‘लालिमा’ फिल्मको दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ। तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ।
करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरू सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन्।
समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ। कलाकार शिशिर वाङ्देल र सविन कट्टेललाई पनि टिजरमा अटाएका छन्।
यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो। टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ।
यी दृश्यले उनको चरित्रको उत्तारचढावमार्फत तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ।
फागुन २९ बाट प्रदर्शनमा आउने ‘लालिमा’ फिल्मको लेखक र निर्देशक रोशन मिराज हुन्।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ।
प्रकाशित: ११ फाल्गुन २०८२ १२:३२ सोमबार





