१९ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

सर्वत फलफूल खुवाएर अनसन तोड्नुपर्छ

मुक्तक

१) मुक्तक

नातागोता भाइभतिजा सम्धी देवर सालो

जहिले पनि पाखण्डको फिजाउँछन् जालो

ओगटेर हरेक क्षेत्र बुढा साँढेहरूले,  

बिचौलिया हाबी बनाई गर्छन् कोलोहालो।

२) मुक्तक

अफवाह छर्ने जहिल्यै बिचौलिया हुन्छन्

सबको कान भर्ने जहिल्यै बिचौलिया हुन्छन्

असललाई खराब भन्दै दोबाटो र चोकमा,

झुठो प्रचार गर्ने जहिल्यै  बिचौलिया हुन्छन्।

३) मुक्तक

मनमुटाव तोड्नुपर्छ सारा गनगन तोड्नुपर्छ

भए मनमा वैरभाव र बेखुसीपन तोड्नुपर्छ

श्रीमानकै लागि भनी  व्रत बस्ने श्रीमतीको,

सर्वत फलफूल खुवाएर अनसन तोड्नुपर्छ।

४) मुक्तक

सम्झिएर हाम्रो चोखो माया घरिघरि प्रिय

तिम्रो सिउँदोलाई सजाउनु सिन्दुरभरि प्रिय

हात दिनु साथ दिनु सगैँ हिँड्नु जीवनभरि,

लुकाउनु त्यो छातीभित्र सधैँ यसैगरी प्रिय।

५) मुक्तक

बनाइ सक्यो निहुरिने शिर साथी नाटक गर्छ

मै हुँ भन्छ बन्छ शुरवीर साथी नाटक गर्छ

देखाउछ ऊ खोक्रोपनलाई गुदी कुहिसक्यो,

घरमा कलह छ बाहिर साथी नाटक गर्छ।

६) मुक्तक

छ ऊ साह्रै स्वार्थी हरेक पटक देखाइरन्छ

त्यही स्वार्थलाई पूर्ति गर्न घटक देखाइरन्छ

मनमा दम्भ पाली डुक्री जहिल्यै मै हुँ भन्दै,

अचेल साइँलो दाजु यस्तै चटक देखाइरन्छ।

७) मुक्तक

जिन्दगीभर सन्मार्गको बाटो खन्न पाइयोस्  

फलानोको छोरा हुँ म जहिल्यै भन्न पाइयोस्

बुवाको मुख हेर्नेको भिड देखेकै छौ जहिल्यै,

बुवालाई मुख देखाउन लायक बन्न पाइयोस्।

८) मुक्तक

जति दिनुस् सुझाव मूर्ख लिँदैन है ज्ञान कति

हुन्न उसमा विद्या बुद्धि भन्ने कुरा एकरति

यस्तो हुँदा हुँदै पनि किन मलाई लागेको हो,

त्यही मूर्खबाट मैले पा'को छु ज्ञान भने जति?

९) मुक्तक

हरेक दिन ऊ मच्चिएर हल्ला गर्दै हिँड्छ

धरातललाई बिर्सिएर हल्ला गर्दै हिँड्छ

नखाउन्जेल देउता छ खाएपछि दुश्मन,

टन्न  पिउँदै मत्तिएर हल्ला गर्दै हिँड्छ।

१०) मुक्तक

आफ्नै धरातललाई आफै बिर्सी गिरेदेखि  

थाहा  हुँदा हुँदै कुलत काधमा भिरेदेखि  

हिजोसम्म क्या बात भन्ने यही दुनियाँले नै,  

उसलाई मान्न छोडेको हो भट्टी छिरेदेखि।                    

प्रकाशित: १९ असार २०८३ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App