भारतीय चलचित्र जगतमा कीर्तिमान रच्न सफल एसएस राजामौली निर्देशित ब्लकबस्टर चलचित्र ‘बाहुबली’ फ्रेन्चाइजले अब एनिमेसनको दुनियाँमा नयाँ अध्याय सुरु गरेको छ।
‘बाहुबलीः द इटर्नल वार’ नामक एनिमेटेड चलचित्रको पहिलो भागको टिजर सार्वजनिक भएसँगै यसले विश्वभरका प्रशंसकहरूमाझ पुनः उत्साह जगाएको हो।
सार्वजनिक टिजरमा मुख्य पात्र अमरेन्द्र बाहुबलीलाई एक अलौकिक, शक्तिशाली र भव्य अवतारमा देखाइएको छ। चलचित्रको कथा अमरेन्द्र बाहुबलीको मृत्युपछि सुरु हुने सङ्केत टिजरले दिएको छ।
दुई भागमा आउने ‘एनिमेटेड महागाथा’
‘बाहुबलीः द इटर्नल वार’ दुई भागमा निर्माण हुने बताइएको छ। चलचित्रको निर्देशन इशान शुक्लाले गरेका छन्।
चलचित्रका प्रस्तुतकर्ता ‘बाहुबली’ का निर्माता एसएस राजामौली स्वयं हुन् भने शोबु यार्लागड्डा र प्रसाद देविनेनीले यसलाई निर्माण गरेका छन्। चलचित्रको मौलिक सङ्गीत एमएम कीरावाणीले दिएका छन्। उनैले बाहुबलीका दुवै चलचित्रमा सङ्गीत दिएका थिए।
राजामौलीले सामाजिक सञ्जालमा टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘अमरेंद्र बाहुबलीको मृत्यु उनको अन्त्य थिएन। यो अनन्त केहिको सुरुवात थियो।’
हालै एक अन्तर्वार्तामा राजामौली, प्रभास र राणा दग्गुबातीले यस एनिमेटेड चलचित्रको बजेट १२० करोड भारतीय रुपैयाँ रहेको बताएका थिए।
‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ को अपार सफलतापछि हालै दुवै चलचित्रको सारलाई समेटेर ‘बाहुबलीः द एपिक’ प्रदर्शन गरिएको थियो। यो चलचिल हाल नेपाली सिनेमा घरहरुमा पनि प्रदर्शन भइरहेको छ।
प्रकाशित: १९ कार्तिक २०८२ १५:१६ बुधबार





