फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका सात राजनीतिक दलमध्ये चार दलका उम्मेदवारले न्यून मत प्राप्त गरेपछि उनीहरूको धरौटी जफत भएको छ। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधानअनुसार चार दलका उम्मेदवारले उक्त सीमा पार गर्न नसक्दा धरौटी गुमाएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा सहभागी सात दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले मात्र सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सके। बाँकी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (विप्लव) र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले भने सो सीमा पार गर्न सकेनन्।
मुगुमा ३६ हजार ३१ मतदाता रहेको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २२ हजार ७१ मत खसेको थियो। खसेको मतमध्ये २१ हजार २ सय २५ सदर र ८ सय ४६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका खड्कबहादुर शाही ७ हजार ९ सय १४ मतसहित विजयी भएका छन्। नेकपा एमालेका पूर्णबहादुर रोकाया ६ हजार ७ सय १८ मतसहित दोस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले ५ हजार ५ सय ५८ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
धरौटी जफत हुने उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५ सय ३० मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २ सय ३, नेकपा माओवादी (विप्लव) का रंगबीर परियारले २ सय ८० तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत मात्रै प्राप्त गरेका छन्।
कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधानअनुसार ती चार दलका उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १५:१६ सोमबार





