नैबन्धिक क्षेत्रकै आधा दर्जन कृतिका प्रणेता पुण्य कार्कीको नवीनतम कृति हो यो जराको शक्ति (२०८२)। साहित्यिक तत्त्वले समृद्ध रहेको यस कृतिका पैंतालिस निबन्धमध्ये एक निबन्ध जराको शक्ति पनि छ। फूलपातको सारा सौन्दर्य र सुवास जराले प्रदान गर्दछ। फूल देखिन्छ जरा देखिंदैन। जरा जति गाडियो, जराले जति रस लिन सक्यो, रूख त्यति नै हराभरा भएर देखापर्छ। फूलको अर्चना गर्नेले जराको पनि ध्यान राख्नुपर्छ। यसरी यहाँ जरा र फूलको सम्बन्ध देखाएर जीवन बाहिरबाट मात्र खोज्ने होइन भित्रबाट पनि खोज्नुपर्छ भन्ने सन्देश मुखरित गरेको छ। बाहिरभन्दा भित्र ठूलो शक्ति छ, दुनियाँ भित्री शक्तिले नै चलेको छ। साहित्यिक सिर्जना पनि अन्तर्शक्तिकै परिणाम हो भन्ने दर्शाएको छ। यसरी विम्बात्मक रूपमा गहन अर्थ दिने कृतिको शीर्षक सुन्दर र सार्थक छ।
पुण्य कार्कीले जराको शक्ति निबन्ध रचना गरेर निकै ठूलो साहित्यिक पुण्य आर्जन गरेको देखियो। निबन्ध जगतकै यो एक अनमोल रत्न हो भन्ने लाग्यो। विशेष गुण भएकैले रत्न भनिएको हो। यसम काव्यात्मकता र कथात्मकता प्रयोग गरी लेखिएका निबन्धहरू निकै खारिएर र माझिएर प्रस्तुत भएका छन्। निबन्धभित्र प्रतीक विम्ब र दृष्टान्तहरूको ओइरो लगाइएको छ। इतिहास र सामान्य ज्ञानको बृहद् ज्ञानले अनुभूतिहरू उब्जिएका छन् र तिनलाई अति सुन्दर निबन्धको साँचोमा ढालिएको छ। जीवनका बहुआयामिक पक्ष समेटिएका निबन्धहरू छन्। सूक्तिले समृद्ध पाठहरू छन्। जुन सूक्तिले मन त्यसैत्यसै विमोहित गर्दछ।
कथ्य निकै धारदार, ओजनदार र काव्यात्मक छ। घरव्यवहारका झिनामसिना दृष्टान्तबाट कथ्यको पुष्टि गरिएको छ। शिक्षालाई किताबी ज्ञानमा सीमित गर्नु हुँदैन किनभने त्यस्तो ज्ञानले दैनन्दिन समस्या हल गर्दैन त्यसैले शिक्षालाई व्यावहारिक ज्ञानसँग जोड्नुपर्छ भन्ने सन्देश यसबाट पाउन सकिन्छ।
यसमा महत्त्वपूर्ण वैज्ञानिक तथ्यहरू, ऐतिहासिक दृष्टान्तहरू र पौराणिक मिथकहरू पनि प्रयुक्त भएका छन्। जुन पढ्दा रोचक मात्र नभई प्रेरणाप्रद समेत रहेका छन्। कतिपय सूक्ति डायरीमै टिपेर राखूँ जस्ता, कतिपय अनुभूति गद्य कविताकै उपकरण बनाएर कविता रचूँ जस्ता वा कतिपय अनुभूति तुकमा ढालेर मुक्तक बनाउँ जस्ता लाग्दछन्। यस कृतिका कतिपय अनुभूतिलाई आधार बनाएर मैले केही मुक्तक रचना गरेको छु जस्तैः
फूलको मात्र चर्चा गर्छन् जराको मतलब छैन
मूलको मात्र बखान गर्छन् छहराको मतलब छैन
देखावटी गतिविधिकै पछि लाग्न थाले मान्छे
रुखको मात्र गायन गर्छन् लहराको मतलब छैन।।
गनगनाउनुभन्दा गुनगुनाउनु राम्रो
मनका वेदना मनैलाई सुनाउनु राम्रो
जीवन संगीत हो तसर्थ गुनगुनाएर
हाँसो खुशीले गदगद जनाउनु राम्रो।।
नानी नरोए मुटुकै सास अवरूद्ध हुन सक्छ
आन्दोलन नभए मुक्त आकाश अवरूद्ध हुन सक्छ
जन्मेपछि धर्तीमा पञ्चतत्त्व सबैको अधिकार हो
हावा स्वतन्त्र चल्न नपाए सुवास अवरुद्ध हुन सक्छ।।
मोडमोडमा भेटिने बाटाका यी दुच्छरहरूले
सताएका छन् निकै मुसा माकुरा मच्छरहरूले
संविधानै आज विषाक्त किताब भएको छ
बिग्रियो कन हाम्रो अनर्थ लाग्ने अक्षरहरूले।।
झुण्डझुण्ड होली खेलेर उदण्डमा डुबेको छ
लोभीपापीहरूकै त्यो महाकुम्भमा डुबेको छ
पीडाका पोखरीहरूमा पौडी खेल्दाखेल्दै
देश भष्टाचारीको जहर कुण्डमा डुबेको छ।।
पुरानै व्यवहारले नयाँलाई डस्नु हुँदैन
पुरानैको प्रतीक्षामा अब बस्नु हुँदैन
सडेगलेकाले यहाँ सबैलाई बिगार्छन्
बासी विचारहरूमा फँस्नु हुँदैन।।
नयाँ युगको नेतृत्वमा नयाँ पुस्ता नै आउनुपर्छ
नयाँले जनसमर्थन शासन भार पाउनुपर्छ
पुरानाहरूको विलासी शैली स्वभाव देखियो
नयाँबाटै झिनो आस छ नयाँकै पछि धाउनुपर्छ।।
अन्धविश्वासका भावना उडाएर वाफ पार्नुपर्छ
जनजनमा परिवर्तनको नयाँछाप पार्नुपर्छ
परम्परा तोडेर होस् कि विधान मोडेर होस्
देशका खरिजुकाहरु सब सखाप पार्नुपर्छ।।
सिर्जनामा लाग्नु सबैका निम्ति श्रेयस्कर छ। जसले आफ्ना सिर्जनामा आफ्नो स्वभाव उतार्छ आफूले भोगेको समय उतार्छ, आफ्नो जीवनका आरोहअवरोहहरूको चित्र उतार्छ, आफ्नो ज्ञान, अनुभव र सीप उतार्छ; त्यो रचना उत्कृष्ट स्तरको हुन पुग्छ।
पुण्य कार्कीका निबन्धमा पनि यी सबै विशेषता भेटिन्छन्। उनका निबन्ध इमान, कर्तव्य, नैतिकता र सदाचारका भावना र विचारले पनि समृद्ध छन् त्यसैले उनको उक्त कृति वा कृतिको कुनै पाठ पाठ्यांशमै समावेश गर्नुपर्ने देखिन्छ। कृति साहित्यिक दृष्टिले मात्र होइन जीवनवादी वा व्यवहारवादी दृष्टिले पनि स्तरीय छ।
प्रत्येक निबन्धले ऊर्जाप्रदायक महत्त्वपूर्ण स्वर–सन्देश मुखरित गरेका छन्। क्रमिक रूपले समग्र निबन्धको समीक्षा गर्दा लेखले बृहद् आकार लिने हुँदा विशेष कुरा समेट्नु सान्दर्भिक देखिन्छ जस्तै जीवन–पटमा लेखरै राख्नुपर्ने कुरा– गनगनाउनुभन्दा गुनगुनाउनु राम्रो। सकारात्मक चिन्तन र विचारको महत्त्वपूर्ण दृष्टान्त देखिन्छ। यसमा उल्लिखित विविध तथ्य निकै मननीय र मर्मस्पर्शी छन्।
कृति पढ्दै जाँदा थाहा हुन्छ– निबन्धकार एक प्रबुद्ध व्यावहारिक, अनुभवी र निपुण शिक्षक हुन् किनभने यस सङ्ग्रहका कतिपय निबन्ध पाठ्यक्रममै समावेश गर्ने जस्ता व्यवहारवाद र जीवन गतिलाई समृद्ध तुल्याउने प्रकृतिका रहेका छन्।
शिक्षा कार्यलाई पनि सघाउने किसिमका महत्त्वपूर्ण सूत्रहरू पनि यसमा सन्निहित छन्। प्रत्येक जस्तो निबन्धमा सन्दर्भ अनुसार अनेक कथा उपकथाको समावेश गरेर कथ्यलाई पठनीय सामग्री तुल्याएका छन्। अनेक सन्दर्भ प्रसङ्गमा समावेश भएका कथा उपकथाले कृति साहित्यिक अनुभव कोष मात्र नरहेर कथा दृष्टान्त कोष वा ज्ञानकोष समेत छ। एक कुशल निबन्धकारले अनुभवका कुरा मात्र गर्दैन ज्ञानका विविध कुरा पनि गर्छ भन्ने सुन्दर दृष्टान्तका रूपमा यस कृतिलाई लिन सकिन्छ।
यसका अधिकतर निबन्धहरू शीर्षक केन्द्रित छन्। शीर्षकको पारिभाषिक व्याख्या र समुचित विश्लेषण छ। यसमा किन, के, कसरीका जिज्ञासा–जन्म, प्रश्नका उत्तरहरूले कथ्यलाई परिपुष्ट पार्दै समाजका विकृति, विसङ्गति, बिप्ल्याँटा परिस्थितिहरूप्रति तीव्र कटाक्ष गरेका छन्। राष्ट्रवाद खोज्नेले आत्मनिर्भरता, गुरु खोज्नेले गुरुत्व, जीवन खोज्नेले ऊर्जा, फूल खोज्नेले जरा, ज्ञान खोज्नेले प्रकृति खोज्नुपर्छ भन्ने सुन्दर सुझाव दिएका छन्।
निबन्धकारका दृष्टिमा जीवन एक यात्रा हो। उनी यात्राका क्रममा आएका कष्टलाई पानी ठानेर पिइरहेछन्। अक्षरमा छरिएर बितेका पलहरूले सर्वाधिक सुखद् अनुभूति दिने गर्छन्, जीवनेच्छाभन्दा अर्को अपार शक्ति छैन। जीवन भनेकै छोडाइ र जोडाइको वर्तुल हो। प्रकृति स्वयम् एक गुरु हो, सत्यको मार्गमा हिंड्न अखण्ड धैर्यको खाँचो पर्छ। समयभन्दा ठूलो वैद्य अर्को छैन। जीवन जरामा छ, बाहिरभन्दा भित्रै खोज्नुपर्छ, जीवनका जरा मजबुत पार्ने कला सिक्नुपर्छ, अन्धविश्वासले विवेकका आँखा खोल्दैन, कुनै मानव जीवन समस्यारहित छैन, हामी आफ्नै साधनस्रोतमा अत्मनिर्भर बन्नुपर्छ जस्ता शाश्वत चिन्तन विचार र विश्लेषणले निबन्धको गुरुत्व र गरिमा वृद्धि भएको पाइन्छ।
साहित्यक तत्त्वले समृद्ध यति सुन्दर कृतिको वर्णविन्यासमा भने पूर्ण ध्यान दिइएको पाइन्न। केटी तत्सम शब्द भाषिक दृष्टिले त्रुटियुक्त छन्। त्यस्ता त्रुटियुक्त शब्दहरूको विवरण यस प्रकार छ जस्तै: अधीन, प्रतीक्षा, थिर, उद्यत, शाश्वत, प्रसाद उपलब्धि, सुरुङ्ग, चीत्कार, क्रूरता, आसन्न, आसीन, ग्लानि, विद्रूप, पराधीन, शीतल, गद्दी, विष, अभीप्सा, अन्तर्गर्भ, रणोद्दीप, वीजारोपण, अमन, वस्त्र, निति, अस्तित्व आदि।
नेपाल वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएकाे यो कृति उनकै निबन्धकृतिमध्ये मास्टर पिस अर्थात् निपुण कृति त हुँदै हो, निबन्धका अन्य कृतिमध्ये पनि यो उत्कृष्ट छ, उपयोगी छ भन्ने बोध आद्योपान्त निबन्ध पढी लेखाजोखा गरेपछि स्पष्ट हुन्छ।
यसका हर निबन्धले सन्देश र उत्प्रेरणा दिन्छन्, समावेश हुन आएका विभिन्न कथाप्रसङ्ग र दृष्टान्तले कथ्यलाई प्रभावोत्पादक तुल्याएर ऊर्जाप्रद आस्वादन दिन्छन्। इतिहास, भूगोल, समाज र संस्कृतिका रोचक कुरा ल्याई अनुभव र विचारले ज्ञानवर्द्धक बनाएका छन्। युगचेतना, प्रगतिवादी चेतना, जीवनदायिनी चेतना, समाजका बेथिति, विसङ्गत स्थितिप्रति कटाक्ष, प्रतीक, विम्ब र मिथकको सार्थक प्रयोग उनका निबन्धमा भेटिन्छन्।
प्रकाशित: ८ कार्तिक २०८२ ०७:३८ शनिबार





