानी, तँ हेर त यसो चिहाएर’ भन्नु भएकोलेमैले उहाँले भने जसरी नै चिहाएँ। दूधको क्यान बिसाएर दूधवाला हतारो भएको सङ्केतमा माथितिर हेरिरहेको थियो। मैले भित्र गएर भाउजूलाई भनेँ - दूधवाला आएको रहेछ भाउजू। मैँ थापेर ल्याइदिऊँ कि?

भाउजूले ‘ए भइहाल्छ नि’ भनेर भाँडो दिनुभयो। जानै लाग्दा ठूलोबा र दाजुले एकैस्वरमा भन्नुभयो -‘साँचो यहीँ छ, खोलेर दूध थापेपछि साँचो लगाएर ल्याउनु है। ’

मैले भने जसरी नै गरिदिएँ।

उहाँहरू यस्तो त्रासद वातावरणमा हुनुहुन्छ। म पनि त आफ्नै मान्छे हुँ नि। परेको बेलामा मेरो सानै सहयोगको पनि मूल्य हुन सक्छ। आखिर जे भएको हो, त्यो त भइसक्यो र हुने सम्भावना छ भने त्यसलाई टार्न पनि त सकिन्छ नि। ठूलोबाको छेउमै गएर नम्रभावमा प्रस्तुत भएँ - “ठूलोबा, किन सबैजना यस्तो त्रसित र थकित अवस्थामा हुनुहुन्छ? रातभर निद्रा नपरेको जस्तो देखिन्छ आँखा र अनुहारबाट। हेर्छु घरका सबै जना यहीँ हुनुहुन्छ। कतै नाता–कुटुम्बमा पो केही भयो कि?

ठूलोबाले मेरो मुखमा पुलुक्क हेर्नुभयो। उहाँको मुखबाट निस्किने शब्दको प्रतीक्षामा म टुलुटुलु भएँ। उहाँले दाजुको मुखमा हेर्नुभयो। ठूलीआमा र भाउजू भान्सातिर लाग्नुभएको थियो।

ठूलोबा मतिर फर्किनु भो र मैलाई पो प्रश्न सोध्नु भयो– ‘तैँले अख्तियारले राजस्वका कर्मचारीको घरघरमा अस्ति राति छापा मारेको थाहा पाइनस्?’

मैले थाहा पाएको भावमा मुन्टो हल्लाएँ। फेरि उहाँले भन्नुभयो, “तेरो दाजु पनि त राजस्वकै कर्मचारी हो नि। गर्नु बिराउनु केही छैन। विचराहरूलाई मध्यरातमा घर खानतलासी गर्दै गिरफ्तार गरेर त्यस्तो बिजोग बनाएको छ। के टुङ्गो, आजै यहाँ आउने पो हुन् कि? भोलि पो आउने हुन् कि भइरहेछ। अनि तैँ भन् त हामीलाई कस्तो भएको होला?’’

मैले यो घटना थाहा नपाउने त कुरै थिएन। उमानाथ त मेरै छिमेकी हुन् नि। अस्ति राति म कार्यालयबाट आउँदै गर्दा अख्तियारका कर्मचारी र प्रहरीहरु उनको घरैभरि थिए।

एकै रात दुई दर्जनभन्दा बढी राजस्व सेवाका कर्मचारीहरुको घरमा अख्तियारले छापा मारेपछि कर्मचारीतन्त्रमा ठूलै हल्लीखल्ली मच्चिएथ्यो। घरमा धेरथोर कालोधनको जोहो गरेकाहरुको रातको नीँद र दिनको भोक एकाएक हराएको थियो। बाहिरबाट हेरेर भित्रको चुरोको के भेउ पाउनु? लुगाकपडा पनि सरदर कर्मचारीका भन्दा सामान्य लगाएका छन्। घरका बाहिरी भित्ताहरु पहाडको पहरोमा बर्खाको लेउ लागेर कालो भएजस्तै देखिन्छन्। देशमा यीभन्दा ठूला भ्रष्टाचारीहरु नै कति होलान् कति, विचरा यी कर्मचारीहरु मात्रै किन अख्तियारको आँखामा कसिङ्गरझैँ भए? मैले त यिनीहरुलाई भन्दा पनि यीभन्दा माथिकालाई हेरेर यिनीहरुलाई विचारा नै भनेको हुँ।

यो विषयले राष्ट्रिय बहसको रूप लिइरहेको थियो। मेरा छिमेकी मित्र पनि दुई दर्जनभित्र परेको जानकारी त मैले मध्यरातमै पाइसकेको थिएँ। दैनिक पत्रिकाको आफ्नो ड्युटी सकेर घर फर्किँदा उमानाथको घरअगाडि प्रहरीको भ्यान र अर्को सरकारी गाडी रोकिरहेका थिए। अचम्म मान्दै मैले त्यहीँ तैनाथ प्रहरीलाई सोधेथेँ वास्तविकता जान्ने अभिप्रायले। उसले त केही भनेन। यत्ति मात्र भनेथ्यो, ‘खै हजुर हामीलाई त केही थाहा छैन। भित्र सावहरू जानुभएको छ। मलाई बाहिरको ड्युटिमा खटाइएको हो, बरु यहाँ बस्नुभन्दा आफ्नो बाटो लागिदिनुभयो भने मेरो मात्र नभएर तपाईँको पनि हितमा छ।’

कुरो बुझिसकेपछि किन पो बस्नु। विचरा उमानाथ त सोझो र मिलनसार नै हुन् तर श्रीमतीचाहिँ टिमुर्किन बाँकी नरहेकी नै हुन् नि। सोझो भनेर पनि नहुने रहेछ, औँलो बाङ्गो नपरी त घ्यू कसरी आउँथ्यो। सोझो औँलाले हर्पेको घ्यू आउने भए उखानै किन बन्थ्यो त– ‘सोझो औँलाले घ्यू आउँदैन’ भनेर। मित्रले औँलो बाङ्गो पारेको परिणाम मध्यरातमा हुण्डरी बनेर घरमा प्रवेश गरेको थियो। दलबलले मित्रलाई पनि साथै लिएर गएपछि श्रीमतीजीको रुवाबासी प्रारम्भ भएको थियो।

घरको कम्पाउण्ड जोडिएको परिणाम मैले पहिलेबाटै भोगिरहेको थिए। पहिले उनकी श्रीमतीको तुजुकका कारण मेरी श्रीमतीले हैरान पारेकी थिइन्। अब उनको रुवाबासी सुनेर पनि छिमेकीको हैसियतले कुनै सहयोग पुर्याउन सक्ने हैसियतमा म थिइनँ। भित्रभित्रै त म पनि केही सकारात्मक नै थिएँ। यो त प्रारम्भ हो, यसलाई भ्रष्टाचार विरुद्धको कारबाहीको  अभियानकै रुपमा अघि बढाउनु पर्छ अब। अख्तियारले खुट्टा कमाउनु हुँदैन।

मैले एकाएक धेरै आफन्त सम्झिएँ। त्यही समूहमा आफ्नै बहिने ज्वाइँ पनि थिए। उनलाई  आफू करतिर परेकोमा अलिक खिन्न अनुभव पनि भएथ्यो तर त्यतिबेला भनसुन गरिदिने पहुँचवालाले भनेथे– ‘दिगो र टिकाउ त भन्सारभन्दा कर नै हो। भन्सारमा हुनेहरूमाथि सबैका आँखा पर्छन्, करमा चुपचाप आइरहन्छ। यो कहिल्यै मर्दैन, ढुक्क भए हुन्छ।’

वास्तवमा ठिकै भनेका रहेछन्, नत्र त उनी पनि एउटै घानमा हुने रहेछन् यतिबेला। भन्सारको संसार र करको करकरमा फरक नै हुने रहेछ। अर्कालाई पर्दा खुच्चिङ भन्ने र काखी बजाउने, त्यही समस्या आफूलाई पर्दाचाहिँ रुवावासी गर्ने हाम्रो संस्कार नै भइसकेको छ। लाइन मिलुन्जेल तलदेखि माथिसम्म भागशान्ति हुन्छ, जब कुरा र लाइन मिल्दैन, तब यस्ता घटनाहरू हुने गर्छन्। खरिदार, सुब्बा, शाखा अधिकृत, यी त विचराहरू हुन् नि। पिउनदेखि सचिव, मन्त्री, नेता, पार्टी, सबैलाई भाग पुर्याएर आफूलाई जोगाउने हो। कारबाही नै गर्ने हो भने उनीहरूदेखि माथिसम्मैका सबैलाई गर्नुपर्छ।  

केही नेता अकुत सम्पत्तिमा पर्नुमा पनि अचम्मै भएको हो। श्रोत नखुलेकालाई श्रोत खुलाउन जस्तोसुकै विधि अपनाउँदा पनि पार नलागेर मात्र जेल परेका थिए। आँपको बगैँचाको आम्दानी उल्लेख गर्दा– उक्त जग्गामा धान लगाएको र धानको विक्रीबाट आएको रुपैयाँ, आँप विक्रीबाट आएको रुपैयाँ, आँपका रुखहरू काटेर बेचेवापत प्राप्त रुपैयाँ, त्यसै जमिनमा भुँइकटहर लगाएर विक्रीबाट प्राप्त रुपैयाँ, माछा पोखरीबाट माछा विक्री गरेर प्राप्त आम्दानी लगायतका श्रोतहरु खुलाएर आम्दानी जोड्दा पनि श्रोत नपुगेपछि जेल पर्नुपरेको यथार्थलाई उनीहरू अझै आफूमाथि षडयन्त्र रचिएको, प्रतिशोध साँधिएको, राजनीतिक पुर्वाग्रह राखिएको जस्ता कुराहरू ओकलिरहेका छन् भने यी त वर्षौ दुःख गरेका कर्मचारीहरू हुन्। नेताहरुले जस्तो वर्ष, दुई वर्षमा थुपारेका हुन् र! सहानुभूति राख्ने नै हो भने यसरी पनि राख्न सकिन्थ्यो तर सहानुभूति राख्नै पर्छ भन्ने जरुरत होइन र पुर्वाग्रही बन्नुपर्ने कारण पनि छैन । यति मात्रै हो कि, आफन्तहरु त्रसित भएको चाहिँ नरमाइलो लाग्दोरहेछ।

कुरा र कारण बुझिसकेपछि ज्यादा खोतल्नु उपयुक्त थिएन। ठूलोबालाई यत्ति मात्र भनेँ– “आ ठूलोबा, केही पनि हुँदैन। हाम्रो दाइले त्यतिसारो के नै गर्नुभएको छ र डराउनुपर्ने? अख्तियारले पनि छानवीन नगरी त्यत्तिकै हचुवाको भरमा राजस्वको कर्मचारी भन्नेबित्तिकै त कसरी छापा मार्छ र। बेकारमा यसरी डराएर रातरातभर नसुतेर हुन्छ। भोलि विरामी परियो भने कुन हालत हुन्छ? ढुक्क भएर बस्नुपर्छ। गर्नु न बिराउनु, किन डराउनु? छापै मारे पनि के नै हुन्छ त? मान्छेलाई मार्न पाइदैन। सम्पतिको त छानवीन गरिहाल्छ नि। के हामी पुुख्र्यौली सम्पति नभएर, खानै नपाउने वर्गबाट आएका पनि त होइनौँ नि ।” ठूलोबा र दाइको चित्त बुझाउन ठूलै प्रयत्न गरेथेँ।

‘के गर्नु त, तैँले र मैले भनेर भएन। रीस गर्नेहरुमा आफ्नै पनि छन्,’ ठूलोबाले भन्नुभयो। अन्य कुरा गर्ने अवस्था नभएपछि विदा भएर हिँडे म।

उहाँहरुलाई वनको बाघले भन्दा पनि मनको बाघले नै खाइरहेको थियो। दिनभर आफ्नै लन्ठामा समय बित्यो। एक दिन बेलुकी खानपिन गरेर सुत्नै लागेका थियौँ, फोनको घन्टी बज्यो। नम्बर हेरेको त ठूलोबाको मोवाइलको पो रहेछ। ‘हेलो ठूलोबा’ भन्नासाथ उहाँले ‘तल आएर ढोका खोल त, हामी आएका छौँ’ भन्नुभयो । छक्क पर्दै ढोका खोल्न दौडिएँ। ठूलोबा र दाजु हुनुहुँदोरहछ। एउटा कन्तुर पनि थियो त्यहाँ। ट्याक्सीमा ल्याउनुभएको रहेछ र ट्याक्सी फिर्किसकेको थियो।

‘त्यो के हो त ठूलोबा ? के ल्याएको मकहाँ ?’ छक्क पर्दै सोधेँ। ‘चुप लाग, माथि नै गएर भनौँला’ भन्नुभयो । दाजु र मैले निक्कै बलैले कन्तुर माथिसम्म ल्यायौँ। ठूलोबा पनि एकहातले भर दिँदै आउनुभयो।

माथि आएर बिसाएपछि खत्रक्क परेर दाइ र म बस्यौँ। ठूलोबाले भन्नुभयो– ‘लौ नानि यति कन्तुरलाई जतनसाथ राखिदिएस्। कथमकदाचित घरमा छापा मारिहाल्यो भने त सर्वस्व नै जान्छ। तैँले थाहा पाइहालिस्, दुई रात भो झिपिक्क नगरेको। खाटमुनि घुसारिदिएस्, त्यति धेरै ठाउँ पनि लिदैन। यसका बारेमा कसैलाई पनि केही कुरा नचुहाएस् है।’

दाजुको अनुहार हेरेँ। निन्याउरो थियो । आफैँले कमाएको धनले यसरी भतभती पोलेपछि त्यस्तो धनको के अर्थ ! नहुनेलाई एकै पीर, हुनेलाई दशथरि पीर। ठूलोबालाई हुन्छ ठूलोबा, के फरक पर्छ र । यो पनि त आफ्नै घर हो नि। म राखिदिइहाल्छु नि भनेँ । यहीँ सुतौँ अब यो राति किन जानु त ट्याक्सीमा दोब्वर भाडा तिरेर भन्दै निक्कै जोड गरेँ तर मान्नु भएन र हिँड्नु भयो।

ठूलोबाको कन्तुर राखेदेखि मलाई पनि त्यसैत्यसै डर लाग्न पो थालेको छ। आफूहरू नभएको बेला चोरी लाग्यो भने के गर्ने? यहाँ ल्याएको कसैले सुराकी त गरेका छैनन्? ‘अर्काको नासो गलाको पासो’ भन्छन्। सधैँभरि घरमै बसिरहने कुरा पनि भएन। श्रीमतीजी पनि अफिस गइहाल्छिन्। अर्काको गुठुरी राखेर आफूहरू किन तोलातोला घट्नु? किन हुँदैन, राख्दिन भनेनौँ? श्रीमतीजी त उहाँहरू हिँड्नासाथै पड्किन थालिथिन्। वास्तवमा उनी सही नै थिइन् र म उपायविहीन थिएँ।

के होला यसमा, केके राख्दा यति गह्रौँ हुँदोरहेछ? छक्क पर्थेँ म। दुई वर्षभन्दा बढी रह्यो मकहाँ ठूलोबाको कन्तुर र एकसाँझ उसैगरी नै ठूलोबा र दाजु आएर जसरी ल्याएको हो, उसैगरी लिएर जानुभयो। एकपटक खोलेर देखाइदिएको भए पनि हुन्थ्यो ठूलोबाले जस्तो लागेको थियो, भन्नु कसरी? जे सुकैहोस् अर्काको सम्पति। बल्ल पिलो निचोरेजस्तो सञ्च भयो। ‘अर्काको सुन लगाई कान दुखाउनु’ भन्थे, हो रहेछ।

श्रीमतीले पनि लामो श्वास तान्दै भनिन्, ‘बल्ल ढुक्क भयो । आइन्दा कसैको पनि यस्तो चिज जिम्मा लिने काम नगर्नुस्। बेकारको टेन्सन। केही भइगो भने अवगालको गुण।’

उनी सोह्रैआना सही थिइन् र म पनि चेपोमा परेको थिएँ। उहाँहरू पनि बेकारमा डराउनुभएको थियो। खै त, अहिलेसम्म केही गरेको छैन त यतिका वर्ष भइसको। यो अख्तियार भन्ने निकाय पनि खै के भन्ने ? राजनीतिक पार्टीहरूको स्वार्थ अनुकूल पदाधिकारीहरू नियुक्त हुन्छन्। राजनीतिक अस्थिरता भएपछि कुन क्षेत्रले पो सक्रियता देखाएको छ र। संविधानसभा त चारचार वर्षसम्म केही नगरी विघटन हुने मुलुकमा अरू के पो हुन्छ भन्ने आशा गर्नु? जनताको र देशको हितमा त के काम नै भएको छ र। यतिका वर्षसम्म प्रमुख आयुक्त र आयुक्तविहीन भएका संवैधानिक निकायहरूमा भागवण्डा नमिलेर नियुक्ति हुन नसकिरहेको अवस्थामा ठूलै हल्लीखल्ली र विरोध हुँदाहुँदै पनि केही निकायमा नियुक्ति गरिएपछि ती निकायहरू सक्रिय भएका छन्। त्यत्रो विरोध हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रस्टाचारमै मुछिएका व्यक्तिलाई दलीय भागवण्डामा प्रमुखमा नियुक्त गरिएथ्यो। चर्चा पाउनलाई उति ठूलो काम गर्नै पर्दैन, दुईचार जनालाई अनुसन्धानको दायरामा ल्याउँदा मात्रै पनि चर्चा भइहाल्छ। कतिसम्म भने– पत्रिकाले लेखिदिएका भरमा मात्रै पनि कर्मचारीहरूका घरमा छापा मारिएका छन्। म पनि पत्रकार हुँ तर म किन लेखौँ कर्मचारीहरूलाई भ्रष्टाचारी भनेर? मैले आफ्नै ठूलोबाको परिवारको सन्त्रासको नजिकबाट अनुभव गरेको छु। त्यस्तो भयभित भएर पनि मान्छे जिइरहन सक्छ! आफ्नो छवि सुधार्ने अभियानमा कतिका छवि बिगार्ने हुन् कुन्नि।

दशैँ आउनै लागेको छ। आफ्नो पत्रिकालाई शुभकामना विज्ञापन जुटाउन सके र पाँचसात लेख दैनिक पत्रिकाहरूमा प्रकाशित गर्न सके आफ्नो पनि दशैँ चल्ने थियो। लेख्ने मुड बनाएर वेलैमा अफिसबाट आएर कम्प्युटरमा बसेको थिएँ। भर्खरै गेट बन्द गरेर आएथेँ, कसैले खटखटाएको आवाज आयो। श्रीमतीजीलाई गएर हेर्न भनेँ र आफू वरण्डामै उभिएर हेरेँ। अँध्यारो थियो, गेटको बत्ती बिग्रिएको पनि बनाउनै पाएको छैन। उनी लाइट बालेर गेटतिर गइन्। मैले माथिबाटै को हो भनेर खै गरेँ। कुनै आवाज आएन। उनले ढोका खोलेर हेरिन्। दुई मानव आकृति माथिबाट देखिए पनि मैले ठम्याउन सकिनँ। उनी ढोका खोलेर फर्किन् र ती दुई जना चाहिँ कुनै कालो बस्तु बोकेर भित्र छिर्दै थिए।

उनी हतारिदै माथि आइन् र मलाई भनिन्– छिटो तल जानुअरे, ठूलोबा र दाजुले भन्नुभएको। बाक्सा पहिलेको भन्दा निक्कै गह्रौँ छ अरे।

(कथाकार काेइरालाकाे  न्यूराेडका झाँकीकथासंग्रहमा सङ्गृहीत। )

प्रकाशित: ७ चैत्र २०८२ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App