ऊ पर एउटा फूल
एक्लै काँडाहरूको विचमा मुस्कुराइरहेछ
उसको मुस्कानलाई
कसैले कहिल्यै फर्केर हेरेन
तैपनि ऊ मुस्कुराइरहेछ
हजारौँ भमराहरू हुलका हुल
त्यहीँ बाटो हिँडिरहेकै छ
तर कसैले उसलाई
एक शब्द पनि सोधेन
किनकि ऊ नफुलेको फूल हो
उसलाई फुलाउने कुनै वसन्त आएन
उसलाई चुम्ने कुनै भमरा आएन
त्यसैले त ऊ
पर बसेर फुलिरहेको फूलमा
झुम्मिरहेका भमराका नृत्य हेरिरहेको छ
किनकि ऊ
कहिल्यै नफुल्ने फूल हो
फूलको रसमा
मीठा धूनमा
मस्त जवानी पग्लिरहेछ
ऊ पनि त चाहन्थ्यो प्रीतको मीठा सुवासमा
जीवनका रङ्गीन सपनाहरू सँगाल्न
तर ऊ फुल्ने वसन्त कहिल्यै आएन
किनकि ऊ कहिल्यै नफूल्ने फूल हो
उनको विशाल मनलाई कसैले पढेन
उनका रहरका सगरमाथालाई कसैले नापेन
मात्रै भनिरह्यौ
ऊ कहिल्यै नफुल्ने फूल हो
तिम्रा वेदनाका पहाडहरू पग्लिएर आँशु बग्दा
कुनै नदीलाई अफसोच थिएन
किनकि तिमी नबग्ने खोला हौ
कुनै यस्तो बहार आएन तिमीलाई फुलाउने
कुनै यस्तो भमरा आएन तिमीलाई सजाउने
किनकि तिमी कहिल्यै नफुल्ने फूल हौ।
प्रकाशित: १४ असार २०८३ १३:१६ आइतबार





