म दसैं र तिहारमा प्रायः किताब पढ्ने समय जसरी पनि मिलाउँछु। यसपालि मैले दसैंमा पढेको दुई किताबले नेपाली समाजमा विभिन्न तप्कासँग सहकार्य गरेर कसरी समाजको मुहार परिवर्तन गर्न केही व्यक्तिले ठुलो योगदान गरे र अहिलेको युवा पुस्ताले आफूमा भएको योग्यता देखाएर कति काम गर्न सकेको रहेछ भनेर स्पष्ट हुन्छ।
एउटा किताब अंग्रेजी भाषामा पढेँ। चाँदनी जोशीको जीवन र कामबारे लेखिएको छ। जुन किताबमा चाँदनी जोशीको योगदानले कसरी नेपाली समाजमा मात्र होइन, दक्षिण एसियाका साथै संसारभरिको महिला आन्दोलनमा पनि प्रभाव पार्यो भन्ने स्पष्ट हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा चाँदनीले किताबमा कतै पनि ‘मैले गरेँ’ भनेकी छैनन्। हरेक काम गर्दाको सफलताको श्रेय प्रायः उनले अरूलाई पनि दिएकी छन् - एउटा असल, जागरुक नेताको गुण।
उनको किताब पढेपछि एउटा मिठो ईष्र्या लाग्यो, उनको स्मरण शक्ति देखेर। पछिल्लो ५० वर्षमा काम गर्दा सहकार्य गर्नेहरूको नाम उनले सम्झेर लेखेकी छन्, चाहे त्यो नेपाल, चाहे दक्षिण एसिया, चाहे अमेरिका वा ल्याटिन अमेरिकाका साथीहरू हुन्। कस्तो अद्भुत स्मरण शक्ति, लोभलाग्दो अरूलाई प्रेरणा दिने सद्भाव।
किताबको सुरुवातमा गरिएको छ चाँदनीको जीवनको अति दुःखद अध्यायबाट। जब उनले आफ्ना श्रीमान् र छोरीलाई एकैचोटि थाई एयर दुर्घटनामा गुमाउन पुगिन्। त्यो दुर्घटना भएको २५ वर्षपछि उनको घरमा ब्रह्मकमल फूल फुल्दा २५ वटा कोपिला पनि एकैपटक फुलेर अद्भुत दृश्य उत्पन्न भएपछि उनको छोराछोरीले सम्झाउँछन्,‘आज बुबा बितेको ठ्याक्कै २५ वर्ष भएछ। मानौं प्रकृतिले पनि सम्झाउन खोजेको रहेछ।’ २५ वर्ष बितेको क्या गजबको भावना र कस्तो गजबको संयोग। कस्तो गजबको लेखनी।
चाँदनी जोशीले हजारौं विद्यार्थीलाई पढाइन् ।किताबमा उनले आफ्नो बचपनको रमाइलो तथा दुःखद घटना सबै वर्णन गरेकी छन्। वीर शमशेरकी पनातिनी, रुद्र शमशेरकी नातिनी उनी रुद्र शमशेर पाल्पामा पुगेपछि त्यहाँको दरबारमा चाँदीको चम्चाले खाना खाएर हुर्केकी थिइन्। २००७ सालको आन्दोलनताका खान नपाउँदा आफू र आफ्नो भाइलाई कुपोषण भएको कुरा पनि स्मरण गरेकी छन्। त्यो बेलाको वर्णन भएको दृश्य पढेर मलाई लागेको थियो- परिस्थितिले कसलाई कहिलेकहाँ पुर्याउँछ थाहा हुँदैन।
२००७ सालको आन्दोलनपछि सानो उमेरमा नै उनी लखनउको अति प्रसिद्ध स्कुलमा पढ्न पुगिन्। १२ वर्षको उमेरमा महिनावारी भएपछि असुरक्षित हुन सक्ने सम्भावनाले काठमाडौंमा नै आएर एसएलसी दिइन् र १९ वर्षमै अंग्रेजी भाषामा एमए सिध्याएर पद्मकन्या क्याम्पसमा नै पढाउन सुरु गरिन्। उनले नौ वर्ष जति पद्मकन्या क्याम्पसमा पढाएर विभिन्न क्रियाकलापमा कति मेहनत गरेकी रहिछन् भन्ने कुरा उनका सहकर्मीले किताबमा भनेका छन्। त्यसपछि उनी सरकारी काम अर्थात् प्रशासनतर्फ गइन्। त्यहाँ गएपछि, ‘पञ्चायत जाँच बुझ समिति’मा काम गर्न गइन्। त्यहाँ सुरुमा आफ्नो ज्ञानको उपयोग नहुँदा हतास भएकी उनले काम गर्ने मौका पाएपछि यति धेरै काम गरिन् कि आफ्नो र परिवारको मात्र होइन, नेपालको इज्जत पनि धान्ने गरी विश्वका ठुल्ठुला अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने मौका पाइन्। साथै नेपाल, भारत, बंगलादेश, श्रीलंकामा भएका महिला आन्दोलनलाई उनले आफ्नो क्षमता, बोली, लेख आदिका माध्यमबाट योगदान दिइन्।
सन् १९९५ नेपालबाट हामीले बेइजिङ सम्मेलनमा उठाएका मुद्दा, लैगिंक हिंसा, महिलाको पैतृक सम्पत्तिमा अधिकार, महिला स्वतन्त्रता आदिलाई संसारका विभिन्न देशका सरकारसामु ल्याउन, नीति बनाउन र त्यो नीतिलाई कार्यान्वयन गर्न लगातार योगदान गरेको हुनाले चाँदनी दक्षिण एसियामा परिचित भइन्। त्यो सबै काम उनले चुपचाप गरेकी थिइन्। तर उनी ‘आफूले गरेको काम फत्ते’ गर्ने भनेर प्रसिद्ध भइसकेकी थिइन्।
नेपालमा महिलाको उत्थानका लागि बनाइएका सरकारी नीतिलाई व्यवहारमा परिणत गर्न उनका कामको ठुलो योगदान रहेको छ। नेपालमा ‘महिला विकास’को काम गर्दा महिला नेतृत्वको विकास गर्नुपर्छ। महिलालाई काम गर्ने दायित्व दिनुपर्छ र त्यसरी काम गर्ने महिलाको तलब, मानमर्यादा र निवृत्तिभरण सरकारी कमचारीसरह नै हुनुपर्छ भनेर उनले अनेक तरिकाले बोलिन्, लेखिन्, वकालत गरिन् र महिला विकास कर्मचारीलाई सरकारी कर्मचारी बनाउने काम गरिछाडिन्। यो कामको सुरुवात गर्दा उनलाई खिसीट्युरी गर्ने व्यक्तिहरूले ‘कहीं नभएको जात्रा हाँडीगाँउमा’ भनेरउडाएका थिए।
उनलाई धेरै कठिनाइ खेप्नुपर्यो तर काम फत्ते गरिछाडिन्। त्यही कामको सफलताले उनलाई एकपछि अर्को अन्तर्राष्ट्रिय काम दिलाउँदै गयो र ‘चाँदनी’ ले आफ्नो ज्योतिले धेरै महिलाको जीवनमा उज्यालो छर्न सफल भइन् तर पेसागत सफलता हासिल गर्दा उनको अन्तरजातीय प्रेम विवाहले आफ्ना आमाबुबासँग बोलचाल बन्द भएको कुरा, विभिन्न सामाजिक जमघटमा आमाबुबासँग भेट नहोस् भनेर भोजमा जान छोडेका कुरा पढ्दा झन्डै ५० वर्षअघिको नेपालको झलक र व्यथा देखेजस्तो लाग्यो। उनले आफ्नो ऐतिहासिक दिन हाँडीगाँउको जग्गा किनेको दिनलाई मानेकी रहिछन् तर एकैचोटि घर बनाउन नसक्दाको कुरा अर्थात् आफ्नो विगतमा अर्थको अभाव भएको कुरा पनि लेखेकी छन् । उनले अलि अलिगर्दै पैसा जोडेर घरको झ्याल, ढोका, पर्दा हालेको कुरा पढ्दा लाग्यो - यो ‘जागिरे’ धेरै नेपालीको अवस्था हो।
उनले पाकिस्तानको राजधानी इस्लामावादमा अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा विभिन्न गैरसरकारी संस्थामा लेखक, कलाकार, पत्रकार, फिल्म निर्देशक, कवि, नेताहरूसँग मिलाएर कसरी महिला आन्दोलनमा ठुलो भूमिका खेल्न पुगिन् भनेर पढ्दा स्पष्ट हुन्छ। त्यहीं काम गर्दा २०४६ सालपछि उनले नेपाली महिला आन्दोलनमा पनि योगदान गरेको भनेर सुनिन्थ्यो तर उनको किताब पढेपछि थाहा भयो - यस्तो लगातार काम गरेर अर्थात् अथक परिश्रमले उनले हामीले गरेको काममा पछाडि बसेर सरकारलाई घचघच्याउन कति काम गरेकी रहिछन् भन्ने छर्लङ्ङ भयो।
हामीले नेपाली महिलाका लागि केही गरेको हौं भन्ने भावना अधिकारकर्मीलाई हुन्छ तर यदि चाँदनी जोशीजस्ता व्यक्तिले आफ्नो कामको दायराभन्दा बाहिर गएर महिलाका लागि आवाज नउठाएको भए महिला आन्दोलनको कामले सायद प्रकाश हेर्न पाउने थिएन।
त्यो किताब पढ्दा पढ्दै मैले ‘नेपालमा महिला आन्दोलनको सहखोजी’ किताब फेरि दोहोर्याएर पढेँ। जोशीको झन्डै चार सय पाना अंग्रेजीमा लेखेको किताब छ। द स्टोरी किचनले प्रकाशित गरेको यस किताबबाट लेखकले ‘नेपाली महिला आन्दोलन एक इतिहास’ नै लेखेका रहेछन्। यसमा नेपाली महिलाको जीवनका विभिन्न पक्ष केलाइएको छ। पत्रकार, सामाजिक कार्यकर्ता राजनीतिमा चासो राख्ने महिलाहरूले भोगेका समस्यालाई लिएर बालबालिका मुद्दा, आदिवासी महिला आन्दोलन, सम्पत्तिको अधिकार, महिला आन्दोलनमा पुरुषको सहभागिता आदिबारे लेखिएको लेख पढ्दा दुवै किताबले इतिहास र वर्तमान देखाएका छन्।
यी पुस्तक पढ्दा लाग्यो, कसरी विभिन्न महिला आन्दोलन र महिला समस्यालाई एक ठाउँमा ल्याउन अध्ययन, अनुसन्धान, नीतिमा परिवर्तन, कानुनमा परिवर्तन गर्न सकिँदो रहेछ।
दुवै किताब पढेपछि मलाई लाग्यो - नेपाली महिला आन्दोलन र त्यसले ल्याएको परिवर्तनलाई बुझ्न यी दुवै किताब स्रोत - पुस्तकका रूपमा प्रयोग गर्न सकिन्छ।
प्रकाशित: २९ कार्तिक २०८२ ०८:२२ शनिबार




