२ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्!

मुक्तक

१) मुक्तक

चिसो रातमा बोरा ओढेँ तातो घाममा कम्बल बोकँ

साहु रिझाउन कलम छोडी हातमा हम्मरझम्पल बोकेँ

गरिबी र अभावसित सङ्घर्ष भो धेरै मेरो

नाङ्गो ढाडमा भारी बोक्दा हातमा थोत्रा चप्पल बोकेँ।

२) मुक्तक

भाँचिएको ओदानको खुट्टो फेर्न सकिएन

नाङ्गिएको आङमा पनि चिथ्रा बेर्न सकिएन

अभाव अनि कर्तव्य त फरकफरक हुने रैछन्

आफ्नै मन र पेटको पनि आदेश टेर्न सकिएन।

३) मुक्तक

आफ्नाहरू तल छोडी जब माथि गए

सुख लगे दुख छोडे दुखै साथी भए

उज्यालो त आफ्ना साथमा हुँदा मात्रै रैछ

विपत्तिमा दिनरात दुवै राति भए।

४) मुक्तक

कोही बने नयाँ दल खोलेर नेता

कोही बने ओजस्वी बोलेर नेता

अनेक छन् प्रक्रिया बनिने अहिले

कोही बने धरोहर पोलेर नेता।

५) मुक्तक

आपदबिपद् परेपछि खराब पनि जाती हुन्छ  

क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ

सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्  

विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।

प्रकाशित: २ श्रावण २०८३ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App