१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

हनुमान चढेकाे मानिस

कथा

‘दाइ पोखरा आएको बेलामा एकपटक डम्बरकाजीलाई भेट्न जाऊँ है,’ भाइले एकाएक उसको आइएस्सी पढ्दाको मिल्ने साथीलाई भेट्न जाने प्रस्ताव राख्यो।  मैले उसलाई राम्रैसँग चिन्थे। ऊ धेरैचोटि  हाम्रोमा आएको थियो।

‘किन? ऊ बिरामी परेको छ र?’ मैले जिज्ञासा राखेँ। ‘हो दाइ, उसलाई थोरै मानसिक समस्या देखिएको रहेछ,’ भाइले दाइ पनि एकपटक भेट्न गइदिए हुन्थ्यो भन्ने आशयका साथ भनेको जस्तो लाग्यो र डम्बरकाजीलाई भेट्न जान तयार भएँ। पोखरामा स्नातक सकेपछि काठमाडौं आएको पनि लामै समय भएको थियो। मैले डम्बरकाजीलाई नभेटेको धेरै नै समय भइसकेको थियो। हुन त आफूसँग प्रमाणपत्र तह र स्नातक तह पढेका साथीहरूलाई समेत भेट्ने अवसर मिल्न सकिरहेको थिएन।

उसको जन्मघर पर्वत भए पनि उसको परिवार पोखराको पस्र्याङमा बसाई सरेर आएका थिए। हामी खानासाना खाएर दिउँसोतिर उसलाई भेट्नको लागि उसको घरमा पुग्यौं। हामी पुग्दा ऊ आफ्नो घरको तेस्रो तलाको बरन्डामा घाम ताप्दै आराम गरिरहेको थियो। सातआठ वर्षपछि भेट्दा पनि उसले राम्रैसँग चिन्यो र दाइ नमस्कार भन्दै दुई हात जोडेर मेरो नजिक आएर मलाई अंकमाल गर्‍यो। मैले त अन्त कतै देखेको भए खासै नचिन्ने रहेछु जस्तो लाग्यो किनकि मैले भेट्दासम्म पातलो शरीरको कालो कालो अनुहारको थियो। अहिले त शरीर भरिएर मोटो मोटो र गहुँगोरो भएको रहेछ। आफ्नो साथीलाई खासै वास्ता नगरी ऊ एकैचोटि मसँग आएर अस्वभाव तरिकाले अंकमाल गरेको हुनाले मलाई अलि अप्ठ्यारो महसुस भएको थियो। मैले सामान्य औपचारिक तरिकाले भाइ के छ? कस्तो छ भनेर प्रश्न गरेँ। उसले एकैचोटि मलाई केही भएको छैन दाइ। सबै कुरा ठिकठाक छ भन्दै मेरो प्रश्न खस्न नपाउँदै तत्कालै उत्तर दियो। मेरो स्वभाव नै छ कसैको आशय बुझिसकेपछि अनावश्यक धेरै प्रश्न गर्न मन लाग्दैन र आफू बोल्नुभन्दा अरुका कुरा सुन्नमा नै रुचि लाग्छ। जो व्यक्तिलाई भेट्दा पनि प्राय सिधै उत्तर नदिई उसले के सुन्न चाहन्छ त्यहीअनुसार उत्तर दिने प्रयास पनि गर्ने गर्छु। यस्तो बानी राम्रो हो कि नराम्रो अहिलेसम्म ठम्याउन भने सकेको छैन। कुनै बेला आफ्नो मनमा लागेका कुरा भन्न नपाई छुट्टिनुपर्ने हुन्छ भने कहिलेकाहीं अरूका कुरा सुन्दा सुन्दै पट्याएर लाग्ने अवस्थाको सिर्जना हुन्छ।

‘दाइ तपाईंको भाइ सुरेन्द्रभन्दा त म धेरै जान्ने मान्छे हुँ नि,’ एकाएक मलाई अँगालो हालिरहेकै अवस्थामा डम्बरकाजीले प्रसंग नै नआएको विषयबारे बतायो। म उसको अँगालोबाट छुट्टिने प्रयास गरिरहेको थिएँ। ऊ मलाई अँगालोमा राख्दै आफ्ना कुराहरू अगाडि बढाइरहेको थियो। मैले उसको अवस्था र मनोभाव बुझेर ‘हो भाइ तिमी नै जान्ने हौ’ भन्दै शान्त तरिकाले मैले मेरो टाउको हल्लाए।

ऊ भन्दै थियो, ‘सुरेन्द्रले कलेज टपे पनि लेख्ने र पढ्ने कुरामा त म धेरै अगाडि छु नि दाइ।’

उसलाई भाग्यले साथ दियो र मलाई भाग्यले साथ नदिएर मात्रै पछाडि परेको हुँ। उसले आइएस्सी र बिएस्सी पढ्दादेखिका धेरै कुरा रेकर्डेट आवाज जस्तै खरर भन्दै गइरहेको थियो। म बेलाबेलामा थोरै मुस्कुराउँदै टाउको हल्लाइरहेको थिएँ। भाइ सुरेन्द्र भने अनौठो मानेर घरी मलाई र घरी डम्बरकाजीलाई हेरिरहेको थियो।  

सुरेन्द्र पनि बेलाबेलामा थप्दै थियो, ‘डम्बर तिमी त पहिलेदेखि नै धेरै चलाख हौ नि। पढ्ने कुरामा त तिमीलाई कसले जित्न सक्थ्यो र?’

डमरकाजी बरन्डाको पूर्वतर्फ आफ्ना पाइला चलाउँदै सुरेन्द्रसँग थोरै रिसाएजस्तो गरेर ‘पढ्ने म, तिमीहरूले मार्गसिटमा धेरै नम्बर पाउने’ भन्दै एकोहोरो आकाशको सूर्यतिर हेरिरहेको थियो। हाम्रा यी संवाद सुनिरहनुभएका डम्बरकाजीका बुबा कुर्सीबाट उठेर छोरालाई ‘खाली आँखाले धेरै सूर्यतिर नहेर बाबु, यता कुर्सीमा आएर बस’ भनेर छोरालाई त्यतापट्टि सार्नुभयो। डम्बर काजीका कुरा सुनिरहँदा लाग्थ्यो, यसले जीवनलाई बहुआयामिक दृष्टिकोणबाट हेर्न सकेनन्। जीवन केवल मार्कसिटमा आएका नम्बरले मात्र चल्ने होइन। जीवनको यात्रामा सप्तरंगी रंगहरू छन्। ती रंगहरूलाई समय, परिस्थिति र अवस्थाअनुसार प्रयोग गर्न वा चलाउन सकियो भने जीवन रंगीन बन्छ। ती सबै रङहरूलाई एकै ठाउँमा घोलेर अझ बढी एकैचोटि सुन्दर बनाउँछु भन्न थालियो भने जीवन अझ बढी कालो वा अन्धकार बन्छ भन्ने कुरा कता कता नबुझेजस्तो पनि लाग्यो। उसका कुरा सुनिरहँदा एकाएक विद्यालय वा कलेजमा पढाउँदाखेरिका केही विद्यार्थीहरूका विम्बहरू पनि झलझली आउन थाले। केही विद्यार्थीहरू कुनै पनि हालतमा आफ्नो गल्ती स्वीकार्न नचाहने खालका हुन्छन् भने कतिपय आफ्नो पढाइ र लेखाईको कमजोरीमा आफ्नो दोष होइन कि अरुलाई कुनै न कुनै रूपमा दोष थुपार्नतर्फ लाग्छन्। अहिलेका मानिसको कमजोरी भनेको नै मपायित्व र गल्ती स्वीकार गर्न नसक्नु नै हो जस्तो लाग्छ।

उसका बुबाको मलिन अनुहार देखिसकेपछि डम्मरकाजीबारे केही कुरा सोध्नका लागि उनको नजिक गएर बस्दै थिए। त्यही बेलामा एकाएक ऊ आएर भन्छ, ‘दाइ, तपाईंलाई थाहा छ?  

मलाई त हनुमान चढेको छ नि। म यति धेरै शक्तिशाली छु कि मलाई भगवान्ले धेरै शक्ति दिएका छन्।’

म अकमक्क परेँ। के भनौं, के गरौं, के उत्तर दिऊँ भनेर उसका बुबाको अनुहारतिर हेरिरहेको थिएँ। उहाँको अनुहारमा थकान र दिकदारीको भाव स्पष्ट झल्किन्थ्यो।  

ऊ अझ अगाडि थप्दै थियो, ‘दाइ यता आउनु त। म यो तीन तल्ला माथिबाट तल हाम फाल्छु है तर मलाई केहीपनि हुँदैन। किनकि मलाई हनुमान चढेका छन्।’

उसको यो कुरा सुनिसकेपछि त म झस्केँ। मैले उसलाई सम्झाउने पारामा भने, ‘भाइसँग शक्ति छ। त्यो कुरामा कुनै दुविधा भएन। शक्ति सही ठाउँमा सही तरिकाले प्रयोग गर्नुपर्छ । तिमी पढेलेखेको जान्ने मानिस हौ। धेरै कुरा बुझेका छौ। कहाँ के गर्ने, के नगर्ने भन्ने कुरा पनि पक्कै पनि ख्याल गर्छौ होला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। औषधी नियमित रूपमा प्रयोग गर्नुपर्छ। जसले गर्दा स्वास्थ्य चाँडै सुधार हुन सक्छ।’ मैले आफूलाई लागेका कुरा राम्रोसँग भनेर उसलाई रोक्न प्रयास गरेँ।

मेरो कुरा सुनिसकेपछि ऊ त झन् बढी उत्तेजित हुन थाल्यो। भन्दै थियो, ‘दाइ मलाई के भएको छ र?  किन औषधि खाने ? मलाई बिरामी देख्नुभएको हो ?’

अब यहाँ धेरै बोल्न उपयुक्त छैन भन्ने मलाई लागिसकेको थियो। मैले शिष्ट तरिकाले भनेँ, ‘तिमीलाई बिरामी वा कमजोर भनेको होइन। बुबा अथवा परिवारका कुरा सुनेर एवं अवस्था देखेर मात्र भन्न खोजेको भाइ। उहाँहरूले हामीलाई यो ठाउँसम्म पुर्‍याउन धेरै दुःख भोग्नुभयो। उहाँहरूका पनि धेरै सपना छन् होला। आफ्नो जीवनकालमा आफ्ना सपना पूरा गर्नका लागि अहोरात्र खटिनुभयो। जुन सपनाहरू आफ्नो जीवनकालमा पूरा हुन सकेका छैनन् ती सपनाहरू आफ्ना सन्तानहरूले पूरा गरून् भन्ने चाहनुहुन्छ । ती सपना पूरा गरेर उहाँको अनुहारमा खुसी ल्याउन सकियो भने बल्ल सच्चा सन्तान बन्न सकिन्छ कि भन्ने कुरा मात्रै गरेको हुँ भाइ!’ त्यसपछि परिवारका अन्य सदस्यसँग सामान्य औपचारिकता पूरा गरेर हामी फर्कियौं।

करिब तीन महिनापछि सधैंजस्तै सामान्य तरिकाले घरको छतमा बसेर घाम ताप्दै चिया पिइरहेको थिएँ।

भाइ आएर भन्यो, ‘दाइ, फेरि एकपटक डम्मरकाजीलाई भेट्न जानुपर्ने भयो।’  

‘अब कहाँ उसलाई भेट्न काठमाडौंदेखि पोखरा गइन्छ त भाइ?’

‘दाइ पोखरा होइन, यही काठमाडौंको बिएन्डबी हस्पिटलमा ल्याएका रहेछन्।’

‘मानसिक रोगीलाई त पाटनको मानसिक हस्पिटलमा लगेको भए राम्रो हुन्थ्यो। किन हाड जोर्नीका लागि नाम चलेको हस्पिटलमा ल्याएछन् त?’

भाइ सुरेन्द्रले पनि उसलाई थाहा भएसम्मका अन्य सबै कुरा एकपछि अर्को गर्दै बतायो।

सधैं हनुमान चढे वा देउता चढे भन्ने उसले एकदिन त साँच्चिकै  हनुमान चढे मलाई केही हुँदैन भन्दै सबैसामुन्ने रोक्न खोज्दा खोज्दै तीन तला माथिबाट हाम फालेछ। अहिलेको युगमा आएर कहाँको हनुमान चढ्नु? तल खसेपछि त उसका दुईटा खुट्टा नै भाँचिएछन्। धन्न! भाग्यले मात्र बचेछ।

कतै पढेको वा सुनेको थिए। मानसिक रोगी दुई खालका हुन्छन्। उनीहरूले आफूलाई केही भएको छैन भनेर उपचार गर्न पनि मान्दैनन्। पहिलो खालका भनेका जो हिनताग्रन्थीवाला हुन्छन्। जसले हरेक समय वा हरेक कुरामा आशंका मात्र गर्छन्। उनीहरूले जे कुरालाई पनि षड्यन्त्र मात्र देख्छन्। सबैले आफ्नै बारेमा षड्यन्त्र गरेका छन् भन्ने ठान्छन्। अब मैले जीवनमा केही गर्न सक्दिन भन्ने कुरा मात्रै सोच्छन्। यस्ता खालका मानसिक रोगी भनेका डिप्रेसनका सिकार बन्छन् र जीवनको कुनै न कुनै मोडमा पुगेर आत्महत्याको प्रयास समेत गर्न सक्छन् भन्ने सुनेको थिएँ।  

अर्काथरी मानसिक रोगी भनेका जो आफूलाई अरूभन्दा विशेष ठान्ने वा म जे पनि गर्न सक्छु। मलाई विशेष शक्ति प्राप्त भएको छ। यस्ता खालकालाई कसैको लाज, घिन, डर भन्ने कुरा नै बाँकी रहँदैन। यस्ता खालका मानसिक रोगीलाई बेलैमा उपचार गर्न सकिएन भने सडकमा हिँडेका पागलको रूपमा पनि देख्न सकिन्छ। कता कता मलाई लागिरहेको थियो, त्यो भाइ पक्कै पनि दोस्रो खालको मानसिक रोगीको दायरामा पर्छ क्यारे।

यो काठमाडौंको कार्यव्यस्थताले धेरै पटक उसलाई भेट्न जाने प्रयास गर्दागर्दै पनि जान सकिरहेको थिइनँ। लामै समयको उपचार पद्धति भएको हुनाले आफ्नो तर्फबाट गर्न सकिने सरसहयोग पुर्‍याउँदै आएको थिएँ। निजी हस्पिटल भएको हुनाले त्यहीबाट परामर्श विशिष्ट मनोचिकित्सकलाई समेत बोलाएर सँगसँगै शारीरिक एवं मानसिक उपचारसमेत गरिएको थियो। तीन महिनाको अवधिमा त उसको शारीरिक एवं मानसिक स्वास्थ्यमा आमूल सुधार भएको मैले पाएँ। मलाई खुसी लाग्यो। ऊ वास्तविक संसारको धरातलमा फर्किन खोजिरहेको थियो। उसको व्यवहारमा समेत परिवर्तन भएको जस्तो लाग्यो र कताकता कर्तव्य बोध पनि हुँदै गएको जस्तो लाग्यो। हस्पिटलबाट डिस्चार्ज भएर पोखरा फर्कंदै गर्दा ऊ भन्दै थियो, ‘दाइ अब साँच्चै मैले पढेको शिक्षाको सार्थक प्रयोग गरेर बाआमाको बाँकी सपना पूरा गर्ने प्रयास गर्छु है।’  

उसको सुधारिएको अवस्था देखेर साथै दृढताका साथ बाआमाको सपना पूरा गर्ने अठोट सुनेपछि अन्यास मेरा आँखाबाट हर्षका भाव पोखिन  

खोज्दै थिए।

पछिल्लो समय मानिसहरू वास्तविकभन्दा कृत्रिम वा भर्चुअल संसारमा रम्न थाले भन्ने कुरा सुन्दै आइएको हो तर हामी पनि त्यसबाट टाढा हुन सकिरहेका थिएनौं तर विस्तार विस्तार सामाजिक सञ्जाल एवं स्क्रिनमा बिताउने समय कम गर्न थाल्दै थिए।  प्रविधि नियन्त्रित इको च्याम्बरबाट बाहिर निस्कनुपर्छ भनेर बालबच्चाहरूलाई भन्ने अनि आफू त्यसैको अल्गोरिदममा सवार हुने कुरा त राम्रो भएन भन्ने मलाई लागेको थियो। केही दिनको अन्तरालपछि बल्ल फेसबुक लग इन गरी स्क्रिन तल सार्दै थिएँ। एकैचोटि डम्बरकाजीको तस्बिर देखेपछि टक्क अडिएको थिएँ।

एकाएक उसको दुई वर्ष अगाडिको अवस्था सम्झिएको थिएँ। तस्बिरको माथि लेखिएको थियो, ‘यस वर्षको शिक्षक सेवा आयोगद्वारा लिएको माध्यमिक तहको विज्ञान विषय शिक्षकमा नाम निकाली मुस्ताङ जिल्लामा नियुक्ति भएकोमा  बधाई छ।’

मैले पनि फेसबुकबाट नै उसलाई औपचारिक रूपमा बधाई दिएँ तर मनमा भने कुनै बेला हनुमान चढेर त्यस्तो भएको मानिस आज आएर ज्ञान दिने वास्तविक संसारको धरातलमा टेक्न थालेकोमा अत्यन्त हर्षित थिएँ। अनि कामना गरेँ, अबदेखि उसलाई कहिल्यै पनि हनुमान नचढोस्।

प्रकाशित: १४ चैत्र २०८२ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App