"कोशी बहन्छ, कोशी बहन्छ
जिउ मरिजान्छ लैलै
शशी रहन्छ..."
यसरी-
जीवनको विरह गाउँदै यो पुरानो बाटोमा
अभावको पिर बोकेर अक्करको भीरमा
ढाकरभरि छाँदेर पेरुङ्गो, डालो र नाम्लो
झर्नुभएछ बाजे चतारा, धरान...
त्रिवेणीघाटको झोलुङे पुलमा
चढाई राखेर सुस्केरासँगै पसिनाले भिजेको फुलपाती
ढोग्नुभएछ " खुवालुङलाई"
"हे माङ!
हाम्रो रक्षा गरिदेउ है!"
चतरा, बयरवनमा
भारी हालेर दोकाने साहुको
थप्नुभएछ नुन, सिद्रा र मट्टितेल
अनि परिवारका लागि थोरै खुसी
दुखको तोक्लाङ टेक्दैटेक्दै
आइपुग्नुभएछ बाजे
त्यहीँ अक्करको साँगुरो बाटोमा
अड्किएछ भारी अप्ठ्यारोमा
उँभो छ टोपी खसिजाने पहरा
उँधो छ प्राण नै लुटिदिने निलो कोशी
अचानक गलेछ हातगोडा
निहुरिएर अक्कर छिचोलूँ भन्दा
सायद लेखन्त नै त्यति होला
ढाकरसँगै हुरुरुरु खस्नुभएछ बाजे कोशीको घागीमा
तैरिएछ पानीमा सामलतुमल
देखिजान्नेहरूले पछिसम्म देखेछन् किनारछेउ
आधा डुबेको रित्तो ढाकर
बाटाे हिंड्नेहरूले तलसम्म हेरेछन् लहरसितै
बगाउँदै लगेको सरसामान
त्यहीँबेलादेखि हो
मेरो बाजे नुन जसरी बिलाएर कथा बन्नुभएको
त्यो निलो कोशी एकोहोरो सुसाउन थालेको
त्यो अक्करको भिर आफैँ रुन थालेको
त्यो सुक्खा भिरमा खरुकी घाँस सुक्न थालेको
उमेरको चालिसौँ ॠतु वसन्तपछि मलाई
कुप्री परिसकेकी बजूले
आँसु पुछ्दै कहनुभो,
‘नानी!
बाजेको यादले बेस्कन सताएको रात
सपनामा खुवालुङले अर्को जन्म लिएको देखेँ
बल्ल थाह भो
तिम्रो बाजे त खुवालुङ पो हुनुभएछ।’
- सुजता राई
प्रकाशित: ७ भाद्र २०८३ १०:२८ आइतबार





