२८ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

बाँकी कामको आकाश

निबन्ध

जिन्दगीका पाटाहरू पल्टाउँदै जाँदा लाग्छ– हामी सबै एउटा यस्तो यात्री हौं, जो हातमा अधुरा सपनाको सूची बोकेर अनन्त यात्रामा निस्किएका छौं। बिहानको सूर्योदयसँगै सुरु हुने हाम्रा पाइला बेलुकीको शून्यतासम्म आइपुग्दा पनि थकित हुँदैनन्, किनकि अगाडि बाँकी कामहरूको एउटा विशाल आकाश फैलिएको हुन्छ। त्यो आकाश, जसको न कुनै सुरु छ, न कुनै अन्त्य। केवल सधैं बाँकी, सधैं ‘थाँती’, सधैं भोलिलाई ‘बाँकी’!

मानिसको स्वभाव नै कस्तो अनौठो छ ! हामी जे पाउँछौं, त्यसमा चित्त बुझाएर बस्नै सक्दैनौं। जुन काम सकिन्छ, त्यो इतिहास बन्छ तर जुन काम बाँकी रहन्छ, त्यसले हाम्रो वर्तमान र भविष्यलाई डोर्‍याइरहन्छ। एउटा विद्यार्थीका लागि पढ्न बाँकी किताब, एउटा लेखकका लागि कोर्न बाँकी पाना, एउटा प्रेमीका लागि भन्न बाँकी भावना र एउटा किसानका लागि बगाउन बाँकी परिश्रमको पसिना! यी सबै त्यही बाँकी कामकै रूपहरू हुन्।

वास्तवमा हामीले सोचेका सबै कुराहरू पूरा नहुनु नै जिन्दगी सुन्दर हुनुको प्रमाण हो। सबै कुरा सकिन्थ्यो भने यात्राको रोमाञ्चक पक्ष र बाँच्ने भोक पनि त्यहीं सकिने थियो। सन्तुष्टि र खुसी खोज्नु पनि यही बाँकी कुराले हो।

यो ‘बाँकी’ भन्ने शब्द आफैंमा कति भारी र कति भावनात्मक छ। कहिलेकाहीं मध्यरातमा झ्यालको पर्दा पन्छाएर आकाशतिर हेर्दा लाग्छ, ती अनगन्ती ताराहरू अरू केही होइनन्, हाम्रै मनभित्रका अधुरा इच्छाहरू हुन् जो तृप्त हुन नपाएर उज्यालो खोजिरहेका छन्। हामी सधैं हतारमा छौं। फुर्सदलाई लत्याएर बेफुर्सदमा भागदौड गरिरहेका छौं। ‘यो काम सकौं अनि आराम गरौंला’ भन्दाभन्दै कतिपय रातहरू अनिदोमै बित्छन्। वास्तविकता के हो भने यो संसारमा काम कहिल्यै सकिँदैन। काम सकिनु भनेको त गति रोकिनु हो। गति रोकिनु भनेको जीवनको अन्त्य हुनु हो।

त्यसैले बाँकी कामहरूको यो आकाश बोझ होइन, एउटा गन्तव्य हो। यसले हामीलाई भोलिको दिन देख्ने बहाना दिन्छ। भोलि बिहान उठेर केही गर्नु छ भन्ने आशाले नै मानिसलाई निराशाको अन्धकारबाट बाहिर निकाल्छ, उत्साहित पारिरहन्छ, मनलाई जगाइरहन्छ, आशाको भावना जागृत पारिरहन्छ।

जीवनको अनन्त यात्रामा हिँड्दाहिँड्दै हामीले कतिपय कुराहरू पछाडि छोड्दै जान्छौं। जस्तै समयको, अधुरा सम्बन्धहरू, आफ्नै खोज आदि। खासमा अरूका कामहरू पूरा गर्दागर्दै कतिपय अवस्थामा हामीले आफूलाई नै समय दिन बाँकी राखिरहेका हुन्छौं। यो यात्रा कहिल्यै नटुंगिने यात्रा हो। हामी यो धर्तीबाट बिदा भएर जाँदा पनि हाम्रा कतिपय सपना र कामहरू यहीं बाँकी रहने छन्। सायद हाम्रा पछिल्ला पुस्ताले तिनै बाँकी कामहरूको आकाशमुनि आफ्नो नयाँ यात्रा सुरु गर्नेछन्।

बाँकी कामहरूको आकाश जति विशाल छ, हाम्रो जिन्दगीको यो अनन्त यात्रा त्यति नै विशाल र अर्थपूर्ण छ। यद्यपि अधुरा कामहरूलाई तनावको रूपमा होइन, जिन्दगीको ऊर्जाका रूपमा लिनुपर्छ। जबसम्म आकाशमा ताराहरू बाँकी रहन्छन्, तबसम्म रातको सौन्दर्य रहिरहन्छ। जबसम्म जीवनमा कामहरू बाँकी रहन्छन्, तबसम्म जिन्दगीको यात्रा चलिरहन्छ। त्यसैले, यो अनन्त यात्राको प्रत्येक पाइलालाई उत्सव बनाउँदै अघि बढ्नु नै जीवनको वास्तविक दर्शन हो भन्ने मेरो मान्यता छ।

ओहो ! यो जीवन कति विशाल छ र यो विशालताभित्र कति धेरै कुराहरू अझै बाँकी नै छन्। कति कुरा बोल्नै बाँकी छ, भन्नै बाँकी छ र यो सेतो कागजको छातीमा शब्दका रङहरूद्वारा आकार उतार्नै बाँकी छ। अझै कति कुराहरू सुन्नै बाँकी छ, बुझ्नै बाँकी छ र अक्षरहरूको संसारभित्र पसेर पढ्नै बाँकी छ। सृष्टिका कति सुन्दर ठाउँहरू आँखाले हेर्नै बाँकी छ, कति दृश्यहरू देख्नै बाँकी छ र कति नचिनिएका गन्तव्यहरूमा पैतालाका डोबहरू पुर्‍याउनै बाँकी छ। जे जति देखियो, त्यो त एउटा सानो थोपा मात्र हो, अनुभूतिका सिंगो महासागरहरू त अझै बाँकी नै छन्। धेरै कुरा बाँकी नै छ। ती बाँकी रहेका विम्बबारे लेख्न अझै धेरै बाँकी नै छ।

ऐजन, ऐजनका कामहरू... ! ती थाँती रहेका, समयको ओझेलमा परेका र अधुरा छोडिएका कामहरू कहिले पूरा होलान् ? म आफैंलाई प्रश्न गर्छु। जब यी बाँकी रहेका कामहरू पूरा भएको त्यो सुनौलो दिन आउनेछ, तब यो क्षितिज कस्तो देखिँदो हो ? मन कति खुसीले चिच्याउँदो होला ? हृदय कति बैंसालु हर्षले उद्वेलित हुँदो होला ? त्यो पलको कल्पनाले मात्र पनि छातीभित्र एउटा छुट्टै ऊर्जाको सञ्चार हुन्छ। सायद, गर्मीको धुपमा वर्षाको शीतल आनन्द मिलेझैं मिल्ला।

जीवन आखिर अधुरा सपना र पूरा नभएका कामहरूको एउटा लामो लस्कर नै त हो। तर त्यो अधुरोपनभित्रै पूर्णताको खोजी गर्नु नै जिन्दगीको असली सौन्दर्य हो।

कहिलेकाहीं म सोच्छु र पुराना स्मृतिहरूलाई सम्झन्छु। एकैछिन बाहिरी कोलाहलबाट टाढा भागेर आफैंभित्र पस्छु, आफ्नै अन्तःस्करणलाई छाम्छु, छुन्छु र चुपचाप नियालेर हेर्छु। बाहिरका दृश्यहरू त क्षणभङ्गुर रहेछन् तर भित्र गुम्सिएका ती अदृश्य स्मृति–विम्बका तरंगहरू कति शक्तिशाली ! तिनै तरंगहरूमा सवार भएर म यो सानो धर्ती छोडी अनन्त आकाश–गंगामा फड्को मार्न थाल्छु। ताराहरूबिच हराउँछु, जूनको शून्यतामा पग्लिन्छु र अन्तरिक्षको गहिराइमा पुगेर आफ्नै अस्तित्व खोज्न थाल्छु।

त्यतिबेला त्यो आकाश–गंगाको उचाइमा पुगेपछि मलाई अचानक एउटा कुरा बोध हुन्छ– मेरा बाँकी रहेका तमाम कामहरू पूरा गर्नलाई मैले अब अलमलिनुहुँदैन। मैले अब पलेटी कसेर बस्नुपर्छ। एकाग्र भएर, टुप्पी बाँधेर साधनामा जुट्नुपर्छ। सिर्जनाको साधना, कर्मको साधना र जीवनलाई पूर्णता दिने साधना!

अधुरा कामहरूलाई यसै छोड्नु भनेको आफ्नै यात्रालाई बिचबाटोमै अलपत्र पार्नु पनि हो। बाँकी कामहरूलाई सधैंका लागि बाँकी नै राखिराख्नुहुन्न। अल्छीपन र बहानाबाजीको कुहिरोलाई चिरेर अगाडि बढ्नुपर्छ किनकि संघर्षको बगर हिँडेर जब ती बाँकी काम पूरा हुन्छन्, तब पाइने खुसी र सन्तुष्टिको पल कम आनन्ददायक हुँदैन। त्यो आनन्द, त्यो आत्मिक शान्ति नै यो धर्तीको सबैभन्दा ठुलो अमूल्य सम्पत्ति हो।

हो, अझै धेरै लेख्नु छ, धेरै हिँड्नु छ। बाँकी रहेका ती तमाम कामको भारीलाई थाँती राखेर होइन, तिनलाई पूर्णताको मन्दिरसम्म पु¥याएर मात्र अब यो मनले विश्राम लिनेछ। यात्रा अझै जारी छ किनकि धेरै कुरा अझै बाँकी नै छ। ‘अड्को फड्को तेलको धुप’ भनेजस्तै समयलाई फारो गरी बचाएर बाँकी काम पूरा गर्ने संकल्प नै धेरै ठुलो काम हुन्छ।

यसरी हेर्दा बाँकी रहेका बग्रेल्ती कामहरू अरू केही नभएर मेरै जीवनका जीवन्त प्रतिविम्बहरू हुन्। मेरा सपना, मेरा संघर्ष र मेरा भोगाइहरू यिनै अधुरा कामको ऐनामा झल्किरहेका छन्। त्यसैले तिनलाई पूरा गरेरै छाड्नु अब मेरो परम कर्तव्य बनेको छ। म आफ्नो यो सिर्जनात्मक र जीवन–दायित्वको कर्तव्यबाट कदापि पनि टाढिन सक्दिनँ र टाढिने छैन पनि।

अगाडि गर्नुपर्ने कामहरूको स्पष्ट खाका मेरो मानसपटलमा तयार छँदै छ। जीवनको यो लामो गोरेटोमा भेट्नुपर्ने आदरणीय व्यक्तित्वहरू, आत्मीय मित्रहरू र अग्रजहरूको सूची निकै लामै छ। पैतालाले पुग्नुपर्ने, नियाल्नुपर्ने गन्तव्यको मुकाम अझै टाढा छ, जहाँ प्रकृतिका ‘कुमारी दृश्य’हरू मलाई पर्खिरहेका छन्। अक्षरहरूको महासागरभित्र पसेर पढ्नुपर्ने ज्ञानका अनमोल किताबहरूको चाङ अझै धेरै छ। यो खुला संसारमा देख्नुपर्ने, अनुभूत गर्नुपर्ने सौन्दर्यको विराट विम्ब आँखाको परेलीमा नाचिरहेको छ।

लेख्नुपर्ने विषय, भावनाका थुँगा र यात्राका संस्मरणहरूको सूची पनि निकै लामो छ। ती तमाम अधुरा सपना र बाँकी रहेका बग्रेल्ती कामहरूलाई पूर्णताको मन्दिरसम्म पु¥याउनका लागि अब मेरो दृढ तन्मय, मेरो अटुट एकाग्रपन र मेरो साधनाको उत्कर्ष नितान्त आवश्यक भइसकेको छ।

म अब अलमलिने छैन किनकि बाँकी रहेका यी प्रत्येक कामहरू पूरा भएको दिन नै मेरो जीवनको वास्तविक उत्सव हुने छ। यही संकल्पसाथ म आफ्नो साधनाको फड्को मार्दै अगाडि बढ्छु, जहाँ क्षितिजले मलाई नयाँ बिहानीको संकेत गरिरहेछ। बाँकी कामहरूको आँधीबेहरी आकाशतिर प्रस्थान हुने निम्तो दिइरहेको छ।

प्रकाशित: २७ असार २०८३ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App