४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘बखान’ उपन्यास: चितवनको इतिहास र बखानसिंहको जीवन्त कथा

पत्रकार बसन्त पराजुलीले लेखेको उपन्यास ‘बखान’को कार्यक्रममा विमोचन गरिएको छ। उपन्यासको मुख्य पात्र बखानसिंह गुरुङले स्थापना गरेको बखान बहुउद्देश्यीय सहकारी संस्थामा यो विमोचन भएको हो।  

बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले आइतबार उपन्यासको विमोचन गरिन्। देशको पहिलो सहकारी स्थापना गरेका राजनीतिक र सामाजिक व्यक्तित्व बखानसिंह गुरुङलाई मुख्य पात्र बनाइएको यो उपन्यास महत्वपूर्ण रहेको उनले बताइन्। 

यसले सहकारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पराजुलीले लेखेको उपन्यासले बखानसिंह गुरुङको योगदानलाई इतिहासमा जीवन्त बनाएको बताए। उनले भने, ‘ओझेलमा परेका एक महत्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गरेका छन्।’  

विसं २०३९ मा कानुन तथा न्याय र भूमिसुधारमन्त्री बनेका बखानसिंह गुरुङका दुई छोरा सहिद भएका छन्। सो अवसरमा गुरुङका नाति चन्द्रध्वज गुरुङले बखानसिंहको राजनीतिक यात्रा र परिवारले भोगेका पीडाबारे बोलेका थिए। संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरुङ, बखान सहकारीले सञ्चालित सङ्ग्रहालयका संयोजक सोम भण्डारी, सहकारीका सञ्चालक रामशरण गैरे लगायतले पराजुलीले गरेको कामको आभार प्रकट गरे।  

पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा आधारित र काल्पनिक रंग लगाइएको कृति भएको बताए। उनको भनाइअनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पक्षलाई समेटेर लेखिएको यो पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसले विसं २००७ देखि २०१० सम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताए।  

बखान पुस्तकको मुख्य पात्र बखानसिंह गुरुङ हुन्, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धा हुन्। बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई छोरा र घर गुमाएको मार्मिक कथा यसमा समेटिएको छ। यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पक्षलाई जोडेर चितवनको एक महत्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको उनले बताए।  

पराजुलीका यसअघि कुमाता, मोम्चो र ड्रिमी आइज कृति प्रकाशित भइसकेका छन्। उनी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष पनि हुन्। रासस

प्रकाशित: ९ भाद्र २०८२ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App