बालकलाकारबाट सांगीतिक क्षेत्रमा उदाएका अशोक दर्जीको डेब्यु चलचित्र ‘मन बिनाको धन’लाई सिनेमाघरका सञ्चालकहरूले निकै कम शो दिएको भन्दै निर्माता एवं निर्देशक टंक बुढाथोकीले गुनासो गरेका छन्।
चलचित्र प्रदर्शनको अघिल्लो दिन बुढाथोकीले चलचित्रलाई कसैले पनि विश्वास नगरेको र आफूलाई चलचित्र क्षेत्रबाट हराउन धेरै लागेको गुनासो व्यक्त गरेका छन्।
टंक बुढाथोकीले सामाजिक सञ्जालमार्फत आफ्नो गुनासो व्यक्त गर्छन्, ‘म हार्दैछु, मलाई हराउन धेरै लागे, सधै लागे। ठीकै छ, सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’ लाई नपत्याए पनि, न्याय तपाईंहरूकै हातमा छ।’
उनले चलचित्रलाई कम शो दिने र कतिपय ठाउँमा शो नै नदिने निर्णयले आफूलाई दुःख लागेको बताए। उनले आफ्नो हारसँगै बालकलाकार अशोक दर्जीले पनि हार्दै छन् भन्दै अन्तिम निर्णय दर्शकको हातमा रहेको जिकिर गरे।
चलचित्रमा अशोक दर्जीको डेब्यु
चलचित्र 'मन बिनाको धन' बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षमा आधारित रहेको छ। गायकबाट अभिनेताका रूपमा पर्दामा देखिन लागेका अशोकको यो पहिलो चलचित्र हो। यो चलचित्र कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउँदैछ।
प्रकाशित: २० कार्तिक २०८२ ०७:०४ बिहीबार





