गाउँको त्यो घर उस्तै थियो तर भित्रको आवाज हराइसकेको थियो। ढोका बन्द थिएन, तर जीवन रित्तो अनि खाली थियो।
सिन्धुपाल्चोकको एक विकट डाँडामा उभिएको त्यो दुई कोठे कच्ची घर कहिल्यै बलियो थिएन तर भित्र आशा थियो। आमाको स्वर, बाबुको पसिना, भाइबहिनीको हाँसो, यी सबैले घर टिकेको थियो। आज घर बलियो देखिन्थ्यो, किनकि भित्र कोही थिएन, न रोदन, न हाँसो, न आशा।
हरिबहादुर लामा यही घरमा जन्मेका थिए। यही घरमा उनका बाबुआमाले भोकसँग लड्दै उनलाई हुर्काए। यही घरबाट उनले ‘शिक्षा नै मुक्ति हो’ भन्ने सपना देखेका थिए तर नेपालमा सपनाहरू धेरै टिक्दैनन्, विशेष गरी गरिब, श्रमिक र गाउँका युवाका सपना सपनामै बिलाउँछन्।
२०६५ साल। देशमा नयाँ संविधान, नयाँ व्यवस्था, नयाँ आशाको नारा थियो। रेडियोमा नेताहरू चिच्याइरहेका थिए, ‘अब परिवर्तन आउँछ।’ तर हरिबहादुरको घरमा परिवर्तनका नाममा आज चुल्हो बल्छ कि बल्दैन भन्ने डर मात्र थियो। उनका बुबा, धनबहादुर लामा, गाउँकै खेतमा काम गर्थे। आमा अरूको घरमा भाँडा माझ्थिन्। खेत थियो तर सिँचाइ थिएन।
मेहनत थियो तर मूल्य थिएन, राज्य थियो तर उपस्थित थिएन। आमा कान्छी मायाको जीवन एउटा अदृश्य श्रम थियो, दुःख थियो, पीडा थियो। छोराछोरीलाई जीवनमा उभ्याउने एउटा सपना थियो। बिहान अरूको घर, दिउँसो खेत, बेलुका आफ्नै घर। कहिल्यै तलब मागिनन्, कहिल्यै माया पाइनन्। युवा सपना र सहरको धोका हरिबहादुरले एसएलसी पास गर्दा गाउँमा हल्ला भयो। ‘माइलाको छोरो पास भयो रे!’
तर त्यो हल्लाले भात पकाएन। पास भएको प्रमाणपत्रले पेट भरिँदैन भन्ने यथार्थ त्यही दिनदेखि उनलाई सिकाइयो। घरको दुःख, भाइबहिनीको शिक्षा, हरेकको आवश्यकता, काठमाडौं झर्नुबाहेक अर्को विकल्प थिएन। गाउँमा रोजगारी थिएन, सहरमा आत्मसम्मान थिएन।
काठमाडौंमा उनले चार तले घरको भुइँतलामा बसेर पाँच तले सपनाको कल्पना गरे। दिनभर होटलमा भाँडा माझे। राति पुराना किताब पढे तर पढाइभन्दा भारी थियो जिन्दगी। जिन्दगी बुझ्न साह्रै गाह्रो थियो। कति दिन भोकै पेट अनिन्द्रामा बित्थे। उनी जस्तै हजारौं युवा थिए - डिग्री हातमा, काम खोज्दै सडकमा, नेताको भाषण सुन्दै बेरोजगार। एक दिन होटल मालिकले भने, ‘धेरै पढेर के हुन्छ? देशमा केही छैन। खाडी जाऊ।’
त्यो वाक्य केवल सल्लाह थिएन, त्यो राज्यको असफलताको स्वीकारोक्ति थियो। त्यो हाम्रो देशको अर्थतन्त्र थियो।
खाडी जान ऋण लिनुपर्यो। साहुजीसँग घर होइन, भविष्य धितो राखियो। त्यही बेला बहिनी सरस्वती एसइई दिँदै थिइन्। पढ्न चाहन्थिन्। डाक्टर बन्ने सपना थियो। भाइको पनि केही गर्छु भन्ने सपना थियो तर आमा बिरामी परिन्। घरमा आम्दानी थिएन। सरस्वतीको पढाइ बन्द भयो। भाइको पढाइ बन्द भयो। सरस्वती एउटा मात्र पात्र होइन, उनी हजारौं नेपाली छोरीहरूकी कथा हुन्, जो पढ्न चाहन्छन् तर परिवारको जिम्मेवारीले थिचिन्छन्। त्यस्तै भाइको पनि पढाइ बन्द भयो। यो देशले किन पढाउँछ र? विदेश पठाई रेमिटेन्स भित्र्याउने नारा मात्र बनाउँछ! आखिर हाम्रो देशको यही नै अर्थतन्त्र हो।
आमाको प्रश्नको उत्तर, हरिबहादुरले विदेश श्रमका लागि जाने निर्णय गर्यो। आमाले भनेकी थिइन्, ‘छोरा, देश छोडेर जाँदा देशले तिमीलाई सम्झिन्छ कि?’
धनबहादुर मौन थिए। किनकि, उनीसँग जवाफ थिएन। खाडी पुगेपछि उनले बुझ्न थाले। गरिब जहाँ गए पनि गरिब नै हुन्छ।
१२ घण्टा काम, महिनाको तलब ढिलो, मालिकको गाली, पासपोर्ट साहुको कब्जामा। घरबाट फोन आउँदा उनले झुट बोल्थे - ‘यहाँ सबै ठिक छ, सबै राम्रो छ, अब हाम्रो भविष्य राम्रो हुनेछ।’ तर ठिक केही थिएन। उनी घरको फोन आउँदा सधैं यसै भन्थे।
एक साँझ मजदुर क्याम्पमा फोन आयो -‘आमा बित्नुभयो। हरिबहादुर रोएनन्। किनकि रोएर फर्कन सकिँदैनथ्यो। विदेशी भूमिमा आमाको अन्तिम संस्कार नपुगेको आँसु उनको छातीभित्रै जम्यो। देशमा राजनीतिज्ञहरू गर्वसाथ भन्थे, ‘रेमिटेन्सले देश चलेको छ।’ तर, हरिबहादुरको आमाको चिहानमा रेमिटेन्सले फूल पनि चढेन। उफ्, कस्तो बाध्यता!
फर्किएको युवा, असफल राज्य। केही वर्षपछि उनी नेपाल फर्किए। जे बोकेर गए, त्योभन्दा थोरै लिएर फर्किए। घरमा बुबा एक्लै थिए। भाइ बहिनीको पढाइ छुटिसकेको थियो। घरको छाना चुहिन थालेको थियो।
हरिबहादुरले जागिर खोजे। अनुभव मागियो, पहिचान मागियो, सिफारिस मागियो तर उनीसँग त केवल पसिना थियो। एक दिन स्थानीय नेताको कार्यालयमा गए। बाहिर कार्यकर्ता, भित्र शक्ति। नेताले भने - मन छटपटायो, रातभरि सुत्न सकेन। तिमीजस्ता युवाले देश बनाउनुपर्छ।
हरिबहादुरले पहिलो पटक साहस गरे, ‘अनि हामी बाँच्ने कसरी?’ नेता हाँसे। त्यो हाँसो हरिबहादुरको छातीमा गाडियो। त्यो हाँसो राजनीतिक संवेदनहीनताको प्रतीक थियो। खाली गाउँ, खाली घर, खाली भविष्य।
बुबा बिते। घर खाली हुँदै गयो। गाउँ खाली हुँदै गयो। युवाहरू बिदेसिए। महिलाहरू विधवा भए। बालबालिका अभिभावकविहीन भए। आज त्यो घरमा कोही छैन तर प्रश्नहरू छन् -यो देश किन आफ्ना सन्तानलाई पाल्न सक्दैन? किन श्रम गर्ने हात सधैं परदेशमा खोजिन्छ? किन महिलाको श्रम अदृश्य रहन्छ? किन युवाको आवाज भाषणमै दबिन्छ? किन हामीमध्ये कोही बाकसमा फर्कनुपर्छ?
हरिबहादुरजस्ता हजारौं युवा अहिले पनि काठमाडौंको कुनै चोकमा उभिएका छन् - हातमा फाइल, आँखामा थकान, मनमा प्रश्न। देश अझै भाषणमै छ। युवा अझै पर्खाइमै छन्। त्यस्ता हजारौं घरका ढोका आज पनि खुलै छन् तर आवाज छैन। किनकि, यहाँका आवाजहरू या त विदेशमा हराएका छन्, या त राजनीति नामको भिडमा चुपचाप मरिरहेका छन्, या त बाकसभित्र गुम्फिएर बसेका छन्।
प्रकाशित: २६ पुस २०८२ ०७:५१ शनिबार





