१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

सम्बन्धका सुगन्धित फूलहरू

निबन्ध

मानव सम्बन्धका सिलसिलालाई एकतामा ‘उन्ने’ र ‘बुन्ने’ अनेक तरिका छन्। प्रत्येक तरिकाले आत्मीय सम्बन्धको अनेकौं आयामलाई स्पर्श गर्छ। जस्तै, कसैलाई नमस्कार गर्नु, शिर झुकाउनु, हात मिलाउनु, परैबाट मनमा श्रद्धा प्रकट गर्नु। वास्तवमा यी सबै व्यवहार औपचारिक नभएर गहिरो मानवीय ‘सम्बन्धका विम्बहरू’ हुन्। यी हरेक क्रियाकलापले आफ्नो छुट्टै ‘कथा’ बोकेको हुन्छ। हृदयको भावनालाई ‘शब्दहीन’ भएर पनि अभिव्यक्त गरिरहेको हुन्छ। त्यहाँ ‘सम्बन्धका सुगन्धित फूल’ फुलिरहेका हुन्छन्।

कसैलाई ‘नमस्कार’ गर्दा वा शिर झुकाउँदा हामी सम्मान र विनम्र भाव प्रकट गर्छौं। यो केवल हात जोडेर टाउको निहुराउनु मात्र होइन, बरु अर्को व्यक्तिको अस्तित्वलाई स्वीकार गर्नु र उनीहरूप्रति आदर देखाउनु हो। यो कार्यले सम्बन्धमा एउटा सौहार्दपूर्ण सुरुवात गर्छ र परस्पर विश्वासको जग बसाल्छ। यसमा एउटा शान्त र गम्भीर खुसी लुकेको हुन्छ, जुन आत्माको गहिराइबाट निस्किएको हुन्छ।

हात मिलाउनु एउटा स्वाभाविक आत्मीयता हो। यसमा दुई हातको स्पर्शले दुई आत्माको मिलन गराउँछ। यो एउटा यस्तो ‘पुल’ हो, जसले परिचयबाट सम्बन्धमा ‘परिणत’ गर्छ। हात मिलाउँदा व्यक्त हुने ऊर्जा, विश्वास र स्नेहको आदानप्रदानले मनमा एक प्रकारको न्यानोपन र खुसीको अनुभूति दिन्छ। यो मित्रता र सहकार्यको प्रतीक हो, जहाँ दुई व्यक्ति एकार्कालाई स्वीकार गरी अगाडि बढ्न तयार हुन्छन्।

विशेषतः पश्चिमा संस्कृतिमा अँगालो हाल्नु, हात चुम्नुलाई प्रेम, आदर र समर्पणको गहिरो अभिव्यक्ति मानिन्छ। यो एउटा यस्तो कोमल स्पर्श हो, जसले शब्दमा व्यक्त गर्न नसकिने भावनालाई प्रकट गर्छ। यसमा श्रद्धा र आशीर्वादका साथै पवित्र गहिराइ पनि हुन्छ। अन्ततोगत्वा यसले सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

‘नमस्कार’ अर्थात् ‘अभिवादन’ आदर र आत्मीयताको अद्वितीय रूप हो। यसमा भावनाको गहिरो सञ्चार हुन्छ। कसैको उपस्थिति वा सम्झना गर्नुसँगै मनमा आदरभाव, कृतज्ञता वा प्रेम जाग्छ। यो नै वास्तविक ‘हार्दिकता’ हो। यसले भौतिक दुरीले भावनालाई छेक्न सक्दैन भन्ने कुराको प्रमाण दिन्छ। यो एउटा आत्मिक सम्बन्ध हो, जहाँ एउटा हृदयले अर्को हृदयलाई ‘स्पर्श’ गर्छ, स्पन्दित पार्छ र ‘सम्बन्धका सुगन्धित फूल’लाई व्यक्तिदेखि समाजसम्म फैलाउँछ।

अपितु यी सबै व्यवहार व्यक्तिगत तथा सामाजिक रीतिरिवाज मात्र होइनन्। बरु हार्दिक मनका अभिव्यक्ति हुन्। यी हरेक क्रियाकलापले मनमा एक प्रकारको खुसी र सन्तुष्टि ल्याउँछ। जब हामी कसैप्रति साँचो श्रद्धा, प्रेम वा आदर व्यक्त गर्छौं, तब त्यो भावना हामीतिरै फर्केर हामीलाई नै खुसी दिइरहेको हुन्छ। त्यसले हाम्रा दुःखलाई बिर्साइरहेको हुन्छ।

यो एउटा नियमित चक्र हो। यस चक्रमा ‘दिने’ र ‘लिने’ दुवै पक्षले आत्मीयताको अनुपम स्वाद चाख्न पाउँछन्। वास्तवमा, यी सबै भावभंगी मानव सम्बन्धको सुन्दरता र हार्दिकताका ज्वलन्त उदाहरण हुन्। यिनैबाट हाम्रो जीवनमा माया, सम्मान र खुसीको अनवरत प्रवाह भइरहन्छ।

त्यस्तै ‘जीवन्त’ जीवन बाँच्नुको सुखद आनन्द मिलिरहेको महसुस हुन्छ।सम्बन्धहरू अनेकौं फूलमा उनिएका सुन्दर र सुगन्धित माला हुन्। माया, श्रद्धा, प्रेम, आस्था, विश्वास, आदर आदि अनेक रङ त्यसमा मिसिएका हुन्छन्। यी शब्द मात्र होइनन्, भावनाका गहिरा अनुभूति पनि हुन्। सम्बन्धले हामीबिचको निकटतालाई परिभाषित गर्छ। कसैलाई नमस्कार गर्नु, हात मिलाउनु वा मनमा श्रद्धा प्रकट गर्नु। यी सबै एउटै मायाका भिन्न भिन्न स्वरूप हुन्। यो खुसीको अनुभूति हो। यो हार्दिक मनको अभिव्यक्ति हो। यो आपसी प्रगाढ मित्रताको प्रतीक पनि हो।

मनको पवित्र सम्बन्धको गहिराइले नै यस्ता व्यवहारलाई अर्थपूर्ण बनाउन सघाउँछ। कसैले कसैको हात अनायासै समाउँदैन। कसैले अचानक हात समातेर चुम्दैन। कसैले अँगालोमा बेरेर म्वाइँ खाँदैन। त्यसका लागि एउटा विशेष समय आउँछ। जुन समयमा हात मिलाउनु, नमस्कार गर्नु, हात समातेर चुम्बन गर्नुमा कुनै नराम्रो आशय वा गलत मनसायको कल्पना गर्नु व्यर्थ हुन्छ।

वास्तवमा यी क्रियाकलाप त स्वतःस्फूर्त रूपमा प्रस्फुटित हुन्छन्। त्यतिबेला मनमा स्नेह र सम्मानको भाव प्रबल हुन्छ। टाढाको होइन नजिकपनको आभास त्यहाँ अभिव्यक्त भइरहेको हुन्छ। जस्तै, कसैलाई बिदाइ वा स्वागत गरिँदा, कसैसँग भेट हुँदा, कसैको जन्मदिनमा बधाइ र शुभकामना दिँदा वा लिँदा अथवा कोही सम्मानित वा पदोन्नति हुँदा असीम खुसीले अँगालोमा बेरेर गर्व र हर्षले धाप मारिन्छ। खुसी साटासाट गरिन्छ। खुसीको भावना बाँडिन्छ। मिठो–मसिनोको स्वाद लिइन्छ। यस्तै दिन सधैं आइरहून् भनी प्रार्थना गरिन्छ।

यी क्षणमा मित्रताको पवित्र भावना स्वतः व्यक्त हुन्छ। त्यसमा कसैको ‘करकाप’ले रोक्न सक्दैन। यो ‘मन’देखि त्यो ‘मन’सम्म जोडिने एउटा अदृश्य ‘सेतु’ हो, जहाँ भावनाको ‘स्वच्छन्द’ प्रवाह हुन्छ। हाम्रो समाजमा कसैलाई भेट्नासाथ ‘चिया पिउनुभयो?, खाना खानुभयो?, आराम हुनुहुन्छ?’ जस्ता आत्मीय बोली स्वतः बोलिन्छ। ‘नमस्ते, तारेमाम, भगवान शरण, ज्वज्वलपा’ भनी विनम्र स्वरमा बोलिन्छ, ‘जुम्ल्याहा हात’ जोडिन्छ।

कहिलेकाहीं यस्तै शुभ अवसरमा कुनै सानोतिनो ‘उपहार’ दिइन्छ, लिइन्छ। अनि हात मिलाइन्छ, अँगालो मारिन्छ। हात चुमेर माया र खुसीको असीम भाव व्यक्त गरिन्छ। यी सबै मानवीय स्वभाव र संस्कार पनि हुन्। यसमा कसैले ‘दोष’ देख्नु, ‘खोट’ भेट्नु वा ‘रोष’ प्रकट गर्नु उचित हुँदैन। किनभने, यसमा कुनै ‘जबरजस्ती’ व्यवहार हुँदैन। यी सबै कार्य सधैं हुँदैनन् र सधैं गरिँदैनन् पनि। यस्तो व्यवहार मनले खाएको मान्छे वा प्रिय आफन्तजनसँग मात्रै गरिन्छ, जहाँ विश्वास र आत्मीयताको बलियो जग गाडिएको हुन्छ।

जे पायो त्यही र जहाँ पायो त्यहीं बिनासन्दर्भ बिनाकाम यस किसिमको कार्य कहिल्यै पनि कसैले गर्दैन र गर्नु उचित पनि हुँदैन। त्यसका लागि एउटा शुभ समय आएको हुन्छ। त्यो क्षणको सदुपयोगले नै वास्तवमा आपसी मित्रतालाई अझ घनिष्ट बनाउन मद्दत गर्छ।

यद्यपि सम्बन्धका यी ‘सुगन्धित फूल’लाई हामीले अरूका लागि पनि उदाहरणीय र बासनामय बनाएर राख्न सक्नुपर्छ। यसलाई सधैं सम्मान गर्नुपर्छ। त्यसका लागि तिनमा उम्रिने शंका, स्वार्थ, षड्यन्त्रजस्ता झारपातरूपी वस्तु र विचारलाई गोडमेल गरी फाल्नुपर्छ। यिनमा लुकेको निःस्वार्थ प्रेम र आदरको भावनालाई बुझ्नुपर्छ। यी व्यवहारले हाम्रो सामाजिक सम्बन्धलाई ‘बलियो’ बनाउँछ। यसले हाम्रो मानव मनको सुन्दरतालाई पनि झल्काउँछ।

यसैबिच ‘हेराइ’ र ‘बोलाइ’को शैलीले पनि हामी प्रभावित हुन सक्छौं। कसैको हेराइ हेरिरहौंजस्तो लागिरहन्छ। त्यस्तो हेराइमा प्रेमपूर्ण मिठासको शीतल आनन्द पाइन्छ। कसैको हेराइ ‘घायल’ पार्ने ‘कायल’ गर्ने किसिमको पनि हुन्छ।

कसैको हाँसो ‘अट्टहास’ पनि हुनसक्छ। त्यही हाँसो कसैको ‘माया’को अभिव्यक्ति पनि बन्न सक्छ। यद्यपि यस्तो हाँसोमा मनदेखिको ‘मन्द मुस्कान’ हुँदा त्यसले नजिकको गाढा सम्बन्धलाई ‘प्रतिविम्बित’ गर्छ। देख्नासाथ मुसुक्क मुस्कुराउने स्वरूप प्रस्तुत गरिरहेको हुन्छ।

त्यसैले एउटा सामान्य हाँसोको अर्थ र अभिप्राय पनि फरक फरक हुन्छ। खासमा मनदेखिको मुस्कानमय हाँसो, जुन अनुहारको भावभंगीमा पनि प्रेमपूर्ण रूपमा सम्प्रेषित भएको हुन्छ। त्यसले नै साँचो मायाको भाव झल्काउँछ। आखिर हामी सबै मायाका भोका हौं। माया पाउनु ठुलो कुरा हो। माया नपाएर माया गुमाउनु अफसोसको कुरा हो।

त्यसैले हामीले बाँचुन्जेल ‘सम्बन्धका सुगन्धित फूल’लाई जोगाएर राख्न सक्नुपर्छ।

प्रकाशित: २१ भाद्र २०८२ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App