२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

विदेशी भूमिमा देशको धड्कन

घुमफिर

दाइ, हिजोदेखि तपाईं चिन्तित र एकोहोरो देखिनुभएको छ, दिमाग फ्रेस गर्न एउटा पार्कमा लैजान्छु। बिहानै भाइ तीर्थराज पाण्डेले कोठामा आएर भने। यही भाद्र २५ गते बिहानको कुरा हो यो। हुन पनि २३ र २४ गतेको अप्रत्याशित काठमाडौंलगायत देशभरिका घटनाले मलाई चिन्तित तुल्याइरहेको थियो। देशमा भए पनि के नै गर्न सकिन्थ्यो र?

बहिनी पार्वती खाना पकाएर बिहान सबेरै आफ्नो काममा गइसकेकी छिन्। उनको आफ्नै गाडी छ। आफैं चलाउँछिन्, उनले गाडी चलाएको म हेरिरहन्छु। बैतडी पाटनको माटोको सुगन्धित परिश्रम अमेरिकाको सम्पन्न राज्यमध्ये एक मेरिल्यान्डसम्म पुगेको देख्दा खुसी नहुने को होला? खाना खाएर आफ्नो सेतो रङको गाडी अगाडि बढाए तीर्थराजले। मौसम अत्यन्तै मनमोहक देखिन्छ। सडक सफा छ। अमेरिका, बेलायतजस्ता विकसित मुलुकको यो भौतिक विशेषता हो।

सडकका दायाँबायाँ किनाराका हरिया रुखहरूमा कलिलो सूर्यका किरण पर्दाको दृश्यको वर्णन कवि डा. नवराज लम्सालले गरून्। डाउनटाउन, बाल्टिमोर पुग्न अझै केही समय लाग्छ भन्दै छन् तीर्थराज भाइ। देशमा घटित घटनाले मनमा डेरा जमाए पनि अमेरिका भूमिको यो यात्रा मेरा लागि नौलो भएको छ। तीर्थराज मेरा लागि नयाँ अनुहार कसरी भनूँ? देउडा संस्कृतिको राष्ट्रभरि बीजारोपण गरेको जानकारी उनलाई राम्ररी थाहा रहेछ। बहिनी शकुन ज्ञवालीले न्युजर्सीबाट तीर्थको नाम र ठेगाना दिएर पठाएकीले यता आएको हुँ भन्ने जानकारी उनलाई राम्ररी थाहा छ।

हामी घना सहर छेउछाउ आइपुग्यौं। अगाडि बाल्टिमोर मेरिल्यान्ड विश्वविद्यालय लेखिएको भवन देखियो। यहाँका विश्वविद्यालय, अस्पताल आदि सार्वजनिक स्थलहरूको क्षेत्रफल ठुलै हुने गर्छ। अलि पर पुगेपछि अस्पतालको बिल्डिङ देखापर्‍यो। नागरिकलाई दिने स्वास्थ्य सेवा स्तरीय र जिम्मेवारीपूर्ण हुने गर्दछन् यहाँ।

नेपालको काठमाडौं नक्साल भगवती मन्दिरनजिकै हिल्टन होटल छ। पाँचतारे त्यो होटल जेनजी आन्दोलनले जयवीरसिंह देउवाको भन्दै जलाएर नकाम गरेको छ। यो नामको सुविधा सम्पन्न होटल संसारका केही देशहरूमा पनि छन् भन्ने सुनेको छु। यहाँ पनि रहेछ हिल्टन होटल। बाहिरबाट आँखा दौडाएँ, हेर्नलायक रहेछ। यस्ता कयौं हेर्नलायक स्थलहरू मेरिल्यान्ड अमेरिकाको विकासको नमुना राज्य हो।

मैले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा धेरै पटक सुनेको नाम हो– जोन हकिन्स विश्वविद्यालय। त्यसबेला प्रा. कपिल श्रेष्ठले यो विश्वविद्यालयबारे जानकारी पनि गराउनुभएको थियो। सो विश्वविद्यालयको ठुलो भवन देखियो। भाइलाई गाडी रोकेर भए पनि कम्पाउन्डमा तस्बिर लिने सोचाइ थियो तर सडक जाम र पार्किङका कारण पूरा हुन सकेन। जोन हकिन्सका नाममा स्थापित सो विश्वविद्यालयमा युरोप र अमेरिकाका विभिन्न राज्यबाट अध्ययनका लागि धेरै विद्यार्थीहरू आउने गर्छन् रे।

हामी बाल्टिमोर इनर हार्बरको मुख्य ठाउँमा पुग्यौं। यो ठाउँ त राजनीतिक रूपमा चर्चित रहेछ। दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा अमेरिका र जर्मनीबिच लडाइँ हुँदा दुवै देशका सेना यहाँ तैनाथ गरेका रहेछन्। बिचमा एटलान्टिक महासागरको ठुलै भंगालो देखिन्छ। युद्धपोतहरू त्यहाँ तैनाथ देखिन्थे। लडाइँमा जर्मनी र पोर्चुगल सेनाले पराजय भोगेपछि आफ्नो देशबाट ल्याएको युद्धपोत त्यहीं छोडेर फर्केका रहेछन्।

रातो रङको सो पनडुब्बी दोस्रो विश्वयुद्धताकादेखि हालसम्म संस्मरणका लागि समुद्री किनारामा सुरक्षित राखिएको देखियो। यस्ता संस्मरणात्मक वस्तुहरू विकसित मुलुकले संग्रहालयका लागि सुरक्षित राख्दा रहेछन्। बेलायतको ग्रिनिच टाइम्सको अवलोकन गरेर फर्कंदा चीनबाट चिया बोकेर ल्याएको ठुलो पानीजहाज पनि एटलान्टिक महासागरको छेउमा दर्शनार्थ राखिएको देखिएको थियो।

तीर्थ बाबुले एक ठाउँमा गाडी पार्क गरे। हामी माटोले पुरिएको ढिस्को चढेर माथिको पार्कमा जाँदै छौं। पार्क सफा छ, ठुलो छ, साथै गोलाकार छ। उचाइमा भएकाले मेरिल्यान्डको चारैतिरको दृश्य देखिन्छ। त्यही पार्कबाट तीर्थले धेरै ठाउँ देखाए -आफ्नो रेस्टुरेन्टदेखि बाल्टिमोरको बसपार्क, समुद्री किनारा सबै देखिन्थे।

रुखै रुखको आकर्षक जंगलबिचमा ठाउँठाउँमा बेन्च राखिएका छन्। आगन्तुकहरू भरिभराउ छन्। एक ठाउँमा ५/६ जना बसेर पढाइसम्बन्धी छलफल गरिरहेका छन्। सायद प्रयोगात्मक सिकाइ हुन सक्छ। हामी पार्कको चारैतिर घुम्यौं। घाम ओरालो पर्दै थियो। समुद्री सतहमा सूर्यका किरणको दृश्य र निलो दहको दृश्य हामीले झैं अरूले पनि क्यामेरामा कैद गरिरहेका थिए।

हामी पश्चिमी भागतिर घुम्दा एकजना बाल्टिमोरको नागरिक नेपाली केटीसँग कुरा गरिराखेको थियो। ‘दाइ, नेपाली केटीसँग कुरा गरेको थाहा पाएँ नि,’ तीर्थको कुरामा मन तानियो। उसको नाम डान्यो रहेछ। काठमाडौंबाट भिडियोमा मेरो साथीले कुरा गरेको भनिरहेको थियो। सायद उनैबाट थाहा पाएर होला, डान्यो भन्दै थियो - काठमाडौंमा आगलागी भएछ, मानिसहरूलाई सरकारले गोली हानी मारेछ नि। फेरि अर्को दुःखद घटना घटेछ क्यार भन्ने सोच्यौं हामीले। तर २३–२४ गतेको घटनालाई दोहोर्‍याएर देखाएको रहेछ।

डान्योले हामी दुवैको तस्बिर खिचिदियो। एकछिन बेन्चमा बस्यौं, बाहिरको दृश्य हेर्दै। अगाडिको पार्क पुनःनिर्माण गर्दै थिए। बेन्चमा बसी दुई लाइन कविता पनि जानी-नजानी कोरेँ। यो इनर हार्बर डाँडो त मलाई काठमाडौंको स्वयम्भूजस्तो लाग्यो।

कतै शौचालय छ कि भनी वरिपरि घुम्यौं। शौचालयको अभाव रहेछ। माटोको ढिस्को झर्दै तल ओर्लियौं। गाडीमा सवार हुँदै निवास फर्कियौं। हाम्रो आगमनलाई कृपे (घरमा पालेको कुकुर) ले स्वागत गर्‍यो। ‘कतिपय कलाकारहरू त्यस्तो राम्रो पार्क घुम्न पाए आफ्ना गीतहरू सुटिङ गर्थे होलान्। तर दाइले त्यतातिर ध्यान दिनुभएन। सायद मुड नभएर होला,’ तीर्थ भन्दै थिए।

त्यही रात तीर्थ बाबुको छिमेकीले खान बोलायो। देशमा घटेको अप्रिय घटनाका कारण कसैले नबोलाए पनि हुन्थ्यो भन्ने लागेको थियो। चितवन घर भएका भाइ रमेशले खाना खान बोलाएपछि हामी सबैजना उनकोमा गयौं। त्यहाँ पनि त्यही ताजा घटनाको चर्चा चलिरह्यो। उनीहरू कतै लोकतन्त्र मासिन्छ कि भन्ने चिन्तामा रहेछन्।

‘दाइ, हजुरलाई हामी ३० वर्षदेखि चिन्दै आएका छौं। हजुरका हामी गीतका फ्यान मात्र होइनौं, विचारधाराका पनि अनुयायी हौं। मुड फ्रेस गरी झ्याम्मझ्याम्म त गाउनै पर्छ,’ भनी अगाडि सरे।

‘झ्याम्मझ्याम्म’, ‘गलबन्दीमा रातो धागो’ गीत गायौं। देउडा खेल्यौं। संस्कृतिमा कति माया लाग्छ मानिसलाई। बिस्तारै तीर्थ बाबुको घरतिर लाग्यौं।

प्रकाशित: ९ फाल्गुन २०८२ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App