आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो। आजको एउटा विमर्शमा प्रश्न उठ्यो– किन लेख्ने? विषयको चयन कसरी गर्ने? साहित्य लेखेर के हुन्छ? अध्ययनका रूप फेरिएपछि अडियो बुक्स र डिजिटल युगमा किताब कसले पढ्छ? अब त हरेक लेखन एआईले तयार गरिदिन्छ भन्ने चर्चा चले। यी जिज्ञासाबाट तर्किन सकिँदैनथ्यो। तब मेरो मानसपटलमा आजको डिग्रीधारी, सुविधाभोगी र प्रविधिको दास बनेको आधुनिक मान्छेको अनुहार प्रस्ट झल्कियो। यी तमाम प्रश्नको उत्तर खोज्दै गर्दा आजको बौद्धिक जगत्, सत्ताको चाटुकारिता र सिर्जनशील लेखनले भोगिरहेको विडम्बनापूर्ण यथार्थलाई केलाउनु अनिवार्य हुन्छ।
सत्ताको आस र त्रास
साहित्यकार कसरी बन्छ भजनकार? सत्ता र शक्तिसँग एउटा यस्तो अदृश्य जादु हुन्छ, जसले स्वाभिमानी साहित्यकारलाई रातारात ‘भजनकार’मा फेरिदिन्छ। सत्ताले एकातिर पद, पुरस्कार, मानसम्मान र राजकीय अनुकम्पाको आस देखाउँछ भने अर्कातिर सामाजिक बहिष्कार, राज्यको वक्रदृष्टि र जेल यातनाको त्रास पैदा गर्छ। यस्तै आस र त्रासमा जेलिएको लेखक जब चौबाटोमा उभिन्छ– ‘के लेख्ने? कसरी लेख्ने? कुन विषय चयन गर्ने?’ तब उसको अन्तरआत्माबाट होइन, मालिकको दरबारबाट हुकुम आउँछ– ‘मालिकका हुकुम आया है, चोरोंका जयजयकार करो!’
अनि सुरु हुन्छ चाटुकारिताको लेखन। सत्ताको भजन गाउनु नै उसको धर्म बन्छ। उसको अन्धविश्वास र दम्भ कतिसम्म हुन्छ भने उसले जे लेख्छ, त्यो नै महान् साहित्य हो भन्ने भ्रममा ऊ बाँच्छ। सत्ता समर्थित समालोचकहरूले त्यसलाई ‘सुन्दर र उच्च दर्जा’को तक्मा भिराइदिन्छन् र चाटुकारितामै अभ्यस्त भइसकेका पाठकहरूले पनि त्यसैलाई पढेर पत्याइदिइहाल्छन्’ भन्ने भ्रम लेखकमा जाग्छ। यस्तो नियति देख्दा मलाई महान् रुसी लेखक निकोलाई गोगोल र क्रान्तिकारी चिन्तक अलेक्जेन्डर हर्जेनबिचको ऐतिहासिक विमर्श र वैचारिक टकरावको याद आउँछ।
जीवनको अन्त्यतिर जब गोगोल धार्मिक अन्धता र रुढिवादी सत्ताको प्रभावमा परेर आफ्नै मास्टर पिस ‘डेड सोल्स’को मर्मविपरीत सत्ता र धर्मको पक्षपोषण गर्न थाले, तब हर्जेनजस्ता क्रान्तिकारी चेतना भएका समकालीनहरूले गोगोलको त्यो बौद्धिक पतनमाथि गहिरो शोक र तीव्र असन्तोष व्यक्त गरेका थिए।
प्रखर लेखक मरेर सत्ताको भजनकारमा फेरिएपछि हिजोको विद्रोही कवि आफ्नै ‘नैतिकलास’ बोकेर साच्चैका पाठकका हृदयमा नभई सडकमा हल्लिन थाल्छ। जब ऊ आफ्नै चेतनाको लास काँधमा बोकेर समाजमा देखिएपछि त्यसका वैचारिक दुर्गन्धले सिंगो समाज र संस्कृतिलाई नै दूषित र दुर्गन्धित बनाइदिन्छ।
के हामीले पनि हिजोका महान् कविले आज आफ्नै डुङडुङ्ती गनाइरहेका लास बोक्दै भौतारिरहेको देख्दा हर्जनले जस्तै गहिरो शोक र तीव्र असन्तोष नजनाउने? उफ ! अहिले सडकमा भौतारिएको मान्छे, तिम्रो पृय कवि होइन, उसकै प्रेतछाया मात्रै हो।
किन लेख्ने र विषयको चयन कसरी गर्ने?
आजका कयौं डिग्रीधारी प्रोफेसर, इन्जिनियर, वरिष्ठ पत्रकार वा आइटी विशेषज्ञका जीवनको सबैभन्दा ठुलो विशेषता भनेको हो -दिमाग र विवेक खर्च गर्ने मामिलामा महाकन्जुस हुनु। उनीहरू म जान्ने छु, मलाई छान भनेर चाकरीका दस्ताबेज लेख्दै छन्। आफ्नै मगजको अलिकति पनि प्रयोग नगरीकन जीवन कसरी चलाउने? भन्ने कलामा विद्यावारिधि नै गरेर सर्टिफिकेट चाकरीको दस्ताबेज वा स्वबिक्रीको लालपुर्जा पो बनाउँदै छन्। ऊ आलोचनात्मक चेतले भरिएका पुस्तक देखेर यसरी तर्सिन्छ। विज्ञान पढेको छ तर विज्ञान बुझ्न होइन, कक्षामा उच्च ‘ग्रेड’ ल्याएर राम्रो सर्टिफिकेट भिर्न र बहुराष्ट्रिय कम्पनी वा आइएनजिओमा जागिर पड्काउन मात्र अथवा जान्ने वर्गमा उक्लन। मानव सभ्यताको विकासक्रम र डार्बिनको विकासवादलाई छुन डराउने ऊ ब्रह्माण्डको उत्पत्तिका वैज्ञानिक तथ्यहरूभन्दा पौराणिक मिथकमा अगाध श्रद्धा राख्छ। स्मार्टफोनको स्क्रिनमा देखिने अल्गोरिदमले पस्किएका सस्ता सूचनाहरू नै उसका लागि अन्तिम सत्य हुन्। यस्तो पृष्ठभूमिमा प्रश्न उठ्छ– किन लेख्ने?
प्रतिरोधका लागि लेख्ने: जब समाजमा अन्धविश्वास, जडता, सत्ताको भक्तिगान र आत्मसमर्पणको संस्कृति मौलाउँछ, तब मौनता तोड्न लेख्नुपर्छ।
विवेक रक्षाका लागि लेख्ने: अल्गोरिदम र सत्ताको गुलामी गरिरहेको समाजलाई सत्यको ऐना देखाउन लेख्नुपर्छ।
विषयको चयन: विषय कुनै बाहिरी कृत्रिम बजार वा सत्ताको आदेशले होइन, समाजको पीडा, मान्छेका आन्तरिक छटपटी, सत्ताको दम्भ र मानिसभित्र मौलाउँदै गएको बौद्धिक कायरताबाट चयन हुनुपर्छ।
भिडको महारोगबाट मानवचेत बचाउन लेख्ने: कायरता र निराशाको मास हिस्टेरियाविरुद्ध एक्लै भए पनि कलम समाउनेहरू छन् भन्ने सन्देश दिन पनि लेख्नुपर्छ।
साहित्य लेखेर के हुन्छ?
सेल्फ सेन्सरसिपलाई नै मोक्ष–मार्ग ठान्न थालिएपछि सत्ताको आँखामा आँखा जुधाउनुको सट्टा जुत्ता चाट्ने प्रतिस्पर्धा चलिरहेको बेला हो। साहित्य लेखेर के हुन्छ? भन्ने प्रश्न भाट लेखकहरूले न्यारेटिभ तयार गरेका हुन्। त्यसैले आजको ‘कथित बुद्धिजीवी’ वर्ग भन्छ– ‘म सत्ताको विषयमा चुँसम्म गर्दिनँ। अनुकम्पा, म साँचो र चतुर बुद्धिजीवी हुँ। विवेक समयमै उचित मूल्यमा बेचिसकेको छु।’ तर सच्चा साहित्य यही बजारु अवसरवाद र चाटुकारिताविरुद्धको कठोर प्रहार हो।
साहित्य लेखेर सत्ताका ढोङहरू छर्लङ्गिन्छन्। मान्छेभित्रको डरको पर्दा उघ्रिएपछि दबिएको आवाजले आत्मिक ऊर्जा पाएर कुर्लिन थाल्छ। अन्धविश्वासका पर्खाल ढलेका त हामीले नै देखेका हौं। कोभिड महामारीको त्रासदीमा ठुला–ठुला पण्डित, पादरी र मौलवीहरू पनि विज्ञानकै भेन्टिलेटरमा लाइन लाग्न पुगे। विज्ञानचेतका लेखकहरूले नै लेखे– ढोङ जतिसुकै बलियो भए पनि यथार्थ सधैं नग्न र सत्य हुन्छ भन्ने मान्छेभित्रको मृत विवेकलाई जागृत गराउने काम गर्यो।
अध्ययनका रूप फेरिएपछि
अडियो बुक्स र डिजिटल युगमा किताब कसले पढ्छ? प्रविधिको यो द्रुत गतिमा अडियो बुक्स, किन्डल र डिजिटल मिडियाले पढ्ने शैली फेरिदिए। मान्छेसँग अब मोटो किताब पल्टाउने धैर्य छैन भन्ने भाष्य निर्माण गरियो। तर कुरा माध्यमको होइन, नियत र चेतनाको हो। प्रविधि माध्यम मात्र हो, गन्तव्य होइन। अडियो बुक्सले सुनेर ज्ञान लिने बाटो खोलिदिए पनि त्यसले गहिरो चिन्तन र विमर्शको स्थान लिन सक्दैन।
आज समस्या डिजिटल युग आएकोमा होइन, प्रविधिलाई आफ्नो विवेक बन्धकी राख्ने साधन बनाइएकोमा हो। जबसम्म मानिसमा समाजलाई गहिराइबाट बुझ्ने हुटहुटी बाँकी रहन्छ, तबसम्म माध्यम जुनसुकै भए पनि पठन संस्कृति र चेतना कहिल्यै मर्ने छैन।
मान्छे र मेसिनको बौद्धिक लडाइँ तीव्र भएको छ। आजको सबैभन्दा ठुलो जिज्ञासा हो - ‘जब आर्टिफिसियल इन्टेलिजेन्सले केही सेकेन्डमै उत्कृष्ट लेख, कविता र निबन्ध तयार गरिदिन्छ भने मान्छेले लेख्नुको अर्थ के ? यसको सिधा उत्तर हो - एआईले तथ्यांक, व्याकरण र ढाँचा मिलाउन सक्छ तर उसले पीडा महसुस गर्न सक्दैन। एआईसँग अल्गोरिदम हुन्छ तर आँसु हुँदैन। ऊसँग डेटा हुन्छ तर राज्यको दमनविरुद्धको धड्कन हुँदैन। प्रतिरोधको न भाषा हुन्छ न चेतना वा संवेदना। एआईलाई प्रम्ट कसरी दिनुहुन्छ, दिने त मान्छे नै हुनुपर्यो नि ! आजका धेरैजसो चाटुकार लेखकहरू एआईजस्तै भइसकेका छन्– जसलाई जे अह्राइयो, त्यही बमन गर्छन्, जसले सत्ताको दानापानी पायो, उसैको जयगान गाउँछन्। उनीहरूको आफ्नै मौलिक विवेक मरिसकेको छ।
एआईले त केवल तिनै मृत चेतनाहरूको डिजिटल प्रतिलिपि मात्र तयार गरिदिने हो तर एक सच्चा लेखक एआई जस्तो तटस्थ र विवेकहीन वा सत्ताको भाट हुन सक्दैन। लेखकसँग रगत र पसिनाको गन्ध हुन्छ, जसमा विद्रोही चेतना हुन्छ। एआईले सुविधाभोगी ‘भाट बुद्धिजीवी’ जन्माउन मद्दत गर्ला तर एउटा निर्भीक लेखकको आत्मसम्मान र सत्यप्रतिको निष्ठालाई कहिल्यै प्रतिस्थापन गर्न सक्दैन।
हाम्रो दायित्व र चेतनाको पुनर्जागरण
आजको यो विमर्शले हामीलाई एउटा कठोर सत्यको सामुन्ने उभ्याएको छ। के हामी पनि भोलि भन्न बाध्य हुनेछौं– ‘म बोल्दिनँ, अब त म बोल्दै बोल्दिनँ। मलाई बोल्न डर लाग्छ हजुर! बोलेकै कुरा कुन बेला पासो बन्छ, मलाई नै थाहा छैन। मैले अब शक्तिसामु ‘जीहजुर’ भन्ने निधो गरेँ। ’हामीले सत्ताको डरले, आस वा त्रासको लोभमा वा एआई र प्रविधिको दासतामा आफ्नो विवेक सुम्पियौं भने हामी जीवित भएर पनि आफ्नै लास बोकेर हिँड्ने कायर प्राणी हुनेछौं। त्यसैले किन लेख्ने? भन्ने प्रश्नको एउटै अन्तिम जवाफ हो– कुरूप सत्ताको जयजयकार नगर्न, आफ्नै लास बोकेर समाजलाई दुर्गन्धित हुनबाट जोगाउन, विवेकको हत्या रोक्न र निर्भीकतासाथ सत्यको वकालत गर्नका लागि लेख्नुपर्छ।
प्रकाशित: १४ कार्तिक २०८३ १०:४० शनिबार





